काइरोस इन्टरनेशनलको ल्यान्ड रोभर डिफेन्डर गाडी नेपाल भित्र्याउदा करोडौं राजश्व छली भएको बिषयमा भन्सार विभागले कर्मचारी उपर छानबिन गर्न समिति गठन गरेको छ ।
बिज्ञापन
वीरगन्ज भन्सारबाट सो कम्पनीका १५ गाडी भित्र्दा दुई करोड बढी राजवश्व छली भएको बिषयमा छानबिन गर्न विभागले उपसचिवको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । वीरगञ्ज भन्सारबाट सो कम्पनीको गाडी नेपाल भित्र्याउँदा शत प्रतिशत भन्सार छुट दिएको पाइएपछि यो प्रकरणमा साथ दिने कर्मचारीहरु उपर छानबिन गर्न समिति बनेको विभागले जनाएको छ ।
विभागका अनुसार ल्याण्ड रोभर डिफेण्डर एउटै गाडी नेपाल भित्र्याउदा ७६ लाख ५० हजार ७ सय २० रुपियाँ राजस्व छली भएको पृष्टि भएको छ । काइरोस इन्टरनेसनलले नेपाल ल्यान्ड रोभर कम्पनीका एक दर्जन सवारी भित्र्याउँदा झण्डै साढे दुई करोड राजश्व छली भएको भन्सार विभाग स्रोतको अनुमान छ । ल्यान्ड रोभर कम्पनीका २ वटा डिफेन्डर ११० मोडलको २९९६ सिसिको डिजेल इन्जिनको सवारीमा १०१ प्रतिशत भन्सार छुट गराइएको भेटिएको छ । जबकी एम्बुलेन्स जस्ता सवारी साधनमा समेत राज्यले शत प्रतिशत भन्सार छुट दिँदैन । यस अघि वालेन साहले प्रयोग गरेको वागमती प्रदेश–०१–०३३च४३४३ नम्बरको उक्त गाडी काइरोस इन्टरनेसनलले नेपाल भित्र्याएको खुलेको थियो । काइरोस मालपानीकै निकट कम्पनी रहेको बताइएको छ ।

बिज्ञापन
काठमाडौंको ज्ञानेश्वरमा कार्यालय रहेको काइरोसले सन् २०२४ देखि हालसम्म नेपालमा आयात गरेका ल्यान्ड रोभर कम्पनीका विभिन्न मोडलका १५ वटा सवारी साधनको भन्सार जाँचपासको कागजात र स्पेसिफिकेसनको प्राविधिक विवरण भिडाई चेकजाँच गर्दा ६ वटा सवारी साधनहरूमा भन्सार छली गरेको पाइएपछि यस बिषयमा सुक्ष्म अनुसन्धान गर्नका लागि विभागले छानबिन समिति बनाएको हो । सोही कम्पनीबाट नेपाल भित्रिएको ल्यान्ड रोभर का ३ वटा रेन्ज रोभर भेलरमा समेत २९१ दशमलव ५५ प्रतिशत लाग्नेमा भन्सार जाँचपास गर्दा पेट्रोल इन्जिन, प्लग इन हाइब्रिडको २९९६ सीसी जनाई कुल भन्सार दर २५७ दशमलव ९८ प्रतिशतमात्र लगाई जाँचपास गरेको पाइएको छ । ती चार वटा गाडीबाट ७१ लाख ४९ हजार राजस्व छली गरेको भेटिएसँगै यस बिषयमा छानबिन गर्न समिति बनेको हो ।
अहिले वीरगञ्ज भन्सारका प्रमुख छन्,सहसचिव कृष्णप्रसाद मैनाली । मैनालीलाई सम्पत्ति शुद्धीकरण विभागबाट निकालेर वीरगञ्ज भन्सारमा पु¥याइएको थियो । उनी गत असारमा प्रदेशका अर्थ सचिव हुँदा मन्त्री कुन्दन काफ्लेले उनैलाई हातपात गरे पछि प्रधानमन्त्री कार्यालयमा तानिएका कर्मचारी हुन । यो प्रकरणमा सुख्खा बन्दरगाह हेर्दै आएकी एक महिला उपसचिवको प्रत्यक्ष संग्लनता देखिएको र त्यहाँका जाँचकीहरु समेत अनुसन्धानको दायरामा तानिने भन्सार विभागले जनाएको छ । विभागका महानिर्देशक श्याम भण्डारीले गत सोमबारमात्र छानबिन समिति बनेको र उक्त समितिले काम गरिरहेका कारण धेरै बिषय खोल्न नमिल्ने प्रतिक्रिया दिए ।
यो प्रकरणमा भन्सारमा अलवा राजश्व,यातायात र वाणिज्यका कर्मचारीको नेक्सस रहेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

























