जीतपुरसिमरा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति फेरि विवादमा तानिएको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले ८ जना सहसचिवको सरुवा गर्दा सहसचिवमा बढुवा भएका डम्बरु निरौलालाई जीतपुरसिमराको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएपछि राजनीतिक र प्रशासनिक वृत्तमा तरंग पैदा भएको हो।
उपमहानगरपालिकाका मेयर राजन पौडेलकै “रोजाइ” अनुसार निरौला त्यहाँ पुगेको आरोप लागिरहेको छ। यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव हिरालाल चौधरीलाई उक्त जिम्मेवारी दिई पठाएको थियो। तर चौधरी हाजिर भएको केही समयमै फिर्ता भए। चौधरीलाई गत पुस ११ गते सामान्य प्रशासनले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जीतपुरसिमरामा पठाएको थियो। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईं प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि पद रिक्त थियो।
बिज्ञापन
चौधरी फर्किएसँगै निरौलालाई ल्याउने बाटो खुलेको बताइन्छ। यसअघि नै निरौलालाई प्रमुख प्रशासकीय अधिकृत बनाउने विषयमा पालिकाबाट मन्त्रालयमार्फत पहल भइरहेको समाचार सार्वजनिक भएको थियो।
विवादित पृष्ठभूमि
निरौला यसअघि पनि जीतपुरसिमरामा प्रमुख प्रशासकीय अधिकृत भइसकेका व्यक्ति हुन्। उनी २०७७ साल साउनदेखि असोजसम्म उक्त पदमा कार्यरत थिए। दमक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा उनी व्यक्तिगत आचरणसम्बन्धी विवादमा तानिएका थिए। त्यसक्रममा सार्वजनिक भएको एक भिडियोपछि उनी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका थिए।
पछि भूमि सुधार तथा मालपोत विभागअन्तर्गत वीरगञ्ज मालपोत कार्यालयमा प्रमुखको जिम्मेवारी दिइयो। त्यहाँ रहँदा पनि उनलाई हटाउने प्रयास र टिकाइ राख्न गरिएको चलखेलबारे कर्मचारी वृत्तमा चर्चा चल्दै आएको थियो। त्यसपछि उनी लहान, सिरहामा कार्यालय प्रमुखका रूपमा कार्यरत रहे।
बिज्ञापन
झापामा सहायक प्रमुख जिल्ला अधिकारी हुँदा जग्गा किर्तेसम्बन्धी आरोपसमेत खेपेका निरौला हालै उपसचिवबाट सहसचिवमा बढुवा भएका हुन्। प्रशासन सेवातर्फ १२ जनाको बढुवामा उनी जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा परेका थिए।
मेयर राजन पौडेलले भने आफूले मन्त्रालयलाई कुनै दबाब नदिएको दाबी गरेका छन्। “स्थानीय तह बुझेको र लामो समय टिकेर काम गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत पठाइदिनुहोस् भनेर मात्र आग्रह गरेको हुँ,” उनले बताएका छन्।तर चौधरी हाजिर भएको केही समयमै फिर्ता हुनु र त्यसपछि निरौलाको पदस्थापन हुनु संयोग मात्र हो कि योजनाबद्ध पहल, भन्ने प्रश्न उठेको छ।
जीतपुरसिमरामा प्रशासनिक नेतृत्व फेरि विवादित पात्रको हातमा पुगेसँगै सुशासन र पारदर्शितामाथि प्रश्न उठ्न थालेका छन्। अब निरौलाको कार्यशैलीले यी आशंका चिर्न सक्छ कि थप विवाद जन्माउनेछ-त्यसतर्फ सबैको नजर छ।
दुई छोरीसहित श्रीमती सिनामंगलमा बस्दै आएका यी रंगीला हाकिमको यौनकाण्ड छरपष्ट भएसँगै परस्त्रीसँग अश्लील हर्कतमा जोडिएका डमरु जता पुग्छन्, त्यहाँ कर्मचारीको भीड लाग्दै आएको थियो । दमक नगरपालिकामा रहँदा यौनकाण्ड प्रकरण सतहमा आएसँगै डमरु ८० साउन २४ मा सिंहदरबारमा तानिएका थिए । डम्बरु आएको खबर आगोसरी फैलिनासाथ पहिलो, दोस्रो होइन पाँचौँ तलामा रहेका कर्मचारी पनि अनुहार हेर्ने बहानामा उक्त कोठामा छिरिरहेका थिए । यस्तै गृह,उद्योग लगायतका मन्त्रालयमा पुग्दा पनि उस्तै दृश्य देखिन्थ्यो । सो समाचार कर्मचारी प्रेसले गरेको थियो । कुनै समय ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी चलाइसकेका निरौलाले आफू माथि भएको घटनाको बेलिबिस्तार लगाउन पटक पटक प्रयास गरेका थिए । तीन महिना सामान्यको बरण्डामा बसेका निरौला पछि चाँजो पाँचो मिलाएर भूमि प्रशासनमा छिर्न सफल भएका हुन । झापामा सहायक सिडिओ रहेका बेला जग्गा किर्ते काण्डमा संलग्न रहेको आरोप उनीमाथि छ ।

























