नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, खुमलटारमा कार्यरत वैज्ञानिक नमिता भट्टराईलाई ७ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन भनेको छ।
बिज्ञापन
एक वर्षको असाधारण बिदा स्वीकृत गराई २०८० पुस २७ गतेदेखि नै कार्यालयमा हाजिर हुनुपर्नेमा झण्डै १३ महिनादेखि कार्यालयमा अनुपस्थित रहेकी वैज्ञानिकलाई सरकारी सेवाबाटै हटाउने प्रक्रिया अगाडि बढाइएको हो । केन्द्रका अनुसार वैज्ञानिक एस १ पदमा कार्यरत भट्टराईले ०७९ पुस २७ गतेदेखि एक वर्षको असाधारण बिदा स्वीकृत गराएकी थिइन् । बिदा समाप्तिपश्चात् ०८० पुस २७ गतेदेखि उनी कार्यालयमा हाजिर हुनुपर्नेमा हालसम्म अनुपस्थित रहेको केन्द्रको भनाइ छ ।
यसअघि उनको घरको ठेगानामा पत्राचार गर्दा समेत कुनै प्रतिक्रिया नआएपछि परिषद्ले सार्वजनिक सूचना जारी गरेको हो। परिषद्को कर्मचारी प्रशासन विनियमावली २०४९ बमोजिम लामो समय अनुपस्थित रहेको कसुरमा उनलाई सेवाबाट किन अलग नगर्ने भन्दै सात दिनको म्याद दिइएको छ। केन्द्रले आज सूचना जारी गर्दै उनलाई आगामी सात दिनभित्र चित्तबुझ्दो लिखित स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । अन्यथा, बर्खास्त गर्ने कार्यालयको चेतावनी छ ।
‘परिषद्को कर्मचारी प्रशासन विनियम, २०४९ को विनियम ४० (२) (क) को कसुरमा नोकरी टुटेको सम्झी सेवाबाट किन अलग नगर्ने ? सूचनामा भनिएको छ । परिषद्ले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन र तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित उपस्थित नभएमा उनलाई प्रचलित कानुन बमोजिम सेवाबाट बर्खास्त गरिने जनाएको छ ।
बिज्ञापन
उसो त नार्कले यस अघि यसैगरी विदेश पढ्न गएका एक दर्जन वेपत्ता वैज्ञानिकहरुको सूची नै सार्वजनिक गरेको थियो । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले अध्ययन बिदा सकिएपछि पनि कार्यक्षेत्रमा नफर्किएका आफ्ना ११ जना कर्मचारीहरूलाई सम्पर्कमा आउन दोस्रो पटक सार्वजनिक सूचना जारी गरेको छ। सम्पर्कविहीन हुनेहरूमा ७ जना कृषि वैज्ञानिक र ४ जना अन्य कर्मचारी रहेका छन्। नार्कका अनुसार यी कर्मचारीहरू अध्ययन बिदा स्वीकृत गराई कबुलियतनामा गरेर गएका थिए। तर, अध्ययन अवधि सकिएपछि कार्यालयमा हाजिर हुनुको साटो उनीहरूले आफ्नो पदबाट राजीनामा पेस गरेर सम्पर्कविहीन भएका छन्।
यसअघि नार्कले गत मंसिर १४ गते पहिलो पटक सूचना जारी गरेको थियो। त्यसको बेवास्ता गरेपछि शुक्रबार पुनः ७ दिनको समय सीमा तोकेर दोस्रो पटक स्पष्टीकरण माग गरिएको थियो गत माघ ९ मा । सूचना अनुसार, वैज्ञानिकहरू अच्युत मिश्र २०७४ भदौदेखि, नवीनकुमार दंगाल २०७६ भदौदेखि, होमन रेग्मी २०७३ माघदेखि, देवराज चालिसे २०७३ चैतदेखि, प्रतिष्ठा अधिकारी २०७४ मंसिरदेखि, दिनेशबाबु थापा मगर २०७५ साउनदेखि र संजिव गौतम २०७५ भदौदेखि सम्पर्कविहीन छन्। यस्तै अन्य कर्मचारीहरू सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ पनि विभिन्न मितिदेखि बिदामा रही सम्पर्कविहीन रहेको नार्कले जनाएको छ।
उसो त निजामती किताबखानाको पछिल्लो आँकडा अनुसार सात हजार १९० सरकारी कर्मचारीले पटक पटक गरी विभिन्न बिदा उपयोग गरेको देखिएको छ । निजामती, स्वास्थ्य र संसद् सेवाका ७ हजार १ सय ९० सरकारी कर्मचारीले पटक पटक गरी १ देखि ५ वर्षसम्म असाधारण बिदा लिएको पाइएको हो । निजामती किताबखानाका आँकडा अनुसार, सात हजार १९० कर्मचारी विदामा छन् । तीमध्ये १० देखि १५ प्रतिशतले विदा दुरुपयोग गरिरहेको आंशका छ । तिनैमध्येकी एक वैज्ञानिक बर्ष दिनदेखि वेपत्ता भएको भेटिएसँगै सरकारी सेवाबाटै बर्खास्त गर्ने प्रक्रिया अगाडि बढाइएको हो । कर्मचारीहरूले पटक पटक गरी असाधारण र तलबी तथा बेतलबी अध्ययन बिदा लिएर बिदाको दुरुपयोग गरेको गुनासो आएपछि किताबखानाले कर्मचारीहरूको बिदासम्बन्धी अभिलेख शुद्धीकरण अभियान थालेको छ ।

























