अध्यागमन विभागले २ हजार १ सय नेपाली नागरिकलाई कालोसूचीमा राखेको पाइएको छ । जेन–जी आन्दोलन क्रममा देशभरका २८ वटा कारागारबाट १४ हजार ५५९ कैदी फरार भएका थिए । तिनैमध्ये १० हजार १४५ कैदी फर्किसके पनि अझै ४ हजार ४०४ जेलबाहिरै छन् । जसमध्ये ३८९४ स्वदेशी हुन् भने ५१७ जना भारतीय र बाँकी तेस्रो मुलुकका नागरिक रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । जबर्जस्ती करणी, लागुऔषध, सुन तस्करी, मानव तस्करी, अपहरण तथा शरीर बन्धक, डकैती, हत्या (कर्तव्य ज्यान), चोरी, राजस्व चुहावट, विदेशी मुद्रा तस्करीलगायत कसुरमा कैद सजायँ भोगिरहेका फरार कैदीबन्दीमध्ये शुरुमा एकमुष्ट ८ हजार बढीको नाम कालोसूचीमा राख्न अध्यागमनलाई सिफारिस गरेकोमा आफैं फर्किएका, प्रहरीले पक्राउ गरेर जेलमा पठाएपछि सूची संशोधन, अध्यागमनको केरकार, केहीमाथि कारवाही सक्दा अहिले अध्यागमनको कालोसूचीमा २ हजार १ सय स्वदेशी र पाँच सय ४२ विदेशी नागरिक रहेको बुझिएको छ ।
बिज्ञापन
फरार विदेशी कैदीबन्दीको खोजीमा सहयोग गर्न प्रहरीले इन्टरपोलको पनि सहयोग मागेको छ । राष्ट्रियताअनुसार नेपालस्थित विभिन्न देशका राजदूतावास तथा कूटनीतिक नियोगलाई समेत विवरण पठाइएको छ । उता, जेनजी आन्दोलनक्रममा १ हजार २ सय ८१ थान हतियार लुटिएको प्रहरीको आँकलन छ । तीमध्ये सर्टगन १ सय १७ थान, पेस्तोल ३ सय ४६ थान र रिभोल्बर ७५ थानमध्ये हालसम्म ७ सय ४५ थान हतियार मात्र फिर्ता भएका छन् । झण्डै साढे चार हजारभन्दा बढी कैदी जेलबाहिर रहँदा सरकार प्रतिनिधिसभा निर्वाचनको तयारी गरिरहेको छ ।
प्रहरी प्रधान कार्यालयले उपलव्ध गराएको विवरणअनुसार, फरार कैदीमध्ये बलात्कार, हत्या, चोरी, लागुऔषध कारोगार लगायतका अपराधमा एक दर्जनको संलग्नता भेटेसँगै तिनलाई कारागारमा पठाइएको छ । त्यसरी फरार एक नाबालकसमेतले मोटरसाइकल चोरी गराएको घटना सार्वजनिक भएको छ । ४ वर्ष ६ महिनादेखि नख्खु कारागारमा रहेका काठमाडौं महानगरपालिका– २७ महाबौद्धका अभय तुलाधर र पाँच महिनादेखि पुर्पक्षमा जगन्नाथदेवल कारागारमा रहेका रोहित शाहीले जेनजी आन्दोलनको मौका छोपी कारागारबाट भागे यता तीनवटा डुक बाइक, ४२ वटा एफ जेड बाइक, दुईवटा एप्रेला बाइक, एउटा पल्सर बाइक र एउटा डिओ स्कुटर चोरी गरेका छन् । बलात्कार कसुरमा ९ बर्ष कैद सजायँ सुनाइएका दिपक सुनार २४ भदौंमा कञ्चनपुर कारागारबाट भागेर भोलिपल्टै जबर्जस्ती करणी उद्योग कसुरमा पक्राउ परेका छन् । यस्तै लागुऔषध मुद्दामा पाँच वर्ष कैद सजायँ सुनाइएका दाङको राप्ती गाउँपालिका– १ का आकाश मगर गत पुस २३ मा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका थिए । बलात्कार मुद्दामा सजायँ भोगिरहेका काभ्रे पनौती नगरपालिका– १२ का सन्तबहादुर तामाङ पनि यस्तै भगौडामध्येका एक हुन् । उनले भागेर श्रीमतीकै हत्या गरेका थिए ।


























