शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

तोमनाथ उप्रेती

बिज्ञापन

हरेक वर्ष माघ १६ गते नेपालभर शहीद दिवस मनाइँदै आएको छ। यो दिवस हाम्रो राष्ट्रिय चेतना, स्वतन्त्रता र लोकतान्त्रिक मूल्यका प्रतीकको रूपमा रहेको छ। देश र जनताको लागि आफ्नो प्राणको आहुति दिने शहीदहरूलाई सम्मान गर्न र उनीहरूले देखाएको मार्ग अनुसरण गर्न आजको दिन सन्देशमूलक मानिन्छ। इतिहासका विभिन्न कालखण्डमा प्रजातन्त्र, स्वतन्त्रता, समानता र राष्ट्रियताको पक्षमा आफ्नो जीवनको सर्वोच्च बलिदान दिने वीर व्यक्तिहरू शहीदको संज्ञा पाएका छन्। उनीहरूको बलिदानले मुलुकलाई प्रजातान्त्रिक अभ्यासतर्फ अग्रसर बनाएको छ।आज हामीले पाउने स्वतन्त्रता, अधिकार र सार्वभौमिकता उनीहरूको त्यागको प्रतिफल हो।

बिज्ञापन

नेपालमा शहीद परम्परा विगत केही दशकदेखि संस्थागत रूपमा पनि मान्यता प्राप्त छ। वि.सं. १९९७ सालमा राणा निरंकुश शासनविरुद्ध संघर्ष गर्दै जान गुमाउने क्रममा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ जस्ता वीर सपूतहरूले आफ्नो प्राण आहुति दिए। यी शहीदहरूको बलिदानले प्रजातन्त्रको आधार बलियो बनायो। शहीदहरूको यादमा माघ १० देखि १६ गतेसम्मको अवधि शहीद सप्ताहको रूपमा पनि मनाइन्छ। यस अवधिमा विभिन्न कार्यक्रमहरू—श्रद्धाञ्जली सभा, प्रभातफेरी, विद्यालय तथा सार्वजनिक संस्थाहरूमा चर्चा–कार्यक्रम—आयोजना गरिन्छ।

आजको शहीद दिवसमा देशभर कार्यक्रमहरू आयोजना हुँदैछन्। शान्तिवाटिकाबाट सुरु हुने प्रभातफेरी, शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभा, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यान्डको मार्चपास, शहीदको तस्वीर राखिएको बग्गी, सबैले वीर सपूतहरूको स्मृतिमा समर्पण व्यक्त गर्छन्। प्रधानमन्त्री, मन्त्री, उच्च सरकारी अधिकारी, सुरक्षा अंगका प्रमुख र जनप्रतिनिधि सहभागी हुने यी कार्यक्रमले शहीद प्रतिको सम्मानको महत्त्वलाई उजागर गर्छ।

बिज्ञापन

नेपालमा शहीद शब्दको परिभाषा स्पष्ट छ—नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोषअनुसार शहीद भन्नाले “आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई” बुझिन्छ। यसैअनुसार, वास्तविक शहीदले आफ्नो जीवन आहुति दिएर राष्ट्र र जनताको हित सुनिश्चित गरेका हुन्छन्। लखन थापा, नेपालको पहिलो शहीद, तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाविरुद्ध प्रचार–प्रसार गरेको आरोपमा फागुन २, १९३३ सालमा गोरखाको मनकामना मन्दिर नजिकै झुन्डेर मारिएका थिए। त्यसपछिका कालखण्डमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले पनि आफ्नो प्राणको सर्वोच्च बलिदान दिए।

साहित्यकार भूपी शेरचनले पनि शहीदका बलिदानलाई जीवन्त शब्दमा अभिव्यक्त गरेका छन्:

“हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए

बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए

ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को

देशको पिरले भेटी जब वीरले चढाउँछ रगतको

घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता

मातृभूमिको चरण ढोगी भाग्दछ दासता

उम्रन्न बोट कसैले बीउ छरेर नगए।”

शहीद दिवस वर्तमान र भविष्यका लागि प्रेरणाको सन्देश हो। हरेक नेपाली नागरिकले शहीदहरूको बलिदानलाई सम्मान गर्दै राष्ट्रको निर्माणमा योगदान पुर्याउनुपर्छ। वर्तमान राजनीतिक परिस्थितिमा शहीद दिवसको औपचारिकतामा मात्र सीमित हुने प्रवृत्ति देखिन्छ, जहाँ केवल प्रतिमा, माला र तस्वीर प्रदर्शन गरेर सम्मान व्यक्त गरिन्छ। तर शहीदहरूले देखाएको मार्ग अनुसरण नगर्ने अवस्था, वा राजनीतिक स्वार्थका लागि जथाभावी सहिद घोषणा गर्ने प्रवृत्ति, वास्तविक सम्मानको भावना कमजोर बनाउँछ।

नेपालमा जेन–जेड शहीद दिवसको उदाहरणले युवा शक्ति र जनताको सक्रियताको महत्व देखाउँछ। भदौ २३ गतेबाट सुरु भएको नवयुवा आन्दोलनले भ्रष्टाचार, असंवेदनशील प्रशासन र अव्यवस्था विरुद्ध आन्दोलन गर्दै तत्कालीन सरकार ढाल्ने साहस देखायो। यो आन्दोलनमा ७६ जनाले आफ्नो प्राणको आहुति दिए। तर अहिलेको अभ्यासमा सहिद घोषणा गर्दा दलको स्वार्थअनुसार वा जथाभावी निर्णयले वास्तविक शहीदको मूल्य कम हुने खतरा बढाएको छ।

सच्चा शहीदको सम्मान तब मात्र सुनिश्चित हुन्छ जब राज्यले न्यायसंगत, पारदर्शी र मापदण्डमा आधारित निर्णय लिन्छ। दलको सदस्यता वा राजनीतिक पक्षमा सक्रियता आधार बनाएर सहिद घोषणा गर्नु, सहिदको शब्दको मूल्यमा आँच पुर्याउने काम हो। राज्य र समाजले सहिदको बलिदानलाई औपचारिक स्मरणको रूपमा मात्र होइन, जनताको जीवनस्तर सुधार, न्याय र समानता सुनिश्चित गर्ने प्रतिवद्धतासँग जोडेर बुझ्नुपर्छ।

शहीदका परिवारहरूको अवस्था पनि ध्यानमा राख्नु अपरिहार्य छ। शहीदहरूको घरधुरी, उनीहरूको सन्तान र समुदायले भोगिरहेको आर्थिक, सामाजिक र मानसिक चुनौतीलाई राज्यले सम्बोधन गर्न आवश्यक छ। केवल समारोहमा उपस्थित भएर श्रद्धाञ्जली व्यक्त गर्नु पर्याप्त छैन; वास्तविक सम्मान भनेको सहिदको योगदानलाई समाज र राष्ट्र निर्माणमा प्रभावकारी रूपमा प्रतिफलित गर्नु हो।

विगतका जनआन्दोलन र द्वन्द्वका क्रममा देश र जनताको हितमा मृत्यु हुने प्रत्येक व्यक्तिलाई सहिदको मान्यता दिनु पर्दछ। तर यसको लागि स्पष्ट मापदण्डको आवश्यकता छ। राज्यले दलको स्वार्थ, दबाब वा मात्र राजनीतिक आवश्यकता हेरी सहिद घोषणा गर्नु हुँदैन। सहिद भन्नाले आफ्नो प्राणको सर्वोच्च बलिदान दिन सक्ने, राष्ट्र र जनताको हितमा अडिग व्यक्ति बुझिन्छ।

देश र जनताको हितमा आफ्नो प्राणको आहुति दिने वीर सपूतहरूको योगदानको उचित कदर गर्नु हाम्रो राष्ट्रिय कर्तव्य हो। उनीहरूले देखाएको मार्गमा लागेर लोकतन्त्र, समानता, न्याय र सार्वभौमिक अधिकार सुनिश्चित गर्नु नै शहीदको वास्तविक सम्मान हो।

यस दिनको महत्व वर्तमान राजनीतिक, सामाजिक र प्रशासनिक प्रणालीलाई सुधार्ने प्रेरणास्रोत पनि हो। सरकारले सहिदको परिभाषा स्पष्ट पारेर, पारदर्शिता र निष्पक्षता अपनाएर मात्र वास्तविक सम्मान सुनिश्चित गर्न सक्छ। नागरिकले पनि जागरूक भएर राज्य र समाजका नेतृत्वहरूमाथि दबाब सिर्जना गर्नुपर्छ।

शहीद दिवसले हामीलाई यो स्मरण गराउँछ—देश र जनताको हितमा आफ्नो ज्यानको सर्वोच्च बलिदान दिन तयार व्यक्तिहरूको योगदानलाई केवल स्मरणमा मात्र सीमित राख्न सकिँदैन। उनीहरूको सपना, आदर्श र मार्गदर्शन आजको शासन, समाज र नागरिकले अनुसरण गर्नुपर्छ। शहीदहरूले देखाएको मार्गमा लागेर देशलाई स्थायित्व, न्याय, समानता र विकासको बाटोमा अगाडि बढाउनु हामी सबैको जिम्मेवारी हो।

आजको शहीद दिवसमा, हामी शहीदहरूको बलिदान, आदर्श र प्रेरणालाई केवल सम्झेर मात्र होइन, त्यसलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाउनुपर्छ। श्रद्धाञ्जली, माला, अबिर र तस्बिरको प्रदर्शनी मात्र होइन, देश र जनताको हितमा कार्यान्वयन गर्ने काम नै वास्तविक सम्मान हो।

देशले फेरि परिवर्तन खोज्न सक्छ, शहीद एउटा मर्यादा र विश्वास हुन्, जसको संरक्षण र सम्मान प्रत्येक नेपालीको जिम्मेवारी हो। देश र जनताको हितमा आफ्नो जीवनको सर्वोच्च बलिदान दिने तमाम महान शहीदहरूलाई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै हामीले उनीहरूको मार्गदर्शनलाई जीवन्त राख्नु पर्छ।

जय होस् माघ १६ अर्थात शहीद दिवस। जय होस् ती वीर सपूतहरूको, जसले राष्ट्र, प्रजातन्त्र र जनताको लागि आफ्नो प्राण अर्पण गरे। उनीहरूको बलिदानले हाम्रो स्वतन्त्रता सुनिश्चित गरेको छ र हाम्रो कर्तव्य हो—सदाको लागि उनीहरूको सपना र आदर्शलाई साकार पार्नु।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

सरकारी कर्मचारीद्वारा आचारसंहिता उल्लङ्घन, निर्वाचन कार्यालयले सोध्यो स्पष्टीकरण

बिशेष