काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका तीन जना नायब महानिरीक्षक (डीआईजी) आज राति १२ बजेपछि अनिवार्य अवकाशमा जाने भएका छन्।
बिज्ञापन
ठीक एक वर्षअघि आजकै दिन एक वर्षका लागि म्याद थप भएका चार जना डीआईजीमध्ये तीन जनाको चार जोड एकको पदावधि सकिन लागेपछि उनीहरू अवकाशमा जान लागेका हुन्। अवकाशमा जाने डीआईजीहरूमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय कार्यविभागमा कार्यरत कमल गिरी, मानवस्रोत विभागमा कार्यरत कुलबहादुर नेम्वाङ र स्टाफ कलेजमा कार्यरत शम्भु सुवेदी रहेका छन्।
त्यसबेला म्याद थप भएका चार जनामध्ये गणेशबहादुर ठाडामगर भने यसअघि नै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भइसकेका छन्। उनी अहिले सशस्त्र प्रहरी बलको भावी नेतृत्वका प्रबल दाबेदारका रूपमा उभिएका छन्।
तीन डीआईजीको अवकाशसँगै सशस्त्र प्रहरी बलको उच्च नेतृत्व तहमा रिक्तता उत्पन्न हुने भएकाले आगामी पदस्थापन र बढुवा प्रक्रियाप्रति संगठनभित्र चासो बढेको छ।


























