‘हानौंला झैं आउँछन् । अनि सम्झाएपछि फतक्कै गल्छन्’पछिल्लो समय देशलाई आफ्नै वरिपरी घुमाइरहेका सुदन गुरुङ समूहका कारण सिंहदरबारका सरकारी कर्मचारीहरु आजित छन् ।
बिज्ञापन
अचेल सिंहदरबारका हरेकजसो मन्त्रालयका सेवाग्राही कम, जेनजी समूहका प्रतिनिधिहरु देखिन्छन् । प्रधानमन्त्रीको निजी सचिवको बिषयलाई लिएर बिहानै ११ बजे नै प्रधानमन्त्री कार्यालय पुगेका उनीहरुलाई प्रधानमन्त्री व्यस्त भएको भन्दै कुराइएको र साँझसम्म भेट्न नपाएका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीदेखि सचिवालयका कर्मचारीहरुमाथि खनिने र झम्टिने क्रम जारी छ । सो टोलीमा मिराज ढुंगाना र कर्णाली जेनजी समूहको नेतृत्व गर्दै सुप्रिया राज्यलक्ष्मी शाहीहरु त्यहाँ पुगेका थिए । त्यही टोलीमा थिए जितेन्द्रप्रताप साह । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई पदबाट हटाउनुपर्ने, उहाँले पारिवारिक सदस्यलाई गरेको नियुक्ति खारेज गर्नुपर्ने र महान्यायाधिवक्ता सबिता भण्डारीलाई पनि पदबाट हटाएर छानबिन गरी कारबाही गर्नुपर्ने मुख्य माग लिएर हामी प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउन पुगेका थिए ।सोही दिन जेनजीको समूहबीच उनीहरुको मुक्कामुक्कीमात्र चलेन, हानाहान भएको र झगडा मिलाउन सिंहदरबार परिसर हेर्ने डिएसपीलाई गुहार्नु परेको थियो । तर सिंहदरबार प्रहरीका डिएसपी भने ‘साधरण भनाभन मात्र भएको, कुटाकुट नभएको भन्दै’ घटनाको सामान्यीकरण गरेका छन् ।
बिज्ञापन
गत ९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर दिनभर जसो जेनजीको समूहले होहल्ला चल्यो । युवा तथा खेलकुद मन्त्रालयमा हात हालहालै भयो,जेनजी समूहबीच । १० गते दिँउसो उर्जा मन्त्रालयमा जेनजीहरुले उस्तै अराजकता देखाइरहेका छन् । यस्तै गत साता गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यकक्षमा जेन–जीहरुले धर्ना दिइरहेका थिए । हरेक मन्त्री,सचिव/सचिवको कार्यकक्षमा अचेल सेवाग्राहीभन्दा जेनजीका समूहहरु देख्न पाइन्छ,सिंहदरबारतिर ।
अहिले जेनजीको नाममा सुदन समूहको सक्रियता कतिसम्म छ भने,कहिले सचिवहरुलाई जुम्रा मारेर,कुरा काटेर बस्ने होइन भन्दै धम्काएका छन्,कहिले बैठकमा उग्र रुपमा प्रस्तुत हुँदा सचिवहरु बैठकै छाडेर हिड्नु परेको छ । हुँदा हुँदा सुदन समूहले सहसचिव सरुवामा समेत हिस्सा खोज्न थालेको र सरुवाको सूची नै प्रधानमन्त्रीलाई बुझाएको खबर अहिले सिंहदरबारभित्र व्यापक छ ।
बिज्ञापन
यस्तै प्रधानमन्त्री कार्यालयमा चलेको एक बैठकमा जेनजी समूहको टोलीबीच चर्काेचर्की परेपछि एक सचिव बैठकै छाडेर हिडेको बिषय बाहिरिएको छ । अघिल्लो साता जेनजी समूहसँगथ चलेको बैठकमा प्रधानमन्त्री कार्यालयका कानुन सचिव फणिन्द्र गौतमले भाद्र २३ र २४ गतेको घटनालाई संक्रमणकालीन न्यायको नजरबाट हेरिनुपर्ने र दोषीलाई नरसंहारका रूपमा कार्वाही हुनुपर्ने माग जेनजी समूहको थियो । तर, अन्तर्राष्ट्रिय कानुन, जेनेभा कन्भेन्सन र विश्वव्यापी अभ्यासले त्यसो गर्न नमिल्ने अडानपछि चर्काचर्की मात्र परेन, उनी बैठक छोडेर बीचमै बाहिरिएका थिए ।
उक्त बैठकमा छलफल चलिरहँदा सचिव गौतमले ‘जस्तोसुकै अपराध गरे पनि कारवाही नगर्ने हो ?’ भनेपछि जेनजीहरूले ‘तपाईं यस्ता कुरा नगर्नुस्, अब अर्को आन्दोलन हुन्छ’ भनेर धम्कीपूर्ण चेतावनी दिएका थिए । सोमालिया, सुडान, हाइटीजस्ता गृहयुद्धले थलिएका देशको उदाहरण दिँदै उनले ‘नेपाललाई पनि त्यस्तै बनाउने चाहना छ भने गर्नुस्’ भनेपछि अवस्था तनावपूर्ण बनेको र बैठक छोडेर हिँडेका थिए । कानुन सेवाबाट सचिव बनेका गौतम हिजैदेखि अनिवार्य अवकाशमा गएका छन् ।
उसो त केही अघि उनै सुदन गुरुङ्गले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई ‘जुम्रा मारेर र कुरा काटेर नबस्न’ निर्देशन दिए त्यो पनि शीतलनिवासमा । शपथ ग्रहण सकेर निस्किने क्रममा महिला सचिवको अगाडि उभिएर ‘अब काम गर्ने, जुम्रा मारेर र कुरा काटेर बस्ने होइन भन्दै फर्किए । अहिले यही समूह कर्मचारी सरुवाको हिस्सा खोज्दै छ । सुशासनका लागि दलतन्त्रविरुद्ध विद्रोह गरेको भन्ने जेनजीहरू नै कर्मचारी सरुवा, बढुवामा भाग खोज्दै मन्त्रीदेखि सचिव,सहसचिवहरुलाई दिक्क लगाउन थालेका हुन ।
हालै मात्र निवृत्त भएका मुख्य सचिव एकनारायण अर्यालसँग गुरुङ समूहका ओजस्वी थापा, अनिल बानियाँ र भावना राउतले कर्मचारी सरुवाको विषय उठाएका थिए । यही टोलीले फेरि सहसचिवको सरुवाको लागि सूची नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सिंहदरबारतिर चर्चा छ ।


























