गत बर्ष बि सं २०८१ मा सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्ला, परशुराम नगरपालिका वडा नं ११ लिउडे गाउँको भ्रमण गर्ने अवसर प्राप्त भयो । उक्त गाउँको भ्रमण गर्न मैले धेरै पहिले देखि प्रयास गरेको भएता पनि अवसर मिलेको थिएन । मेरो उक्त चाहनालाई सफल बनाइदिन परशुराम नगरपालिका वडा नं ११ लिउडेका स्थानीय श्री रामबहादुर खत्री जो बहुआयामिक प्रतिभा भएका कलाकार पनि हुनुहुन्छ वहांको धेरै अनुरोधबाट यो यात्रा सफल हुन पुग्यो । वहाँलाई म बिशेष धन्यवाद पनि दिन चाहान्छु ।
बिज्ञापन
बिज्ञापन
श्री रामबहादुर खत्री र वहांकै घरमा छिमेकी गंगाराम गौतमसंग
प्राकृतिक सुन्दरताले भरिएको यो गाउँको भ्रमणबाट मैले नयाँ अनुभूति गर्न पाए जुन मेरो लागि यस्तो अवसर यो भन्दा अगाडी प्राप्त भएको थिएन । डडेल्धुरा जिल्लाको दक्षिण-पश्चिम भुभागमा परशुराम नगरपालिकाको वडा नम्वर ११ लिउडे गांउ अवस्थित छ।यो गाउं २९ डिग्री उत्तरी अक्षाशं र ८० डिग्री पूर्वी देशान्तरमा तराई र पहाडी भुभाग वीचको चुरे क्षेत्रमा पर्छ।
बिज्ञापन
परशुराम नगरपालिका वडा नं ११ लिउडे गाउँ
नगरपालिकाको बिभिन्न गाउंहरुमध्ये वडा नम्वर ११ को लिउडे गाउं एक महत्वपूर्ण गाउं हो। पूर्व(पश्चिम राजमार्गको कञ्चनपुर झलारीबाट यो गांउ मात्र २० किलोमिटरको दुरीमा पर्दछ । कञ्चनपुरको झलारीबाट मणिकाधामसम्म १५ किलोमिटरको यात्रा मोटरसाइकलमा आधा घण्टामा पुगिने रहेछ । मणिकाधामसम्म मोटरबाटो भए पनि सार्वजनिक यातायात नचल्ने भएकोले सजिलो यातायातको साधन मोटरसाइकल रहेछ । मोटरसाइकलले झलारीदेखी मणिकाधामसम्म रु ३०० भाडा लिने रहेछ, मैले पहिलोपटक मोटरसाइकलमा भाडा तिरी यात्रा गरेको अनुभव समेत लिने अवसर पाए ।आफ्नो निजी साधनबाट मणिकाधामसम्म भने जान सकिने रहेछ ।
कन्चनपुर शुक्लाफाँटा स्थित पवित्र तीर्थस्थल मणिकाधाम र स्नानकुण्ड
मणिकाधामबाट लिउडे ५ किलोमिटर जंगलभित्रको उकालो बाटो पैदल जांदाको अनुभुति ज्यादै अबिश्मरणीय रहने छ । ठाउँ ठाउँमा मोटर बाटो खनिएको भएता पनि बर्खाको बाढीले भत्काएको, पर्खाल ढलेको, रुखहरु ढलेको आदी अवस्था रहेकोले गोरेटो बाटोकै झल्को दिने भएकोले शहरी क्षेत्रबाट नजिक भएर पनि विकटको पनि अति विकटको झल्को यात्राको क्रममा पटक पटक आउने गर्दछ । मणिकाधामबाट लिउडेसम्म स्थानीयहरु एक घण्टामा पैदल पुग्ने रहेछन भने हामीलाई डेढ घण्टा जति लाग्ने रहेछ । उकालो बाटो भएकोले ठाउं ठाउंमा बस्दै जानु पर्ने भएकोले अलि बढी समय लाग्ने रहेछ ।
मणिकाधामबाट लिउडे जाने जंगलको बाटो
कञ्चनपुरको सीमा क्षेत्र झलारी र शुक्लाफाँटा नगरपालिका एवं राष्ट्रिय निकुञ्जबाट लिउडे गाउं नजिकै छ । यो गाउं डडेल्धुरा जिल्लामा पर्ने भएकोले यहांको वडा कार्यालय रहेको स्थान सिमलवण्ड जान एक दिन र नगरपालिका रहेको स्थान जोगबुढा जान दुई दिन लाग्ने रहेछ । वडा तथा नगरपालिका टाढा भएकोले सरकारी सेवा सुबिधा लिनको लागि असाध्यै कठिन अवस्था रहेको देखिन्छ । यहाँको भूगोल पहाड देखि मध्य चुरेसम्म फैलिएकोले ठाउँ(ठाउँमा भिरालो जमिन र घना जंगल पाइन्छन। प्रकृतिको अनुपम उपहारको रुपमा रहेको यस गाउँलाई पर्यटकिय गाउँको रुपमा समेत परिचय दिन सकिन्छ । यो गाउँसंगै नजिकमा रहेका पर्यटकिय स्थानहरुमा नाइल, खोरिया, पलगढी, सिमलवण्ड, मणिकाधाम, दोविल्ला, वतासेझरना, धप्रेनी आदी प्रख्यात रहेका छन । यदी दुई तीन दिनको प्याकेज मिलाएर भ्रमणमा जाने हो भने सबै पर्यटकिय स्थल अवलोकन गर्न सकिन्छ । तर मैले त्यो अवसर गुमाए ।
यहांका जनताले कृषिलाई महत्व दिइएको पाइन्छ।मौसम अनुसार तरकारी उत्पादन र पशुपालनका लागि उपयुक्त ठाउं रहेछ । सिंचाइको अभावमा धान खेति भने हुने रहेनछ । मुख्य उत्पादन मकै, गहु, फापर, तोरी रहेछ । यो गाउंमा बहुजातीय र बहुसांस्कृतिक समाज एकआपसमा मिलेर बसेका छन । यहाँ मुख्यतया विभिन्न जातजातिका मानिसहरू बसोबास गर्छन्। यस क्षेत्रमा बसोबास गर्ने जातिहरू प्रमुख रूपमा ब्राह्मण, क्षत्री, ठकुरी आदि जातिहरूको बाहुल्य रहेको देखिन्छ। यहाँको सामाजिक संरचना पारम्परिक रीतिरिवाजमा आधारित छ। स्थानीय भाषाको रूपमा खस डोटेल भाषा प्रयोग गर्दछन भने नेपाली भाषा पनि सर्वत्र बोलिने र बुझिने भाषा भएकोले सजिलै संवाद गर्न सकिन्छ । हिन्दु धर्म यहाँको मुख्य धर्म हो। स्थानीय मानिसहरू देवी(देवताहरू, प्रकृतिको पूजा गर्ने, धामी बस्ने र विभिन्न मन्दिरहरूमा पुजाआजा गरी धार्मिक आस्थामा श्रद्धा राख्दछन्।स्थानीय मानिसहरूले जनैपूर्णिमा, तीज, दशैं, तिहार, माघे सङ्क्रान्ति, फागुपूर्णिमा जस्ता राष्ट्रिय चाडपर्वहरू मनाउँदछन्। यहाँको जात्रा, देउडा नाच, लोकगीत आदि सांस्कृतिक पहिचान हुन्। महिलाहरू घरधन्दा र खेतीपातीमा संलग्न छन् भने पुरुषहरू रोजगारीको लागि स्थानीय तहमा रहेका साना(साना पेशा वा भारत, अन्य सहरहरूतर्फ जाने गरेको पाईन्छ । सानो गाउं भएकोले सामाजिक सहकार्य र सहयोगको भावना कायम छ। कञ्चनपुरको झलारी र शुक्लाफाँटा जस्ता व्यावसायिक केन्द्रबाट टाढा पनि छैन, तर यहाँका बासिन्दाले आधारभूत सुविधाहरु बिजुली, अस्पताल, स्वास्थ्य चौकी, बिद्यालय, सडक, मोवाईल, इन्टरनेट आदि उपभोग गर्न पाएका छैनन । मानौं यो क्षेत्र विकासको परिभाषाबाट नै बहिष्कृत भएको अवस्था छ भने पनि फरक नपर्ने स्थिति छ । विद्युतिकरणको काम अझै हुन सकेको छैन भने उज्यालो नेपाल नामक नाराले यो ठांउलाई छुन सकेको छैन । अझै पनि उज्यालोको लागि मट्टीतेल, दियो र सोलार प्रयोग गरेको पाइन्छ । अस्पताल त टाढाको कुरो भयो, सामान्य स्वास्थ्य चौकीसम्मको सुविधा पनि उपलब्ध छैन। सानो रोगको लागि पनि बासिन्दाहरूले घण्टौं पैदल हिँडेर झलारी वा धनगढी बजारतर्फ जानुपर्छ। उच्च शिक्षाको त कुरै नगरौं, प्राथमिक तहको शिक्षाको लागि पनि बच्चाहरूले झलारी, कन्चनपुर, धनगढी जानु पर्ने अवस्था छ । मोबाइल इन्टरनेटको कुनै पनि स्थिर सेवा उपलब्ध छैन। कहिलेकाँही आक्कल झुक्कल मोवाईल चले पनि इन्टरनेटको सुबिधा छैन, मोवाईल डाटा चल्दैन । आधुनिक संसारसँग जोड्नका लागि गाउँमा शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर छैनन भने प्रबिधिसंग जोड्ने उपायबाट पनि बञ्चित रहेको अवस्था छ। राजमार्गबाट नजिक भएर पनि झलारी देखी गाउँसम्म सडक जोड्ने सडक योजना नगरपालिकाबाट छुट्टाइने बार्षिक दुई, चार लाख पैसाले सडकमा रुखबाट झरेका पात सोहर्न पनि नपुग्ने अवस्था छ । बल्ल बल्ल नगरपालिकाबाट परेको बजेटबाट स्थानीय जनताले श्रमदान गरी ५ किलोमिटर बाटोको ट्रयाक त बनाए, तर नगरपालिकाको एकिकृत बिकास योजना नभएकोले सडक नाली, रिटेनिगं वाल, ह्युम पाइप, कल्भर्ट आदि सडक पूर्वाधारका न्यूनतम कार्य हुन नसकेकोले हिंउदमा जेनतेन बनाएको बाटो पनि बर्षामा शुन्यसरी बनाइदिन्छ र बिकास पनि शुन्यमा पर्याउंदछ। यो क्षेत्रमा पूर्वाधार विकास कार्य पछि पर्नुको कारण स्थानीय तहदेखि राष्ट्रिय तहसम्मका राजनीतिज्ञहरुको उदासीनता रहेको स्थानीय जनताको बुझाई रहेको छ । यो क्षेत्र राजनीतिक रूपमा पनि कुनै प्रभावशाली नेता वा नीतिनिर्माताको ध्यानमा परेको छैन, जसको कारण यो विकासको मुलधारबाट सधै पछाडी परिरह्यो । भौगोलिक रूपले निकै उपयुक्त स्थानमा रहेको यो क्षेत्र प्राकृतिक हिसावले सुन्दर छ, तर बिकास व्यबस्थापनको मोडल ठिक नहुदां त्यहाँका बासिन्दाहरू आधारभूत सुविधा तथा पूर्वाधार बिकासबाट समेत वञ्चित हुन पुगेका छन्। यसको लागि तत्काल स्थानीय, प्रादेशिक र केन्द्र सरकारले बिजुली, सडक, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवाहरू प्रदान गर्ने काममा प्राथमिकताको आधारमा काम गर्नु पर्ने अवस्था छ । यदी अझै सरकारी पक्षबाट उपयुक्त ध्यान दिइएन भने, यो क्षेत्र अझै लामो समयसम्म विकासबाट बंञ्चित रहिरहनेछ । बिकासमा पछी परेको यस प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्यटकिय गाउँमा एकपटक भ्रमण गर्ने हो भने बिकासबाट बञ्चितिको अवस्था र चरम बिकटको अनुभूत गर्न सकिन्छ । अझ भन्ने हो भने योजनाबिद्, बिकासविद्, प्रकृतिविद्ले त झनै पुग्नै पर्ने ठाउँ हो जहांबाट लाइभ अनुभव हासिल गर्न सक्दछन जुन ठुला ठुला अध्ययनबाट पनि अनुभव हासिल गर्न सकिदैन । धन्यवाद ।
नोटः यस यात्रामा सहजिकरण गर्ने श्री रामबहादुर खत्री (मोवाइल ९८६८७१६१८९) बहुआयामिक प्रतिभा भएका कलाकार हुनुहुन्छ । वहाँको फेसबुक https://www.facebook.com/rkhatri08 र युटुव च्यानल @rkhatrisudurpachhimlokbhak921 रामखत्री लोकभाका रहेको छ ।