बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

 खगेन्द्र नेपाल

बिज्ञापन

धार्मिक महत्वः शरद् ऋतु अर्थात असोज-कार्तिक महिनामा पर्ने असोज शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मनाईने नेपालीहरुको प्रमुख राष्ट्रिय चाड बडादसैँ महान् चाड हो। जसलाई पौराणिक कथाका अनुसार माता देवी दुर्गाले असुरराज महिषासुर (दानव) लाई वध गरेर धर्म र सत्यको रक्षा गरेको ऐतिहासिक प्रसङ्गसँग जोडिएको छ। जस अनुसार, महिषासुर असुर (राक्षस) रम्भ र महिषी (भैँसी) को संयोगबाट जन्मिएको दानवले मानव र भैँसी दुवै रूप धारण गर्न सक्थ्यो। कठोर तपस्यापछि उसले ब्रह्माबाट वरदान पाईँ देवता, असुर (राक्षस) र मानवले उसलाई मार्न नसक्ने, केवल स्त्रीले मात्र मार्न सक्ने वरदान पाएपछि महिषासुर (दानव) ले पाताललोक, मर्त्यलोक र इन्द्रलोकसम्म जितेर सबै लोकमा आतंक मच्चायो। सम्पुर्ण देवता र त्रिदेवले समेत उसलाई हराउन नसकेपछि महिषासुरको आतंक अन्त्य गर्न वा वधकालागि भगवती दुर्गा महाशक्तिको रुपमा प्रकट हुनुभयो। भगवान् शिव, विष्णु र अन्य देवताले दुर्गालाई दिएका विभिन्न अस्त्रशस्त्र र सिंह सवारीबाट देवीले महिषासुरसँग घोर युद्ध गरी अन्ततः उसलाई र पछि मधुकैटभ, शुम्भ, निशुम्भजस्ता दानवहरूको पनि वध गर्नु भयो, जसकारण उनी महिषासुर मर्दिनी भनिएको र हिन्दू शाक्त सम्प्रदायमा दुर्गालाई आदिशक्ति मानिन्छ। उनी शिवकी पत्नीको पराशक्ति हुन्, जसका विभिन्न रूपहरू छन्, गौरी, काली, पार्वती, लक्ष्मी, सावित्री आदि। माता दुर्गाले नौं दिनसम्म महिषासुरसँग युद्ध गरि दशौं दिनमा उसलाई वध गरी धर्म, सत्य र सदाचारको विजय सुनिश्चित गरि यही विजयको सम्झनामा दशौं दिनलाई विजया दशमी भनिएको हो। दसैँ केवल पौराणिक युद्धकथा मात्र नभई मानव जीवनमा मार्गदर्शन गर्ने धार्मिक तथा नैतिक सन्देश बोकेको महान पर्व हो। यस पर्वले असत्यमाथि सत्य, अन्यायमाथि न्याय र अधर्ममाथि धर्मको विजय अन्ततः अवश्य हुन्छ भन्ने गहिरो बोध गराएको छ। माता देवी दुर्गा शक्तिको प्रतीक भएकाले दसैँले मानिसलाई जीवनमा आउने कठिनाइ, अन्याय र बाधा, अड्चनमाथि विजय हासिल गर्न धैर्य, आस्था र आत्मबल आवश्यक हुन्छ भन्ने शिक्षा प्रदान गरेको छ। यही कारण दसैँलाई शक्तिको आराधना र सत्यको विजयको पर्व भनिन्छ। दसैँको सबैभन्दा महत्वपूर्ण अङ्ग हो नवरात्रि अर्थात् नवदुर्गा पूजा, घटस्थापनादेखि सुरु हुने नवरात्रिमा नौं दिनसम्म देवी दुर्गाका विभिन्न रूपहरूको पूजा आराधना गरिन्छ। पहिलो दिन देवीलाई आव्हान गरि घटस्थापना पूजा गरी जमरा राखिन्छ। पहिलो दिनदेखि नवौं दिनसम्म दुर्गाका शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी कालरात्रि, महागौरी र सिद्धिदात्री रूपहरूको विशेष देवीलाई जल, फूल, अक्षता र नैवेद्य आदि चढाएर पूजा गरिन्छ। आठौं दिनलाई महाअष्टमी भनिन्छ, यो दिन देवीलाई पशुबलि अर्थात बलिदान चढाइन्छ र शक्तिको चरम प्रकट भएको दिन मानिन्छ। आठौं र नवौं दिन महानवमीमा शस्त्रपूजा अर्थात् हतियार र औजारहरूको पूजा गरिन्छ। अन्ततः दशौं दिन विजया दशमीमा देवी दुर्गाले महिषासुरमाथि विजय हासिल गरेको सम्झनामा मान्यजनको हातबाट टिका, भगवतीलाई मन पर्ने वनस्पति जमरा लगाइन्छ र आशिर्वाद ग्रहण गर्ने उत्कृष्ट परम्परा रहेको छ। यसरी धार्मिक दृष्टिले दसैँ मानव जीवनमा आध्यात्मिक शक्ति, नैतिकता र धैर्यको स्मरण गराउने पर्व हो। यो चाडले व्यक्तिलाई आफ्ना नकारात्मक गुण, लोभ, ईर्ष्या, क्रोध र अहंकारलाई नष्ट गरी सदाचार, सत्य र धर्मको बाटोमा अघि बढ्न प्रेरित गर्दछ। दसैँको यही धार्मिक महत्वले यसलाई केवल पर्व मात्र नभई जीवनलाई मार्गदर्शन गर्ने शाश्वत प्रेरणाको स्रोत बनाएको छ।

बिज्ञापन

 

सामाजिक महत्वः धार्मिक पक्षसँगै दसैँको सामाजिक महत्व पनि त्यत्तिकै गहिरो छ। यस पर्वमा परिवार र आफन्तजन एकत्रित हुने परम्परा छ। वर्षभरि आ-आफ्ना काम र दायित्वका कारण टाढिएका सदस्यहरू जो जहाँ भए पनि घर फर्कने अवसरको रुपमा रहेको छ। हजुरबुबा-हजुरआमा, बुबा-आमाबाट सन्तान, दाजु-भाइ र दिदी-बहिनीबाट स्नेह, माया र आशीर्वाद प्राप्त गर्ने दिनका रूपमा दसैँलाई विशेष मानिन्छ। दसैँमा घरको कूल, मूल खाँबो पूजा गरेर हिन्दु धर्मालम्बीहरुले रातो र बौद्ध धर्मालम्बीहरुले सेतो अक्षताको निधार भरि टिका, जमरा र अभिषेक लगाउने परम्परा छ, जसले पवित्रता, सद्भाव र आशीर्वादको प्रतीक व्यक्त गर्दछ। टीकामा महिलालाई आशीर्वाददिँदा छुट्टै मन्त्रः

बिज्ञापन

जयन्ती मङ्ग‌लाकाली,

भद्रकाली कपालिनी।

दुर्गा क्षमा शिवाधात्री,

स्वाहा स्वधा नमोऽस्तुते।

(देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामर्थ्य राख्छिन्। जो हरेक अन्धकारको निदान गर्न सक्छिन्। समयको पाबन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँछिन् अनि हरेक प्रकारका दुःखको निदान गर्न सक्छिन्। यो जगत को रक्षा गर्ने हे देवी ! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौँ।)

टीकामा पुरुषलाई आशीर्वाददिँदा छुट्टै मन्त्रः

आयु द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।

दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।

(द्रोणपुत्र अश्वत्थामाको जस्तो दीर्घायु र दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस् । भगवान् रामको जस्तो शत्रु नाश हुन्। नहुष राजाको जस्तो ऐश्वर्य, पवनयुत्त हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस्।)

टिका लगाउँदा दुबै हातमा नगद दक्षिणा र फलफुल वा उपहार दिने चलनले आशीर्वादलाई अझ व्यवहारिक रूपमा जोडेको छ। घरतर्फ टीका लगाउँदा छोराहरुलाई शुभाशिष र फलफुल मात्र दिनुपर्ने र उनिहरुले मान्यजनलाई पैसा राखि ढोग्नुपर्ने, छोरीहरुलाई शुभाशिष सहित दक्षिणा दिनुपर्ने तथा ससुराली र मामाघरमा लगाउँदा अक्षताको रातो रङ्ग लागेको नयाँ नोट दक्षिणा पाइने चलन छ । केटाकेटीहरूमा टीका थापेपछि पैसा गन्ने चलन अविस्मरणिय हुन्छ भने तत्कालै ठूला मानिसमापनि खुसुक्क दक्षिणा हेर्ने उत्तिकै चाहाना दविएको हुन्छ। यसरी दसैँ केवल धार्मिक विधि, विधानमा सीमित नभई आपसी मेलमिलाप, सम्बन्ध सुधार र एकताको भावलाई जीवन्त तुल्याउने रमाईलो पर्व नेपाली समाजमा बनेको छ। यसरी हेर्दा दसैँ एकैसाथ धार्मिक आस्था र सामाजिक एकताको संगम बनेको छ। यो चाडले हरेक व्यक्तिलाई आफ्ना नकारात्मक गुणहरू त्याग्न, सदाचार र धर्मको बाटोमा अघि बढ्न प्रेरणा दिने मात्र होइन, विखण्डित परिवार र सम्बन्धहरूलाई पुनः जोड्ने अद्वितीय अवसर पनि प्रदान गर्दछ। दसैँको यही बहुआयामिक महत्वले यसलाई नेपालमा मात्र होइन, संसारभरका सम्पूर्ण नेपाली समुदायबीच श्रद्धा र सद्भावको महान् पर्वको रूपमा स्थापित गरेको छ।

 

सांस्कृतिक महत्वः दसैँको सांस्कृतिक पक्ष पनि अत्यन्तै मार्मिक र महत्त्वपूर्ण छ। यस पर्वमा मानिसहरूले भगवतीका शक्तिपिठहरुको दर्शन गर्ने, नयाँ लुगा लगाउने, घर, आँगन सफा गर्ने र गाउँ-सहरका मेला, पर्वमा सहभागी हुने परम्परा रहिआएको छ। मन्दिर र देउरालीहरूमा पूजा, आराधना गर्न जाने र देवीलाई बलिदान चढाउने चलनपनि प्रचलित छ। खसी, बोका, च्याङरा, राँगा, सुगुँर लगायतको बलिप्रथा देवीप्रतिको भक्तिको अभिव्यक्ति मानिन्छ। दसैँको समयमा गाउँ-सहरमा लिङ्गेपिङ/रोटेपिङ खेल्ने, गीत गाउने, भेला भएर नाचगान गर्ने, तास खेल्ने, चङ्गा उडाउने, सामूहिक उत्सव मनाउने परम्परा पुरानो संस्कृतिको अविभाज्य अंश हो। यसले सामूहिकता, सहकार्य र सांस्कृतिक ऐक्यबद्धतालाई अझ मजबुत बनाउँछ। यसरी दसैँले पुरानो संस्कृतिलाई जीवित राख्ने मात्र होइन, नयाँ पुस्तामा परम्परा र संस्कृतिप्रतिको गर्व जगाउने काम पनि गरेको छ। यस अवसरमा पूजा-आराधना, टिका-जमरा, बलिप्रथा र सांस्कृतिक उत्सवमार्फत हाम्रो पहिचान सुरक्षित रहन्छ। केही समुदायमा दसैँमा पारिवारिक जमघटमा मदिरा सेवनको प्रथा पाइन्छ, जुन सांस्कृतिक विशेषता भए पनि पूजा-विधानसँग अनिवार्य रूपमा जोडिएको छैन। आधुनिक समयमा मदिरा सेवनसँग स्वास्थ्य, घरायसी र सामाजिक समस्या जोडिएकोले यसप्रति पूर्ण सजगता आवश्यक छ। दसैँको सन्देश सत्य, धर्म, एकता र सुधार मदिरा सेवनभन्दा माथि रहनुपर्दछ। यसले हामीलाई आत्मसंयम, स्वास्थ्य र संस्कारमा आधारित उत्सव मनाउन प्रेरणा दिन्छ। दसैँमा खाने परिकार नेपाली संस्कृतिको विशेष पहिचान हुन् र यसले परम्परा, भक्ति तथा सामाजिक मेलमिलापलाई जीवित राख्दछ। यस पर्वमा वासनादार चामलको भात/पुलाउ, मासुमा पक्कु, भुटन, सेकुवा, तरकारी, दाल, अचार, सलाद, चिउरा, दहि, दुध, मही, काँक्रा, स्याउ, केरा लगायतका फलफूल र विभिन्न मिठाईका परिकार विशेष रूपमा तयार गरिन्छन्। मासु विशेष गरी खसी, बोका लगायत जनावरहरुको बलिप्रथामा प्रयोग भएको हुन्छ। यी परिकारहरूले केवल भोक मेटाउने मात्र होइन, परिवार र समुदायबीच साझा आनन्द, संस्कृति र संस्कारको अनुभव पनि दिलाउँछ। दसैँमा विभिन्न परिकारहरू तयार हुने भएकाले स्वास्थ्यप्रति सचेत रहन विशेष ख्याल राख्नुपर्दछ। सडेगलेको वा म्याद गुज्रिएको खाना प्रयोग नगरी ताजा र स्वच्छ परिकार मात्र ग्रहण गर्नुपर्दछ। मासु, मिठाई, तेल, घिउयुक्त भोजन सीमित मात्रामा खाने र फलफूल, तरकारी जस्ता पौष्टिक पदार्थलाई प्राथमिकता दिने बानीले स्वास्थ्यलाई सन्तुलित राख्दछ। साथै, आफ्नै स्वास्थ्य अवस्था अनुसार भोजन छनोट गर्न सके दसैँको आनन्द सुरक्षित र सुखद हुन्छ।

 

आर्थिक महत्वः दसैँ नजिकिँदै जाँदा बजारमा विशेष चहलपहल देखिन्छ। नयाँ लगाउने लुगा, जुत्ता/चप्पल तथा घरका प्रयोग हुने पर्दा, कार्पेट, ओड्ने, ओछ्याउने कपडा किन्ने, स्वादिष्ट परिकारका खाद्यान्न सामाग्री, सवारी साधन, सुन, चाँदी, भाँडाकुँडादेखि लिएर विविध सामान र खसी, बोका, च्याङरा, राँगा, सुगुँर लगायत खरिद गर्ने परम्पराले बजारलाई चहलपहलमय बनाउँदछ। यस अवधिमा व्यापार-व्यवसायमा अभूतपूर्व किनबेच हुने भएकाले दसैँलाई अर्थतन्त्रलाई चलायमान बनाउने चाडका रूपमा लिइन्छ। व्यापारी, कृषक र मजदुर सबैले यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष लाभ पाउँछन्। खेतबारीका उत्पादनको मूल्य बढ्छ, यातायात व्यवसाय देखि व्यापारिक लेनदेन तीव्र हुन्छ, मजदुरलाई अतिरिक्त रोजगारीका अवसरहरू मिल्छन्। यसरी दसैँको आर्थिक पक्षले देशको समग्र सामाजिक र सांस्कृतिक जीवनलाई थप सशक्त बनाउँछ।

 

निष्कर्षः यसरी धार्मिक आस्था, सामाजिक एकता, सांस्कृतिक उत्सव र आर्थिक चहलपहलको संगम बनेर दसैँले नेपाली जनजीवनमा अनन्य स्थान ओगटेको छ। यो पर्वले मानिसलाई सत्य, धर्म र नैतिकताको बाटोमा अघि बढ्न प्रेरणा दिने मात्र होइन, विखण्डित मन र परिवारलाई नजिक ल्याउने, सामूहिक खुशी बाँड्ने र अर्थतन्त्रलाई चलायमान बनाउने अद्वितीय अवसर प्रदान गर्दछ। दसैँ नेपाली समाजमा मात्र नभई विश्वभरका सम्पूर्ण नेपाली समुदायबीच असल चरित्र निर्माण, सामाजिक मेलमिलाप, सांस्कृतिक संरक्षण र आर्थिक प्रगतिको साझा आधार बनेको छ। आजको आधुनिक युगमा दसैँको सन्देश अझ गहन र जीवन्त छ। देवी दुर्गाले महिषासुरलाई वध गरेर धर्म र सत्यको विजय गरेझैं, वर्तमान समाजमा रहेका असत्य, अन्याय, भ्रष्टाचार, अनैतिकता र कुप्रथामाथि विजय प्राप्त गर्न प्रत्येक नेपालीले आफ्नो भूमिका निर्वाह गर्न आवश्यक छ। सुशासन स्थापना, पारदर्शी नेतृत्व र इमानदार आचरण नै आजको दसैँको भाव तथा वास्तविकता हो।

दसैँले सम्पूर्ण नेपाली जातजाति र विशेषगरी युवापुस्तालाई समेत सत्य, धैर्य, साहस र सदाचारमा अडिग रहन आह्वान गर्दछ। हिजोका बा-आमाहरूले विग्रेका विषयवस्तु सुधार्दै ल्याएका हुन् भने आजका बा-आमाहरूले देवीरुपि आमाहरूको प्रेरणा, आस्था र बलिदानमा आधारित भएर त्यो सुधारलाई अझ थप सुदृढ बनाउनु पर्दछ। हामी सबैले दुर्गा माताको आशीर्वादमा आफ्नो जीवनलाई धर्म, नैतिकता र समाज सुधारको यात्रामा अर्पण गर्नुपर्दछ। दसैँ केवल पर्व मात्र होइन, यो सत्य, धर्म र नैतिकताको प्रतिज्ञा पनि हो। असत्यमाथि सत्य, अधर्ममाथि धर्म र अन्धकारमाथि प्रकाशको विजयको पर्व दसैँलाई हामीले निरन्तरता सदियौंदेखि दिईरहेका छौं। यही कारणले दसैँलाई परिवारकालागि मात्र होइन, सम्पूर्ण नेपालीहरुकालागि आस्था, एकता र सुधारको प्रेरणा पर्वका रूपमा स्मरण गर्नु पर्दछ। दसैँमा टिका, जमरा लगाउँदा दक्षिणा दिने प्रचलन छ, तर यो आफ्नो आर्थिक अवस्थामा आधारित हुनुपर्दछ। धेरै खर्चिलो दक्षिणा दिनुभन्दा परिवार र आफन्तबीचको प्रेम, आशीर्वाद र सद्भाव नै मुख्य हो। साध्य अनुसार दिइएको दक्षिणाले पनि समान खुशी र सम्मान दिलाउँछ, जसले पर्वको वास्तविक भावना आपसी मेलमिलाप र आशीर्वादको आदानप्रदानलाई अझ अर्थपूर्ण बनाउँछ। दसैँको समयमा अनावश्यक देखासेखी नगरी सभ्य र मर्यादित तरिकाले पर्व मनाउन सक्नुपर्दछ। लहैलहैमा लागेर ऋणको भारी बोक्नु बुद्धिमानी होइन, बरु आफ्नो क्षमता अनुसार मितव्ययी भएर खर्च गर्दा पर्वको वास्तविक खुशी दीर्घकालीन हुन्छ। दसैँको मूल सन्देश आपसी प्रेम, आस्था र मेलमिलापमा आधारित भएकाले तडकभडक र अनावश्यक खर्चभन्दा संस्कारलाई प्राथमिकता दिइनु नै धर्मको रक्षा र मानव जीवनको पूर्ण सफलता हुनेछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

बिशेष