सडक विभागअन्तर्गतका डिभिजन कार्यालय र आयोजना अड्डामा फेरि एकपटक ‘सत्ता कब्जा’ गर्ने होड सुरु भएको छ। विशेषगरी अर्बौं बजेट भएका डिभिजन र आयोजनामा पुग्ने होड सिनियर डिभिजन इन्जिनियर बीच खुलेआम देखिएको छ। तर प्रश्न उठ्छ— के यो प्रतिस्पर्धा योग्यता र क्षमताका आधारमा हो ? कि शक्ति–प्रभाव, ठेकेदारको दबाब र करोडौंको मोलमोलाइका कारण हो ?
बिज्ञापन
बिज्ञापन
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै स्रोतहरू भन्छन्— “सडक डिभिजनमा सरुवा र नियुक्ति अब सामान्य प्रशासनिक प्रक्रिया होइन, यो अब ‘बजार’ बनेको छ। यहाँ बजेटजति ठूलो, त्यति नै ठेक्का, अनि त्यति नै कमाउने मौका।”
भक्तपुर, काठमाडौं, दमक, सुर्खेत, पोखरा, पाल्पा, बुटवल र दाङ डिभिजन अहिले सबैभन्दा ‘हॉट अड्डा’ बनेका छन्। यी सबै डिभिजनमा करिब २ अर्ब वा सोभन्दा बढीको बजेट हुन्छ। त्यति ठूलो बजेट व्यवस्थापन गर्ने जिम्मेवारी पाउने अर्थात् ठेक्का बाँडफाँडदेखि मूल्यांकनसम्मको चाबी पाउने ‘सुवर्ण अवसर’ हो यो।
बिज्ञापन
त्यही भएर यी अड्डामा पुग्ने रहर केवल इन्जिनियरको व्यक्तिगत अभिरुचि मात्र नभई, ठेकेदारदेखि राजनीतिक शक्ति केन्द्रसम्मको साझा चासो हो। मन्त्रालयका आन्तरिक निकायहरू भन्छन्— “आकर्षक अड्डामा पुग्न लाखौं होइन, करोडौंसम्मको ‘डिल’ हुन्छ।”
ठूलाठूला आयोजना कार्यालय पनि बजेट र ठेक्काको हिसाबले स्वर्णखानी मानिन्छन्।मदान भण्डारी आयोजना (काठमाडौं, सुर्खेत, दमक)काँकडभिट्टा–लौकही आयोजना, कालीगण्डकी करिडोर (पाल्पा), तमोर करिडोर (धरान), कर्णाली करिडोर, भेरी करिडोर
यी आयोजनाहरूमा बजेट अर्बौंमा हुन्छ। एउटा मात्र करिडोर आयोजनाको मूल्य १५ देखि २० अर्बसम्म पुग्ने तथ्य मन्त्रालयकै कागजातले देखाउँछ। त्यही भएर यी आयोजनामा बस्नका लागि राजनीतिक पहुँचदेखि ठूला ठेकेदारको चासो ‘मिश्रित खेल’ चलिरहेको छ।
शक्तिशाली ‘सिन्डिकेट’ : सधैं आकर्षक अड्डामा बस्ने इन्जिनियरहरू
कसैलाई कहिल्यै प्रमुख बन्ने मौका नपाउँदा, केही इन्जिनियर भने सधैं आकर्षक अड्डामै देखिन्छन्। उनीहरूको नाम मन्त्रालयमै ‘सिन्डिकेट’ भनेर चिनिन्छ।
कल्पना अधिकारी
भौतिक सचिव केशव शर्माको नजिक मानिने अधिकारी अहिले काँकडभिट्टा–लौकही आयोजना (२० अर्बको प्रोजेक्ट) का लागि चर्चामा छिन्। यसअघि कालीगण्डकी करिडोरमा तीन पटक प्रमुख, मध्यपहाडी पर्वतमा समेत प्रमुख, अहिले फेरि अर्को अर्बौं बजेटको अड्डा खोज्दै छिन्। स्रोत भन्छ— “उनी भाग्यमानी मात्र होइन, ‘प्रोटेक्टेड’ अधिकारी हुन्।”
सुमन योगेश
भक्तपुर डिभिजनमा दोस्रो कार्यकालमै टिकिरहेका उनी यसअघि हुलाकी नेपालगञ्ज, डिभिजन हेटौडा, डिभिजन चपुर, कान्ति लोकपथजस्ता अड्डामा प्रमुख भइसकेका छन्। मन्त्रालयभित्र उनलाई ‘सधैं दुहुने गाई’ भनेर व्यङ्ग्य गरिन्छ। अहिले फेरि भक्तपुरमै बस्नका लागि शक्ति–केन्द्र धाइरहेको स्रोत बताउँछ।
नारायण दत्त भण्डारी
हाल काठमाडौँ डिभिजन प्रमुख रहेका उनी यसअघि मध्यपहाडी पर्वत, गल्छी–त्रिशुली–मैलुङ–स्याफुबेसी आयोजना, बाग्लुङ डिभिजन, सुर्खेत डिभिजनजस्ता ठूला अड्डामा प्रमुख भइसकेका छन्। अकुत सम्पत्ति कमाएको आरोप लाग्ने उनी भक्तपुर डिभिजन जानका लागि करोडौं रुपैयाँ खर्च गर्न पनि तयार रहेको दाबी मन्त्रालय स्रोतले गरेको छ।
गुरु अधिकारी
डिभिजन हेटौंडामा रहेका उनी यसअघि सुर्खेत, भक्तपुर र उपत्यका विस्तार आयोजना जस्ता अड्डामा प्रमुख भइसकेका छन्। अब फेरि नुवाकोट डिभिजन पुग्न सक्रिय रूपमा ‘डिल’ गरिरहेको भनिन्छ।
शंकर पौडेल
कालीगण्डकी करिडोर, मदन भण्डारी योजना कार्यालय सुर्खेत, मध्यपहाडी पर्वतमा प्रमुख भइसकेका उनी हाल पोखरा डिभिजनका लागि दौडधुप गरिरहेका छन्।
श्याम यादव
डिभिजन झापा, मुग्लिन–पोखरा, मदन भण्डारी दमक, डिभिजन दमकमा प्रमुख भइसकेका उनी पनि फेरि आकर्षक अड्डा खोज्दै मन्त्रालय धाइरहेका छन्।
नारायण लामिछाने
भरतपुर डिभिजनमा रहेका उनी यसअघि सूर्यविनायक–धुलिखेल आयोजनामा प्रमुख थिए। अहिले उनलाई ठूला ठेकेदारहरूले समर्थन गर्दै आकर्षक अड्डामा पठाउन लबिङ गरिरहेका छन्।
यी सबै अड्डामा पुग्नका लागि सिनियर डिभिजन इन्जिनियरहरूले मात्र धाउनु परेको होइन। ठूला ठेकेदारहरूले पनि आफ्नो ‘मनपर्ने’ सिनियर डिभिजन इन्जिनियरलाई अघि सारिरहेका छन्। ठेकेदारले अर्बौंको ठेक्का पाउने, इन्जिनियरले ‘कमिसन’ खाने— यही गठबन्धन नै सडक आयोजनामा देखिएको प्रमुख अनियमितताको जरा बनेको स्रोत बताउँछ।
अवसर नै नपाउने ‘पीडित’ सिनियर डिभिजन इन्जिनियरहरू
जहाँ केही सिनियर डिभिजन इन्जिनियर सधैं अर्बौंको अड्डामा पुग्छन्, त्यहाँ शिवलाल दाहाल, रमेश पौडेल, सुजन अधिकारी, प्रदीप भण्डारी, विजय महतो, मन्द पन्त, सजना अधिकारी, त्रिलोक घिमिरे, बद्री शर्मा, राकेश महर्जन, नातीबाबु खड्का जस्ता नाम भने लामो समयदेखि कुनै आयोजना प्रमुख बन्ने मौका नै पाएका छैनन्।
मन्त्रालयका कर्मचारीमै तिक्तता छ— “सधैं त्यही मान्छे आकर्षक अड्डामा पुग्छ, हामीजस्ता मान्छे दशकौं बस्दा पनि एकचोटि प्रमुख बन्ने अवसर पाइन्न।”
सडक विभाग र आयोजना अड्डाको खेल अब ‘विकास’ भन्दा बढी ‘धन कमाउने बाटो’ बनेको छ। शक्ति–प्रभाव, ठेकेदार–इन्जिनियरको गठबन्धन, र करोडौंको मोलमोलाइले गर्दा योग्य तर ‘नजिक’ नभएका इन्जिनियरहरूले अवसर गुमाइरहेका छन्।
सवाल स्पष्ट छ—
के सरकार र मन्त्रालयले यो सिन्डिकेट तोड्ने साहस गर्छ ? वा फेरि पनि त्यही पुरानै अनुहार, त्यही पुरानै घोटाला र त्यही पुरानै अनियमितता दोहोरिने हो ?
आकर्षक मानिएका सडक डिभिजन र आयोजनामा पुग्नका लागि सिनियर डिभिजन इन्जिनियरहरूको दौडधुप सुरु भएको छ। तर, यी महत्वपूर्ण पदमा सरुवा हुने क्रममा केही व्यक्तिहरूको मात्रै पहुँच र चलखेल देखिएको भन्दै कर्मचारी भित्रै प्रश्न उठ्न थालेको छ।
सडक विभागभित्रै “सिण्डिकेट शैलीको सरुवा” भइरहेको आरोप कर्मचारीबीच फैलिएको छ। विभागले सरुवा गर्ने नाममा देखाएको असमानताले कतिपय कर्मचारी निरुत्साहित बनेका छन् भने पहुँचवालाहरू मात्रै ‘लोभलाग्दा’ डिभिजनमा पुग्ने क्रम दोहोरिएको छ।
यसैबीच, सिनियर डिभिजन इन्जिनियर अमृत मनि रिमालले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्। उनले सरुवाको प्रक्रियामाथि कटाक्ष गर्दै लेखेका छन् ।
“सरूवाको समयले साथिभाईहरू सलबलाएको संकेत ! होचा, पुड्का आड नभएकाहरू हुलमुलमा नमिचिउन !! सबैको जय होस् !!!”
उनको यो टिप्पणीले विभागभित्रको असन्तोष झन् सतहमा ल्याइदिएको छ। सरुवामा चलखेल र मिलेमतो हावी भएको आरोप थप प्रष्ट बनेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागलाई लक्षित गर्दै कर्मचारीहरूले गुनासो गरेका छन् – समान अवसर नदिई, केही व्यक्ति मात्र आकर्षक मानिएका डिभिजन र आयोजना हत्याउने क्रम रोकिनुपर्ने माग बढ्न थालेको छ।
“सामान्य सरुवालाई समेत ‘आर्थिक बजार’ बनाइएको छ। कसैलाई एकै डिभिजनमा वर्षौं बस्ने मौका दिइन्छ भने कतिपयलाई निरन्तर अन्यत्रै धकेलिन्छ,” एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने।
अब, मन्त्रालय नेतृत्व र विभागले यो सिण्डिकेट तोड्ने कि फेरि जस्ताको त्यस्तै चलखेललाई मौन स्वीकृति दिने भन्ने प्रश्न उठेको छ।
निजामती पुरस्कारमा ‘स्वार्थको द्धन्द’ : इमान्दार वञ्चित, नजिकका पुरस्कृत
भौतिक मन्त्रालयमा कर्मचारी घोटाला: कसैलाई बेरोजगार, कसैलाई दुई–दुई जागिर !
कर्मचारी प्रेसको समाचारपछि मन्त्रालय सक्रिय, सुईहरूको जिम्मेवारी फेरबदल