हरेक वर्ष जस्तै यस वर्ष पनि भदौ १० गते अर्थात अगस्त २६ मा भदौ शुक्ल तृतीयाका दिन हरितालिका(तीज) पर्व परेको छ। यो पर्व हामी नेपाली मात्रको सांस्कृतिक पर्व हो। परम्परा देखि चल्दै आएको पर्व खासगरी बिबाहित नारीद्वारा मनाईने चलन छ। शिव पार्वतीको दाम्पत्यता संग जोडिएको यो पर्वमा बिबाहित नारीहरुले आफ्ना वेदनाहरूलाई गीतका माध्यमबाट ब्यक्त गर्ने चलन छ। पहिला पहिला महिलाहरूको बिबाह वाल्य अवस्थामा हुने गर्दथ्यो। हामी धेरै पुस्ता अगाडि पनि जान पर्दैन हाम्रा आमा र हजुर आमाको बिबाह ७/८ वर्षको उमेरमा गरिन्थ्यो।
त्यति खेर वाल विवाहलाई कानूनी अपराध नमानिएका कारण यस्तो विवाहलाई सामान्य मानिन्थ्यो। खासगरी यस्तो चलन बाहुन क्षेत्री समुदायमा चलेको पाईन्छ। यसरी सानो उमेर मै आमा बाबुको काख छोडेर पराईको घर जानु परेको पींडा भोग्नेलाई मात्र थाहा हुन्छ। माईत छोडेर घर गए पछि माईतीमा पुलपुलिएर हुर्कदै गरेकी चेलीले पतिको घर पुगेपछि वा छोरीको भूमिकाबाट बुहारीको भूमिकामा पुगे पछि गर्नु पर्ने कृयाकलाप बिलकूल फरक हुने गर्छन्। जस्तै बिहान सवेरै उठ्नु, चुल्हो बाल्नु, दैलो पोत्नु, गोठको धन्दा गरेर घास काट्ने, दिनभर खेतालो जाने आदि आदि । यी बभिन्न गतिविधिका अतिरिक्त आफ्ना परिवार, ईष्ट मित्र,सबैमा मर्यादा पूर्वक प्रस्तुत हुने जस्ता विभिन्न वन्धनमा जेलिनु पर्दा यी नयां बुहारीलाई माईतिको झल्को लाग्छ, अत्यार लाग्छ, यस्तो परिस्थितिमा तीज पर्वको अवसरमा माईत जान पाईन्छ र ती दिन गनेर बसेका हुन्छन् बिबाहित छोरीले। तीजको एक दिन अगाडि दर खाने चलन छ। दरमा मीठा मीठा परिकार बनाईन्छ।
माईती पक्षले दर खाने दिन अगावै छोरीलाई लिन दाजु, भाइ वा बाबु स्वयं जाने चलन छ। छोरी लिन जादा छोरीको शाशुलाई कोशेलीपातको रूपमा लुगाफाटो, गर गहना, मिठाईहरु लैजाने चलन छ। शाशुलाई खुसी बनाए मात्र छोरीलाई माईत ल्याउन पाईने भन्ने मान्यता छ। माईतिका सामु बुहारीले शाशु संग बिदा मागेर माईत आए पछि माईत आएका सबै चेलीहरुले नयां कपडा लगाएर,गरगहना पहिरिएर सामुहिक रूपमा नाच गान गरेर यो पर्व मनाउछन्। यही प्रसंगमा गाईने गीतहरूमा आफूले घरमा भोगेका दुःख, पींडाहरू ब्यक्त हुन्छन्। यसरी पहिलो दिन दरका रूपमा मिष्ठान्न खाने, भोली पल्ट नाचगान गरी रमाईलो गर्ने र पर्सीपल्ट पन्चमीमा शिव पार्वतिको पूजा आजा गरी तीज पर्व सकेर चेलीहरू घर फर्कने चलन हो पहिलाको। तर आजभोली तीज पर्व मानिदै आए पनि त्यस्ता पींडाहरू तीजका गीतमा देखिदैनन्। किनभने आजभोली गरिने बिबाहको शैलीमा परिवर्तन भएको छ, वाल बिबाहलाई कानूनले वन्देज लगाए पछि बिबाहको महत्व बुझे पछि मात्र आफैले सोच्न सक्ने भएर मात्र बिबाह गर्ने गरिन्छ। बिबाह गरेर घर गए पछि गरिने कृयाकलापमा परिवर्तन भएका छन्। यसले बैबाहिक जीवन पहिले जस्तो पींडादायी नभएर जिम्मेवारवोधक भएको छ। यसैले आजभोली यो पर्वले निरन्तरता पाए पनि यसले दिने सन्देश पहिलेको भन्दा फरक भएको पाईन्छ।
हाम्रो संस्कार अनुसार हामीले मनाईने चाडपर्वहरूको वेग्ला वेग्लै महत्व छ। खासगरी तीज पर्वको महत्व मनोवैज्ञानिक छ। आमा बाबुको काखमा खाईखेल्ने वालापनलाई जवर्जस्ती नौलो घरमा लगेर परिपक्वताले थेग्ने भन्दा गह्रौं जिम्वेवारी बोक्नु पर्दा वच्चालाई पर्ने मनोवैज्ञानिक पींडालाई केही हद सम्म यो पर्वले कम गरेको मान्न सकिन्छ। किनभने यो पर्व माईति संग निकट हुने पर्व हो। पूर्विय मान्यतामा छोरी चेलीको बिबाहलाई कन्यादानको रूपमा हेरिन्छ। यसरी दानको रूपमा दिईने बस्तु शुद्ध होस भनेर महिलाको मासिक धर्म शुरू नहुदै बिबाह गरिने चलनले वाल विवाहलाई मान्यता दियो तर पछि आएर यसलाई प्राकृतिक चक्र मानिदा आजभोली वाल विवाह दण्डनीय हुन गै बिबाह परिपक्वताको प्रतीकको रूपमा आएको पाईन्छ। तीज पर्वका यस्ता मननीय पक्षलाई एकातिर पन्छाएर आजभोली मनाईने तीजमा केही विकृति पनि मिसिदै आएको पाईन्छ। किनभने हामीले तीजको महत्व र मर्मलाई यूवा पुस्तामा हस्तान्तरण गर्न नसक्दा आजभोली तीजमा गाईने गीतमा क्रमशः छाडापन आउन थालेको छ। तीजको दर खाने नाममा महिनौ देखि महंगा रेष्टुरेण्टहरूमा भोज भतेर गरिन थालेको छ।
यसलाई समयको मांग र यूवाको चाहना भनेर अनावश्यक तर्क दिनेको पनि कमी छैन तर यसले तीज पर्वलाई विकृत तुल्याएको छ, यसमा सुधार ल्याउनु पर्छ। समय परिवर्तन भए पनि हाम्रो समाजमा महिला प्रतिको भेदभाव अझै कायम छ। यस्तो भेदभाव हाम्रो जस्तो देशमा मात्र नभएर अमेरिका जस्तो सम्पन्नशाली देशमा समेत देख्न पाईन्छ। किनभने लैंगिक समानताको वकालत गर्ने अमेरिकाले आज सम्म महिलालाई राष्ट्रपति बनाउन सकेको छैन। शिक्षा , स्वास्थ्य, रोजगारी र राजनीतिका क्षेत्रमा नेपालमा महिलाले यथास्थान पाउन सकेका छैनन्। अझै पनि महिलालाई हाउस वाईफ भनेर संघार भित्रै राख्ने चलन छ। यसैले आजभोलीका हाम्रा तीजका गीतले यस्ता कुरालाई समेट्दै सांस्कृतिक पर्व तीजलाई निरन्तरता दिनु पर्छ।