मनसुनको सुरुवातसँगै जलजन्य प्रकोपको जोखिम न्यूनीकरण, तत्कालीन उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ र १४ स्थित निचाझोडा सिमसार क्षेत्रमा आज संयुक्त अभ्यास सम्पन्न गरिएको छ। अभ्यासमा सुरक्षा निकाय, सरोकारवाला निकाय तथा स्थानीय समुदायको सहभागिता रहेको छ।
बिज्ञापन
जिल्ला विपद् व्यवस्थापन समिति, नेपाली सेना अरिदमन गण, जिल्ला प्रहरी कार्यालय झापा, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा. झापा र नेपाल रेडक्रस सोसाइटी झापाको संयोजनमा उक्त अभ्यास गरिएको हो। अभ्यासमा करिब ३५० जनाको सहभागिता थियो।
बिज्ञापन
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, नेपाली सेना २१ नं. बाहिनी अड्डा तोपगाछीका सहायक बाहिनीपति महासेनानी ब्रजेश महर्जन, श्री अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यात, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बु, सशस्त्र प्रहरी गणपति सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान कार्यालय झापाका उप–अनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, रेडक्रस झापाका सभापति लोकराज ढकाल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, विद्यार्थी, सञ्चारकर्मी र सर्वसाधारणको उपस्थिति रहेको थियो।
कार्यक्रममा बाढीले बगाएको व्यक्तिको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, खोचमा फसेकाको उद्धार, घाइतेको प्राथमिक उपचार, पानीमा तैरनका स्थानीय साधनहरुको प्रदर्शन तथा अन्डर वाटर र अप्पर वाटर रेस्क्यु विधिहरुको अभ्यास गरिएको थियो।
बिज्ञापन
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका अनुसार मनसुनजन्य विपद् प्रतिकार्यका लागि मातहत इकाइहरुमा विपद् व्यवस्थापन सेल गठन भइसकेको छ। जोखिमयुक्त क्षेत्रहरुको नक्शाङ्कन, अनुशिक्षण तालिम, १९३ वटा सामुदायिक सचेतनामूलक कक्षाहरू सञ्चालन, विपद् स्वयंसेवक तालिम, र भारतीय समकक्षीसँग नियमित समन्वय तथा सूचना आदानप्रदान गरिँदै आएको जानकारी दिइएको छ।
झापा जिल्लाका १३१ वडामा २५/२५ जना “विपद् सूचक” तयार पार्ने कार्यसमेत अगाडि बढाइएको छ। यस्तै, मनसुन विपद् प्रतिकार्यका लागि झापा जिल्लाभर सशस्त्र प्रहरी बलका ३०५ जना, नेपाल प्रहरीका ११० जना, नेपाली सेनाका १६० जना, रेडक्रसका १२५ जना र विपद् व्यवस्थापन गुल्मका ४० जना गरी २४ सै घण्टा तयारी अवस्थामा खटिएको जनाइएको छ।
संयुक्त अभ्यासमार्फत जलजन्य प्रकोपको समयमा प्रभावकारी समन्वय र सहकार्यका साथ उद्धार कार्य गर्न सकिने विश्वास गरिएको छ।