बिज्ञापन
पृथ्वी नारायण शाहले नेपालको भौगोलिक अवस्थितिलाई हेरेर नेपाललाई दुई ढुंगाको तरूलको उपमा दिएको नेपालको ईतिहासमा पढ्न पाईन्छ। त्यति खेरको यो भनाइले नेपाल भौगोलिक रूपमा चेपुवामा परेको बुझ्न सकिन्छ तर अहिले राजनीतिक रूपमा नेपालको प्रजातन्त्र समेत चेपुवामा परेको पाईन्छ।
बिज्ञापन
राणा शासनको ज्यादति संगै नेपाली जनताहरू त्यसबाट मुक्ति पाउन प्रजातान्त्रिक शासन ब्यबस्थाको खोजीमा थिए। राणा शासनको चेपुवामा नेपाली जनता मात्र नभएर स्वयं राजा समेत उकुसमुकुसको अबस्थामा भएका कारणले तत्कालीन राजा र नेपाली जनता मिलेर राणा शासनको अन्त्य गरी प्रजातन्त्रको जग बसाले। तर पछिका राजाहरू प्रजातन्त्रको सीमा भित्र बस्न नचाहेका कारण नेपालको प्रजातन्त्रले बेला बेलामा संकट भोग्नु परेको छ ।
नेपाली जनतामा राजनीतिक चेतनाको कमि हुनाले नेपालमा प्रजातन्त्रको जग बस्न केही समय लाग्यो। २०१५ सालमा भएको संसदीय निर्वाचनबाट बनेको पहिलो संसद नै नेपालको पहिलो प्रजातान्त्रिक संस्था हो भन्न सकिन्छ। ग्लोबलाईजेशनको समयमा विश्वको कुनै पनि देश वा क्षेत्रमा घट्ने घटनाको प्रभावले अन्य देश वा क्षेत्रमा प्रभाव पर्दछ। यसैको परिणाम स्वरूप ९० को दशकमा आएको प्रजातन्त्रको बाढीको प्रभाव नेपालमा पनि पर्न गयो। यो प्रभावले वाम पन्थी विचारहरू समेतमा उदारता आयो, प्रजातन्त्रिक विचारहरू झनै बलिया हुदै गए, तानाशाहहरू पनि कमजोर हुदै गए। यसैको परिणाम स्वरूप नेपालमा प्रजातन्त्र भित्र राजा, कम्युनिष्ट मतहरू पनि समाहित हुदै गए।
यसरी सबै विषमताहरू एकै ठाऊमा मिसिन पुग्दा यी सबै बीचको लेनदेनका कारण प्रजातान्त्रिक अवधारणा पनि मलिन र मधुरो हुन पुग्यो। प्रजातान्त्रिक अवधारणाका बाहकहरूमा पनि प्रजातान्त्रिक बानी, बेहोरा र संस्कारमा स्खलन आउन थाल्यो, जसको परिणामले प्रजातन्त्रलाई कमजोर बनाउन मद्दत गर्यो। पछिका दिनमा भएका संसदीय एवं अन्य आवधिक चुनावहरूमा एक्ला एक्लै प्रतिस्पर्धामा जाने हौसला प्रजातान्त्रिक दलहरूमा हराउदै गयो। प्रजातन्त्रलाई बाहिरी आवरणमा लेपन गर्दै यसकै आडमा कु-शासन र नन्-डेलिभरीमा दलका नेताहरू लाग्न थाले। प्रजातन्त्रलाई देश र जनताको हितको लागि नभएर नेताहरूले आफ्नो समृद्धीको लागि दुरूपयोग गर्न थाले। जनता बीच दल र यिनका नेताको दूरी बढ्दै गयो र यिनीहरूको पहुच जनता सम्म पुग्न नसकीरहेको स्थितिमा सो रिक्तता पूरा गर्न कोही न कोही आउनै पर्ने स्थिति देखियो।
बिज्ञापन
नेताहरूले आफ्नो कमी कमजोरी महसुस गरेर आफ्ना दलका सक्षम यूवाहरूलाई पार्टी र सत्ता बुझाउन सकेको भए शून्यताको वर्तमान अवस्था देखा पर्ने थिएन र यो शून्यतामा पुनरूत्थानवादीहरूले खेल्ने मौका पाउने थिएनन् तर स्थिति त्यस्तो देखिएन।प्रजातन्त्रको मैदान प्रजातन्त्रवादीको नियन्त्रणमा रहन सकेन र यसलाई बाहिरी र भित्री अवसरवादीहरूले दुरूपयोग गरे। प्रजातन्त्रवादीले आफ्नो कित्ता मिचेर यसलाई दुरूपयोग गरिएको पत्तै पाएनन् र उनीहरू संगै लहसिन पुगे। नेपाल भित्रका यी र यस्ता प्रवृत्तिहरूका अतिरिक्त देश बाहिरका शक्तिका कारण पनि नेपालको प्रजातन्त्र उपर दवाव पर्न थाल्यो। नेपालको दक्षिण र पश्चिममा रहेका प्रजातान्त्रिक शक्तिहरू क्रमशः कन्जर्भेटिभ कित्ता तर्फ जानु र उत्तरको छिमेकमा गैर प्रजातान्त्रिक शक्तिको शासन हुनाले पनि नेपालमा प्रजातान्त्रिक परिवेश क्रमशः सांघुरिदै गएको पाईन्छ।
मुलुकको शासन ब्यबस्थामा प्रजातान्त्रिक शासन ब्यबस्था एक मात्र निर्विकल्प शासन ब्यबस्था हो। यो ब्यबस्थाका संचालकको कमजोरीमा मात्र अन्य प्रतिगामी तत्वहरूले टाउको उठाउने प्रयास गर्छन्। हाम्रो देशमा अहिले भएको त्यही हो। आफ्नो कमी कमजोरी छिपाउन यहां प्रजातान्त्रिक शासन ब्यबस्थामा नै खराबी छ भन्ने कू-तथ्य र भ्रम फैलाउने दुश्प्रयास गरिएको छ जुन सोह्रै आना झूठ हो। यसैले यो भ्रमलाई चिरेर लिक बाट बाहिर जान लागेको प्रजातन्त्रलाई पूनः सही मार्गमा ल्याउन यिनै दल भित्रका यूवाहरू अगाडि बढ्नुको बिकल्प छैन।