दार्चुलाको लेकम गाउँपालिका–४ का स्थानीय तथा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख केशवराज ओझाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । गाउँपालिकाको शैक्षिक कार्यक्रम सकाएर मोटरसाइकलमा घर फर्कने क्रममा सोमबार बेलुकातिर लेकम गाउँपालिका–४ गोदालीमा दुर्घटनामा परी उनी सख्त घाइते भएको प्रहरीले जनाएको छ ।
बिज्ञापन
इलाका प्रहरी कार्यालय रिठाचौपातका अनुसार गोदालीमा माथिबाट खसेको ढुंगा लागेर गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रहेका ओझाको पिँठ्युमा चोट लागेको थियो । सख्त घाइते अवस्थामा उनलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि गोकुलेश्वर अस्पताल लगिएको हो ।
बिज्ञापन
शाखा प्रमुख ओझाको दुर्घटनामा मृत्यु भएपछि मङ्गलबार गाउँपालिकामा शोक बिदा दिइएको छ। शिक्षा अधिकृत ओझाको असामयिक निधनले गाउँपालिकाको शिक्षा क्षेत्रमा गहिरो क्षति पुगेको बताइएको छ। ओझाको निधनप्रति श्रद्धाञ्जली स्वरूप गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालयहरूमा मङ्गलबार शोक बिदा घोषणा गरिएको छ।