नुवाकोटको शेरा दरबार तथा सो दरबारले चर्चेको जग्गा प्रकरणका कारण अहिले मालपोतका कर्मचारीको भागाभाग शुरु भएको छ । हेलेन र जयन्ती शाहको नाममा रहेको उक्त जग्गा गौरीशंकर फार्मिङ हुँदै अन्नपूर्ण फार्मिङको नाममा आइपुगेको थियो । १६४ रोपनीभन्दा धेरै जग्गाको किचलोमा कोही कर्मचारीहरु मुछिन नचाहेपछि सकेसम्म नुवाकोट मालपोतमै जानै नचाहने र गए पनि दुई‑तीन महिनामै सरुवा मिलाएर कर्मचारीहरु टाप ठोक्न थालेका छन् । नुवाकोट मालपोतका कर्मचारीहरुका अनुसार,२०३६ भदौ २९ गते गौरीशंकर फार्मिङको नाममा १८१ रोपनी १३ आना १ पैसा २ दाम जग्गा नापी भएको जग्गा आलीकान्ला कटाइ १६४ रोपनी १३ आना ३ पैसा जग्गा कायम भएको थियो । ८ बर्ष पछि गौरीशंकर फार्मिङ प्रालिबाट अन्नपूर्ण फार्मिङ प्रालिको नाममा पुगेको जग्गा हो त्यो । अहिले हदबन्दीको नाममा लफडा परिरहेको उक्त किचलोमा कोही कर्मचारीहरुले कलम चोप्न नमान्दा तनाव पैदा भएको छ ।
बिज्ञापन
भूमिसम्बन्धी ऐन, २०२१ को परिच्छेद ३, जग्गाको हदबन्दीसम्बन्धी महलमा पहाडी जिल्लामा जग्गावालाको हैसियतले अधिकतम जग्गा राख्न पाउने हद ७० रोपनी कायम गरिएको भेटिन्छ । हदबन्दीको प्रावधान आएपछि २०७३ जेठ २५ गते कम्पनीको हदबन्दीको जग्गा छानबिनका लागि भन्दै रोक्का राखिएको थियो । १८१ रोपनी १३ आना जग्गामध्ये ७५ रोपनी कम्पनीको नाममा भएपनि ११६ रोपनी १३ आना जग्गा हदबन्दीको छानबिन गर्नुपर्ने भन्दै रोक्का राखिएको उक्त जग्गाको लफडामा कुनै पनि हाकिमहरु पर्न नचाहँदा त्यहाँबाट धमाधम दुई÷ चार महिनामै कार्यालय प्रमुखहरु सरुवा मिलाएर हिड्न थालेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले यो प्रकरणमा बिस्तृत अनुसन्धान गरेर आवश्यक कारबाही गर्न तथा प्रतिवेदन कार्यान्वयन गर्न भनेर मालपोत कार्यालय नुवाकोटलाई पत्र नै पनि पठाइएको भए पनि सम्बन्धित जग्गाधनीलाई बोलाएर सोधपुछ गर्ने, बयान लिने, सम्बन्धित कागजात माग्ने र आदेश गर्ने भन्दै महिना दिन अगाडिमात्र त्यहाँ उपसचिव देवी भण्डारीलाई खटाइएको हो । रोचक त भण्डारीका तिनै दाजुभाई मालपोतका रैथाने हुन । २५ सालका लोक भण्डारी, ०२६ सालका देवी र ०२८ सालका शेर, तिनै भाइ लामो समयदेखि मालपोतमा जरा गाढेर बस्दै आएका छन् । उनीहरुका तिनै दाजुभाई बर्षदेखि मालपोतमै घुमेर जागिर खाइरहेका कर्मचारी हुन । कपिलबस्तु मालपोत,दाङ्ग हुँदै महिना दिन अगाडिमात्र नुवाकोट पठाइएका भण्डारीले ‘म बाट काम हुँदैन,जहाँ सरुवा गर्ने हो गरिदिनुहोस’ टक्टकिएपछि त्यहाँ पठाउने नयाँ हाकिमको खोजी हुन थालेको छ । नुवाकोट मालपोतमा पछिल्लो एक बर्षमै चार जना कार्यालय प्रमुखहरु परिवर्तन भइसकेका छन् । मिन भट्टराई तीन महिना पनि त्यहाँ टिकेनन्,उनी अघिका ओमबहादुर अधिकारी र हेम सेढाई पनि तीन/चार महिनामै सरुवा भएर हिडेका छन् ।

बिज्ञापन
उता शेरा दरवार प्रकरणपछि ‘हात धोएर’ हिडेका ओमबहादुर अधिकारीलाई मन्त्रालयले उल्टै पुरस्कृत गरेको भेटिएको छ । सो प्रकरणमा कलम चोप्न डराएर उनी नुवाकोटबाट मन्त्रालयमा भित्रिएका थिए । मन्त्रीसँग अधिकारी ‑अधिकारीको साइनो’ लगाउँदै जग्गा प्रशासन शाखा सम्हाल्दै आएका थिए । अहिले उनैलाई मन्त्री बलराम अधिकारी र सचिव अर्जुन पोखरेलले सम्बन्धित शाखाका कर्मचारीको नाम काटेर जिआइजेटको कार्यक्रममा मनोनयन गरेसँगै कर्मचारीहरु चिढिएका छन् । भूमि मन्त्रालयको गरिवि निवारण समन्वय शाखाले जिआइजेडको कार्यक्रम हेर्दै आएको छ । उपसचिव भोजराज श्रेष्ठ र शाखा अधिकृत युनिल राईले उक्त शाखा हेर्दै आएका छन् । जिआइजेडको कार्यक्रमका लागि दावेदार थिए उनै उपसचिव श्रेष्ठ र अधिकृत राई तर मन्त्री र सचिवले सम्बन्धित शाखाको कर्मचारीलाई बाइपास गरेर जग्गा प्रशासन शाखा हेर्दै आएका अधिकारीलाई मनोनयन गरेका छन् भने वैकल्पिकमा समेत प्रशासन शाखा हेर्ने कृष्ण भण्डारीको नाम राखेर पठाइएको छ ।
आगामी वैशाखमा हुन लागेको उक्त कार्यक्रममा असम्बन्धित कर्मचारी मनोनयन गरिएपछि मन्त्रालयका कर्मचारीमा असन्तृष्टि पोख्न थालेका छन् ।



































