काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई नेपाल फिर्ता पठाइदिने वातावरण बनाउन मलेसियाका गृह मन्त्रीलाई आग्रह गरेका छन् । दुई नेताबीचको टेलिफोन संवादमा मलेसियाका गृहमन्त्री सिफुद्धिन नासुसन बिन इजमाललाई यस्तो आग्रह गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
बिज्ञापन
चार दिनअघि मात्र लामिछानेले यसबारेमा मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतुन इस्माइलसँग कुराकानी गरेका थिए।पक्राउ गर्न रेड कर्नर नोटिस जारी भएको तीन महिना बितिसक्दा पनि फरार राईलाई प्रहरीले नेपाल ल्याउन सकेको छैन। उनी मलेसियामा बसेको सूचना पाएपछि गत माघ १२ गते इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गरिएको थियो। त्यसको दुई सातापछि माघ २९ गते फेरि रेड कर्नर नोटिस जारी भयो। तर, राई अझै प्रहरीको पकडमा छैनन्।
सूर्यदर्शन सहकरी र सुप्रिम सहकारीमा राई संलग्न भएर करोडौं रुपैयाँ अपचलन गरेको खुलेपछि पक्राउ गरेर नेपाल ल्याउनुपर्ने आवाज उठेको हो। गृहमन्त्रीको जिम्मेवारी सम्हालेको तीन महिना भइसक्दा पनि रवि लामिछानेले राईलाई ल्याउन पहल नगरेको भन्दै आलोचना भइरहेको छ। राई र लामिछानेले पहिला एकै संस्थामा रहेर काम गरेका थिए।
‘उहाँको गृहमन्त्रीसँग जीबी राईको विषयमा छलफल भएको थियो। कागजपत्र मिलाएर केही दिनमा नै पठाइदिने कुरा भएको छ,’ गृहमन्त्री लामिछाने स्रोतले भन्यो।
बिज्ञापन
त्यस्तै रेड कर्नर र डिफ्युजन नोटिस जारी भइसकेकपछि पनि राईलाई नपठाएकाले परराष्ट्र मन्त्रालयमार्फत गत फागुनमा नै कूटनीतिक पत्रसमेत पठाइएको थियो। तर, राईलाई नेपाल सरकारले मलेसियाबाट फर्काउन सकेको छैन।
सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने पनि आरोपित छन्। तर, पदसँगै प्रधानमन्त्री पुष्पकमल दाहालसँगै सत्ता गठबन्धनले उनलाई आड दिएको छ। राईलाई पक्राउ गरेर नेपाल फर्काए लामिछानेमाथि लागेको आरोपका विषयमा पनि थप तथ्य खुल्ने आस गरिएको छ। कास्की र बुटवलमा अहिले राई र लामिछाने जोडिएका मुद्दाका जाहेरी दर्ता भएका छन्।



































