काठमाडौँ । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण गरेका छन् । उनले प्रस्थान र आवगमनका दुवै कक्षसँगै कार्यालयको समेत निरीक्षण गरेका हुन् ।
बिज्ञापन
यात्रु प्रस्थान गर्ने तर्फबाटै यात्रु भएर विमानस्थल छिरेका गृह सचिव अर्यालले वायुसेवाका काउन्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरणसँगै ब्यागेज कसरी लोड हुन्छ भन्नेसम्मको निरीक्षण गरेक थिए ।यात्रुको जाँच हुने क्षेत्रको निरीक्षण गरेका उनले अध्यागमनमा डेक्स थप्नेलगायत भिभिआइपी कक्ष, सिसी क्यामेरा, कर्मचारीको कार्यकक्षसँगै अध्यागमन र सुरक्षा अवस्थाबारेसमेत निरीक्षण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ । सो अवसरमा उनले कुनै समस्या भए कार्यालय प्रमुखमार्फत मन्त्रालयमा पठाउनसमेत निर्देशन दिएका थिए
बिज्ञापन
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र गृह मन्त्रालयका सहसचिव एवं सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायणप्रसाद भट्टराईसहित अध्यागमन पुग्नु भएका गृहसचिव अर्यालले अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला, प्रमुख अध्यागमन अधिकृत नरबहादुर थापा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका हवाई सुरक्षा महाशाखा प्रमुख बच्चुराम श्रेष्ठ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका विजय ढुङ्गानालगायतलाई आ–आफ्नो क्षेत्रबाट सेवा प्रवाहलाई चुस्त राख्न निर्देशन दिएका थिए ।
अनुगमनकै क्रममा गृहसचिव अर्यालले भने, “उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्नुहोला । जुनजुन निकायको जे–जे जिम्मेवारी हो, तत्तत् निकायका कर्मचारीले इमान्दार भएर त्यो पूरा गर्नु, भएका उपकरणलाई समयमै मर्मत गरी तत्काल सञ्चालनमा ल्याउनुस् । भौतिक पूर्वाधारका मर्मत तथा निर्माणका कार्यहरु छिटो सक्नुस् ।”
बिज्ञापन
निरीक्षणका क्रममा गृहसचिव अर्यालले प्रमुख अध्यागमन अधिकृत नरबहादुर थापालाई अध्यागमनमा डेस्क थप्न भएको निर्णय कार्यान्वयमा ल्याउन, भिसा इन्ट्री डेक्स अपडेट राख्न, सबै डेक्समा कर्मचारीको व्यवस्था मिलाउन तथा बिग्रेको सामान तत्काल मर्मत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
कस्टममा एक्सरे मेसिन बनाउने, लगेज आउने बेल्टमा बिग्रिएको मेसिन बनाउने विषयमा अर्यालले निर्देशन दिएसँगै थापाले डेस्क थप्ने विषयमा क्यानबाट र तत्कालै थप्नुपर्ने मेसिन विभागबाट समयमै उपलब्ध गराएमा सहज हुने जानकारी सचिव अर्याललाई गराएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एसएसपी कृष्णहरि शर्माले विशेष गरी न्यून स्रोत साधन तथा जनशक्तिका बिच बढ्दो सेवाग्राहीको चापलाई व्यवस्थापन गरिहेको जानकारी गराए । अहिले २८ वटा मेसिन सञ्चालनमा रहेका छन् । जुन २४ घण्टा सञ्चालनमा रहन्छन् ।
उनले भने, “अहिले २८ वटा मेसिन सञ्चालनमा रहेका छन् । जुन २४ घण्टा सञ्चालनमा रहन्छन् । यसका लागि तीनवटा सिफ्टमा सञ्चालन गर्दा ८४ जना जनशक्ति आवश्यक पर्छ तर ६० जना प्रहरीले काम गरिरहेका छन् । यहाँ कम्तीमा पनि सय जना प्रहरी अधिकारी आवश्यक छ ।”
गृहसचिव अर्यालको आकस्मिक अनुगमनबाट आफूहरु उत्साहित भएको अध्यागमन अधिकृहरुको भनाई छ । ‘यसरी बेला बेला आएर हाम्रा कुरा सुनि दिँदा र यहाँको वास्तविकता बुझिदिँदा हौसला प्रदान हुँदो रहेछ,’ एक अध्यागमन अकिकृतले भने, ‘हामीले सेवाग्राहीलाई कसरी सेवा दिइरहेका छौँ भन्ने कुरा प्रत्यक्ष देखिन्छ पनि ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका विजय ढुंगानाले माथिल्लो निकायबाट समयसमय अनुगमन भयो भने कहि कतै कमजोरीहरु भएमा सच्चाउन सहज हुने बताए ।
‘कतिपय कमजोरीहरु सधै काम गर्नेले देखेको हुँदैन । थाहा नपाउन सक्छ,’ उनले भने, ‘यात्रुको गुनासो माथि पुगेको पनि हुन सक्छ । र गुनासो माथिबाट सम्बोधन गर्न सहज पनि हुन्छ ।’