अबदेखि गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाट पास पाइने भएको छ ।
बिज्ञापन
गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै भोलि, सोमबारदेखि अनलाइनबाटै प्रवेश पास पाइने जनाएको हो । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सिंहदरबारपास डट जीओभी डट एनपीमा जानुपर्ने बताए ।
उनका अनुसार सिंहदरवार प्रवेश पासका लागि मोबाइल वा कम्प्यूटरमा प्रयोगकर्ताले प्लेस्टोरमा सिंहदरवार पास डाउनलोड गरेर वा ब्राउजरमा सिंहदरवारपास डट जिओभी डट एनपी लग इन गरेर प्रवेश पास प्राप्त गर्न सक्छन् ।
अनलाइन प्रणालीबाट दिएको आवेदन गृह मन्त्रालयले स्वीकृत गरेपछि त्यसै प्रणालीमा प्रवेश पास क्युआर कोडमा उपलब्ध हुने प्रवक्ता भट्टराईले बताए । त्यहि क्युआर कोड प्रवेशका लागि सिंहदरवार गेटमा देखाउनुपर्ने छ । उनका अनुसार नागरिकले एक दिनदेखि तीन महिनासम्मको अस्थायी पास आवेदन गर्न सक्नेछन् ।
बिज्ञापन
यो व्यवस्था लागू भएपछि सर्वसाधारण नागरिकले सिंहदरवार प्रवेश गर्नका लागि सिंहदरवार भित्र रहेका निकायमा कार्यरत व्यक्तिलाई फोन गरेर नाम र ठेगाना टिपाएर सिंहदरबारको दक्षिणी गेटमा रहेको झ्यालमा लाइन लाग्दै कुरेर बस्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।


























