सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

   हिजोसम्म पद, प्रतिष्ठा र कार्यक्षेत्रको व्यस्ततामा दौडिरहेको मानसपटल जब अचानक अवकाशको बिन्दुमा पुग्छ, तब आम्दानीको शून्यता र समयको प्रचुरताबीच सन्तुलन मिलाउनु सबैभन्दा ठूलो चुनौती बन्न पुग्छ। यदि पूर्वयोजना र वैज्ञानिक व्यवस्थापन भएन भने, जीवनभरको पवित्र कमाइलाई महँगी, स्वास्थ्य संकट र भावनात्मक गल्तीहरूले धमिराले जस्तै भित्रभित्रै खाएर सिध्याउन सक्छन्। त्यसैले, बुढेसकाललाई कसैको भार नबनाई स्वाभिमानी र आनन्ददायी बनाउन आर्थिक सुरक्षाको फोर बास्केट रणनीति र स्वास्थ्यको थ्री लेयर कभर अपनाउनु अब विलासिता होइन, एक अनिवार्य विज्ञान हो।

बिज्ञापन

परिचय तथा अवकाश जीवनको पुनर्जागरण
मानव जीवनको घडीमा उमेरका सुइहरू कहिल्यै रोकिँदैनन्। पद, पावर र कार्यकक्षको टेबलमा झुण्डिएका नेमप्लेटहरू एकदिन अवश्य फेरिन्छन्। हिजोसम्म नौदेखि पाँचको व्यस्तताभित्र देश, संस्था र समाजको जिम्मेवारी बोकेका काँधहरू जब अचानक अवकाशको बिन्दुमा पुगेर रोकिन्छन्, तब जीवनको सबैभन्दा गम्भीर पुनर्लेखन सुरु हुन्छ।

बिज्ञापन

अवकाश जीवन अर्थात् रिटायर्ड लाइफ मानव जीवनको एउटा यस्तो महत्त्वपूर्ण कालखण्ड हो, जसलाई धेरैले सक्रिय व्यावसायिक यात्राको अन्त्यका रूपमा बुझ्ने गर्दछन्। तर वास्तविक अर्थमा यो जीवनको सुखद अन्त्य वा निष्क्रिय विश्राम मात्र नभएर आफ्नो इच्छा, रुचि र सर्त अनुसार स्वतन्त्रतापूर्वक बाँच्न पाइने एउटा नयाँ र सुनौलो सुखद इनिङ्सको सुरुवात हो। आफ्नो सम्पूर्ण उमेर र ऊर्जा नियमित जागिर, जटिल व्यवसाय वा मुख्य पेसागत जिम्मेवारीमा खर्चिएपछि मानिसले औपचारिक रूपमा विश्राम लिने र आफ्ना बाँकी दिनहरूलाई आफ्नै लयमा ढाल्ने अवसर नै अवकाश जीवन हो।

अवकाश र बुढ्यौलीको तात्त्विक भिन्नता
मानव जीवनको गतिशीलता नदीको प्रवाहजस्तै निरन्तर र अपरिवर्तनीय छ। बाल्यकालको चञ्चलता, युवावस्थाको ऊर्जा र वयस्क अवस्थाको चरम व्यस्तता पार गर्दै जाँदा प्रत्येक मानिसको जीवनमा एउटा यस्तो मोड आउँछ, जहाँ दैनिक दौडधुपको गति थोरै धिमा हुन्छ र विगतको सिंहावलोकन गर्दै भविष्यको क्षितिज नियाल्न थाल्छ। यही विशिष्ट मोड नै वास्तवमा अवकाशप्राप्त जीवन र वृद्ध अवस्थाको सन्धिकाल हो।

बिज्ञापन

हाम्रो नेपाली समाज र परम्परागत चिन्तनमा, सक्रिय व्यावसायिक वा पेसागत यात्राबाट अलग हुनु र बुढ्यौलीको फेरो समात्नुलाई एउटै डालोमा राखेर हेर्ने गरिन्छ। वर्षौंदेखिको नियमित दैनिकी, जागिरको दबाब र व्यवसायको दौडधुपबाट मुक्त भएर विश्राम लिनुलाई धेरैले सहज अवतरण त मान्दछन्, तर यसलाई जीवनकै सुखद अन्त्य वा निष्क्रिय बस्ने समय मात्र ठान्नु आधुनिक अर्थमा निकै ठूलो भूल हुन जान्छ।

अवकाश र बुढ्यौली एकै सिक्काका दुई पाटा जस्ता देखिए तापनि यिनीहरूको आन्तरिक आयाम र चरित्रमा तात्त्विक भिन्नता छ। अवकाश मुख्यतः एउटा प्रशासनिक, कानुनी र व्यावसायिक व्यवस्थापन हो, जसमा व्यक्तिले तोकिएको उमेर हद वा सेवा अवधि पूरा गरेपछि आफ्नो नियमित संस्थागत जिम्मेवारीबाट विश्राम लिन्छ। अर्कोतर्फ, बुढ्यौली प्रकृतिले निर्धारण गरेको एउटा अनिवार्य र जैविक प्रक्रिया हो, जसमा समयको गतिसँगै मानव शरीरका कोष र प्रणालीहरूमा बिस्तारै ह्रास आउँदै जान्छ।

यो जैविक र प्रशासनिक भिन्नता सुरक्षा निकायमा कार्यरत सैनिक वा प्रहरीहरूलाई हेर्दा प्रस्ट हुन्छ, जो ४०(४५ वर्षकै ऊर्जावान् उमेरमा अवकाशप्राप्त भई शारीरिक र मानसिक रूपमा उच्च क्षमतामै रहँदा दोस्रो इनिङ्सको खोजीमा लागिसकेका हुन्छन्। यसको विपरीत, समाजका कतिपय राजनीतिज्ञ, उद्योगपति वा कृषकहरू असी वर्षको उमेरमा पनि कुनै अवकाशविना उही सक्रियताका साथ आफ्नो कार्यक्षेत्रमा खटिरहेका भेटिन्छन्। त्यसैले, अवकाश जीवनको गति परिवर्तन गर्ने स्वेच्छिक वा कानुनी मोड हो भने बुढ्यौली प्रकृतिको अकाट्य सत्य हो।

लामो समयको कडा परिश्रम, हाकिमको खटनपटन, व्यावसायिक प्रतिस्पर्धा र उत्तरदायित्वको बोझपछि आउने अवकाशप्राप्त जीवनले आफ्ना अगाडि अनेकौँ सुनौला सम्भावना र सकारात्मक पक्षहरू बोकेको हुन्छ। हिजोसम्म घडीको सुइसँगै कुद्ने र नौ देखि पाँचको कठोर तालिकामा बाँधिने मानिसका लागि अवकाशपछि समयको पूर्ण स्वतन्त्रता प्राप्त हुन्छ। यो स्वतन्त्रता जीवनको उत्तरार्धमा आउने एउटा सुन्दर उपहार जस्तै हो, जहाँ समयको मालिक व्यक्ति स्वयं बन्दछ।

युवावस्थामा पारिवारिक जिम्मेवारी र जीविकोपार्जनको व्यस्तताका कारण त्याग्नुपरेका वा थाती राखिएका रुचिहरू, जस्तै—साहित्य सिर्जना, सङ्गीत, चित्रकला, घरको कौसी वा बगैँचामा काम गर्ने, पुस्तक पढ्ने वा देश विदेशको भ्रमण गर्ने अधुरा सपनाहरूलाई नयाँ जीवन दिने यो उपयुक्त अवसर हो। यसले कार्यक्षेत्रको दैनिक मानसिक दबाब र व्यावसायिक प्रतिस्पर्धाको तनावबाट मुक्ति दिलाएर मस्तिष्कलाई एउटा नयाँ शान्ति प्रदान गर्दछ। आर्थिक रूपमा पेन्सन वा पूर्वबचतको सुरक्षा भएका व्यक्तिहरूका लागि यो अवधि पारिवारिक सम्बन्धलाई थप सुमधुर बनाउने, नातिनातिनासँग गुणस्तरीय समय बिताउने र स्वावलम्बी भएर आत्मसम्मानका साथ जिउने स्वर्णिम कालखण्ड बन्न पुग्दछ।

अवकाश जीवनका अन्तर्निहित वित्तीय जोखिमहरू
यद्यपि, अवकाश जीवन जति आकर्षक र स्वतन्त्र देखिन्छ, यसका भित्री चुनौतीहरू उत्तिकै संवेदनशील, जटिल र गम्भीर छन्। पूर्वतयारीविना र अचानक आइलाग्ने अवकाशले जीवनमा नकारात्मक असरहरूको पहाड नै खडा गरिदिन सक्छ। समयको यो प्रचुरता र आम्दानीको शून्यताबीच सही सन्तुलन मिलाउन सक्नु नै अवकाश जीवनको सबैभन्दा ठूलो चुनौती हो। यदि यस संवेदनशील समयलाई सही तरिकाले, पूर्वयोजना सहित र वैज्ञानिक ढंगले व्यवस्थापन गर्न सकिएन भने आर्थिक अभाव त उत्पन्न हुन्छ नै, सँगसँगै मानसिक तनाव, एक्लोपन र हीनताबोधले पनि मानिसलाई गाँज्न सक्छ।

वित्तीय विशेषज्ञहरूले अवकाश जीवनका केही यस्ता मौन जोखिमहरूको चर्चा गरेका छन्, जसले कुनै हल्ला वा संकेत नै नगरी, भित्रभित्रै धमिराले जस्तै मानिसको सिङ्गो अवकाश कोषलाई खाएर रित्याइदिन्छन्। यसमा पहिलो दीर्घायुको जोखिम हो, जहाँ सामान्यतया ५८- ६० वर्षको उमेरमा अवकाश लिएर निश्चित खर्चको योजना बनाएका मानिसहरू आधुनिक चिकित्सा पद्धतिका कारण ९०- ९५ वर्षसम्म बाँच्दा अन्तिम चरणमा पैसा सकिएर अरूको भर पर्नुपर्ने दयनीय अवस्था आउन सक्छ। दोस्रो महँगीको जोखिम हो। महँगी एउटा यस्तो अदृश्य चोर हो, जसले पैसाको संख्या चोरी नगरे पनि त्यसको क्रयशक्तिलाई बिस्तारै घटाइदिन्छ। यदि अवकाशको पैसालाई बैंकको साधारण बचत खाता वा घरमै थन्क्याएर मात्र राखियो भने महँगीले त्यसको वास्तविक मूल्य कौडीको भाउमा पुर्‍याउँछ।

अर्को मुख्य जोखिम प्रतिफलको दरसँग जोडिएको छ। विशेष गरी सेयर वा वित्तीय बजारमा लगानी गरिएको अवस्थामा सुरुवाती वर्षहरूमै बजार घटेमा दैनिक घरखर्च चलाउन त्यही घटिरहेको पूँजीबाट जबरजस्ती पैसा निकाल्नुपर्दा मूल धन निकै सानो हुन पुग्छ। यसका साथै स्वास्थ्य उपचार खर्चको जोखिम अर्थात् ुमेडिकल इन्फ्लेसनु अर्को गम्भीर पाटो हो। उमेर बढ्दै जाँदा लाग्ने ठूला र अप्रत्याशित रोगहरूको उपचार खर्च सामान्य महँगीभन्दा तीव्र गतिमा बढ्छ। एउटै ठूलो बिरामीले दशकौँ लगाएर जम्मा गरिएको पवित्र बचतलाई केही दिनमै सिध्याउन सक्छ। बुढेसकाल लाग्दै जाँदा सही निर्णय लिन सक्ने मानसिक क्षमतामा ह्रास आउने हुँदा वृद्धवृद्धाहरू सजिलै वित्तीय ठगी वा गलत लगानीका सल्लाहकारहरूको सञ्जालमा फस्ने जोखिम पनि उत्तिकै रहन्छ। हिजोसम्म आदर पाइरहेको व्यक्ति भोलिपल्टैदेखि भूतपूर्वको परिचयमा खुम्चिँदा मानसिक रूपमा भूमिकाविहीनता र तीव्र एक्लोपनको पहिचान सङ्कट आइलाग्छ।

भावना र समाजका कारण गरिने गल्तीहरू
धेरैजसो मानिसहरूको अवकाश कोष बजारको घटबढ वा आर्थिक मन्दीका कारण नष्ट हुँदैन, बरु भावनात्मक दबाब, सामाजिक देखासिखी वा गलत जानकारीका कारण उनीहरूले गर्ने केही गम्भीर गल्तीहरूले गर्दा स्वाहा हुने गर्दछ। विशेष गरी भावनाको आवेगमा आएर धेरै आमाबाबुले अवकाश पाएलगत्तै छोराछोरीको व्यवसाय वा घरका लागि आफ्नो अवकाश कोषको ठूलो हिस्सा सुम्पिने गर्दछन्, जुन निकै खतरनाक गल्ती हो। त्यस्तै, अवकाशपछि तुरुन्तै नयाँ घरजग्गा वा अचल सम्पत्ति किन्नु अर्को अनुत्पादक कार्य हो, किनकि घरजग्गा सजिलै नगदमा परिणत हुन सक्दैन र यसले बुढेसकालको आकस्मिक अस्पताल खर्चमा तुरुन्तै साथ दिन सक्दैन।

पारिवारिक वा साथीभाइको सम्बन्ध जोगाउने नाममा व्यक्तिगत ऋण दिँदा पैसा पनि डुब्ने र आपसी सम्बन्ध पनि टुट्ने सम्भावना बढी हुन्छ। ६० वर्षको उमेरमा पुगेर नयाँ व्यवसाय सुरु गर्नु वा असुरक्षित लगानी गर्नु जीवनकै सबैभन्दा ठूलो विपत्ति बन्न सक्छ। यस अवस्थामा सेयर बजारमा डे(ट्रेडिङ वा फ्युचर्स एन्ड अप्सन्स जस्ता सट्टेबाजीमा लागेर अवकाशको पवित्र कोषलाई क्यासिनोको चिप्स जस्तो सम्झनु आत्मघाती कदम साबित हुन्छ। कानुनी रूपमा वसीयत वा इच्छापत्र तयार नगर्दा भविष्यमा परिवारमा कलह निम्तिन सक्छ। अर्कोतर्फ, मासिक प्रिमियम जोगाउने बहानामा स्वास्थ्य बीमा रद्द वा बन्द गर्नु बुढेसकालको सबैभन्दा ठूलो भूल हुन जान्छ।

आर्थिक सुरक्षाका लागि : फोर बास्केट रणनीति
बुढेसकालको सबैभन्दा ठूलो आत्मबल, साथी र सुरक्षा भनेकै आर्थिक स्वतन्त्रता हो। युवावस्थामा शारीरिक श्रम गरेर पैसा कमाउन सकिन्छ, तर अवकाशपछि शरीर कमजोर हुँदै जाँदा पैसाले नै मानिसको आत्मसम्मान र अस्तित्वको रक्षा गर्दछ। यसका लागि वित्तीय विज्ञहरूले ुफोर बास्केट रणनीतिु अर्थात् चारवटा भिन्न टोकरीको लगानी सिद्धान्त अपनाउन विशेष सुझाव दिएका छन्। यस वैज्ञानिक र सुरक्षित रणनीति अन्तर्गत आफ्नो कुल बचत वा अवकाश कोषलाई एकै ठाउँमा थुपारेर नराखी, पैसा चाहिने समय र आवश्यकताका आधारमा चार अलग–अलग भागमा विभाजन गरिन्छ।

पहिलो सुरक्षा बास्केट हो, जसको मुख्य उद्देश्य तत्काल आइपर्ने आकस्मिक र आपत्कालीन खर्चहरू टार्नु र शुरुआती एक वर्षको घरखर्चको जोहो गर्नु हो। यसलाई बैंकको साधारण ज्येष्ठ नागरिक बचत खाता वा छोटो अवधिको मुद्दती निक्षेपमा राख्नु सबैभन्दा सुरक्षित मानिन्छ। दोस्रो आम्दानी बास्केट हो, जसको एकमात्र उद्देश्य जागिर वा व्यवसाय नभए पनि हरेक महिना बैंक खातामा पैसा आउने सुनिश्चित गरी नियमित मासिक आवश्यकताहरू पूरा गर्नु हो। यसका लागि ज्येष्ठ नागरिक बचत योजना वा नागरिक बचतपत्र जस्ता सुरक्षित माध्यमहरूको प्रयोग गर्न सकिन्छ। तेस्रो वृद्धि बास्केट हो, जसको मूल उद्देश्य समयसँगै बढ्ने महँगीको चक्रव्यूहलाई जित्नु र बाँकी रहेको रकमको वास्तविक मूल्य बढाउनु हो। यसका लागि पाँचदेखि दस वर्षसम्म छुनु नपर्ने रकमलाई केही मात्रामा इक्विटी म्युचुअल फन्ड वा ब्लु-चिप कम्पनीहरूको सेयरमा क्रमशः लगानी गर्नुपर्छ। चौथो स्वास्थ्य उपचार बास्केट हो, जसको लक्ष्य बुढेसकालमा लाग्ने ठूला र अचानक आउने मेडिकल खर्चहरूबाट आफ्नो मूल अवकाश कोषलाई जोगाउनु हो।

यो फोर बास्केट रणनीतिले एकआपसमा निकै प्रभावकारी रुपमा काम गर्दछ। मानिसले आफ्नो दैनिक जीवन पहिलो र दोस्रो बास्केटको पैसाबाट चलाउँछन् भने त्यतिन्जेलसम्म तेस्रो वृद्धि बास्केटमा भएको पैसा बजारको नियम अनुसार बिस्तारै बढिरहेको हुन्छ। जब पहिलो र दोस्रो बास्केटको पैसा घट्दै जान्छ, तब तेस्रो बास्केटबाट भएको नाफा निकालेर ती बास्केटहरूलाई पुनः भरिन्छ, जसले गर्दा पैसा कहिल्यै सकिँदैन।

स्वास्थ्य र थ्री–लेयर हेल्थकेयर रणनीति
स्वास्थ्य रक्षाका लागि सबैभन्दा महत्त्वपूर्ण रणनीति ुथ्री–लेयर हेल्थकेयर रणनीतिु अर्थात् तीन तहको स्वास्थ्य सुरक्षा कभर लागू गर्नु हो। यसको पहिलो तहमा एउटा बलियो र आधारभूत स्वास्थ्य बीमा पोलिसी हुनुपर्छ, जसलाई अवकाश लिनुअघि नै लिइसक्नुपर्छ। यो पहिलो तहले अस्पताल भर्ना हुँदा लाग्ने सामान्य र मध्यम खालका उपचार खर्चहरू बेहोर्छ। दोस्रो तहमा सुपर टप अप बीमा योजना कभर हुन्छ, जसले क्यान्सर वा मुटुरोग जस्ता गम्भीर बिरामीका कारण पहिलो बीमाको रकमले नपुग्दा अतिरिक्त सुरक्षा प्रदान गर्दछ।

तेस्रो तहमा समर्पित स्वास्थ्य उपचार कोष अर्थात् मेडिकल बफर क्यास तयार राख्नुपर्छ। आफ्नो मुख्य अवकाश कोषभन्दा छुट्टै ५ देखि १० लाख रुपैयाँ नगद वा सजिलैका साथ निकाल्न मिल्ने फिक्स डिपोजिटमा राख्दा अस्पताल भर्ना हुनासाथ धरौटी राख्न वा बीमाले नछोएका बिलहरू तिर्न आफ्नो मुख्य लगानी बेच्नुपर्ने अवस्था आउँदैन। स्वास्थ्य बीमा र उपचार कोषका अतिरिक्त दैनिक कम्तीमा ३० देखि ४५ मिनेट हल्का हिँडडुल, मर्निङ वाक वा योग गर्ने बानी बसाल्नुपर्छ र खानपानमा विशेष नियन्त्रण राख्नुपर्छ।

पारिवारिक सन्तुलन र सामाजिक मानसिक सक्रियता
बुढेसकाल र अवकाश जीवनको सबैभन्दा सुरक्षित ओत लाग्ने ठाउँ र छहारी भनेकै परिवार हो। तर परिवारभित्र सुख र शान्ति कायम राख्नका लागि दूरी र निकटताको एउटा सूक्ष्म र सुन्दर सन्तुलन आवश्यक पर्दछ। धेरैजसो मानिसहरू अवकाश पाउने बित्तिकै परिवारका सबै सदस्यहरूको आर्थिक जिम्मेवारी आफ्नै टाउकोमा लिने गल्ती गर्छन्। वास्तवमा बुढेसकालमा आफू आर्थिक रूपमा आत्मनिर्भर हुनु र कसैको भार नबन्नु नै आफ्नो परिवारका लागि दिन सकिने सबैभन्दा ठूलो र अमूल्य उपहार हो। परिवारमा सम्बन्ध सुमधुर राखिराख्न छोराछोरी वा नातिनातिनाको व्यक्तिगत निर्णय वा जीवनशैलीमा धेरै गनगन गर्ने वा आफ्नो विचार जबरजस्ती थोप्ने काम गर्नु हुँदैन। उनीहरूलाई आफ्नै ढंगले निर्णय लिन दिनुपर्छ, जसले गर्दा पुस्तान्तरणको खाडल कम हुन्छ र आपसी सम्बन्धमा आदर एवं मधुरता कायम रहन्छ। यसको सट्टा परिवारसँग क्वालिटी टाइम बिताउनमा ध्यान केन्द्रित गर्नुपर्छ। जागिर वा कामबाट अवकाश पाउनु भनेको समाज, देश वा जीवनबाटै अलग भएर एक्लो हुनु कदापि होइन। मानिसका रूपमा सधैँ सक्रिय र खुसी रहनका लागि सामाजिक जीवन पनि उत्तिकै बलियो हुन जरुरी छ। अवकाशपछि एक्लोपनले गर्दा धेरै मानिसहरू डिप्रेसनको सिकार हुने गर्दछन्, जसबाट बच्न सामाजिक अन्तर्क्रिया एउटा अचुक औषधि हो।

मानसिक रूपमा व्यस्त रहनका लागि पुराना रुचिहरू, जस्तै पुस्तक पढ्ने, बगैँचामा काम गर्ने, वा संगीत सिक्ने कार्यमा आफ्नो समय बिताउनुपर्छ। यस्ता रचनात्मक कार्यहरूले दिमागलाई सधैँ गतिशील राख्छन्, जसले गर्दा बुढेसकालमा हुने मानसिक ह्रास वा बिर्सने रोगबाट सजिलै जोगिन सकिन्छ। त्यस्तै, स्थानीय सामाजिक संस्थाहरू, टोल सुधार समितिहरू वा परोपकारी गतिविधिहरूमा निःशुल्क स्वयंसेवकका रूपमा जोडिन सकिन्छ। समाजका लागि आफूले केही योगदान दिन सकिरहेको छु भन्ने भावनाले मानिसमा आत्मसन्तुष्टि बढाउँछ। आजको डिजिटल युगमा पुराना साथीभाइसँग जोडिन र एक्लोपन हटाउनका लागि आधुनिक प्रविधिको न्यूनतम ज्ञान सिक्नु पनि उत्तिकै फलदायी हुन्छ।
राज्यको दायित्व र निष्कर्षात्मक सन्देश
आधुनिक समाज र राज्यले अवकाशप्राप्त जनशक्तिलाई कहिल्यै पनि थन्किएको वा काम नलाग्ने वस्तुका रूपमा हेर्नु हुँदैन। यो वर्ग भनेको वास्तवमा देशको एउटा यस्तो मूल्यवान् पूँजी हो, जसको सही सदुपयोग गर्न सके मुलुकले ठूलो लाभ लिन सक्छ। घरको कुशल व्यवस्थापन गर्न, संकटको समयमा परिपक्व निर्णय लिन र नातिनातिनालाई नैतिक शिक्षा एवं पारिवारिक इतिहासको पुस्तान्तरण गर्न ज्येष्ठ सदस्यको भूमिका अपरिवर्तनीय हुन्छ। राज्यस्तरमा त झन् अवकाशप्राप्त इन्जिनियर, डाक्टर, प्राध्यापक र प्रशासकहरूको विशेषज्ञतालाई नीति निर्माण र रणनीतिक योजनाहरूमा सल्लाहकारका रूपमा उपयोग गर्न सकिन्छ। उनीहरूको लामो अनुभवलाई युवा पुस्ताको क्षमता विकासका लागि तालिम र अनुसन्धानमा जोड्न सके राज्यले निकै कम लागतमा ठूलो बौद्धिक लाभ प्राप्त गर्न सक्दछ।

निष्कर्षमा, धन आर्जन गर्नु र जम्मा गर्नु एउटा कला मात्र हो, तर त्यसलाई सही ढङ्गले व्यवस्थापन गरेर जीवनको अन्तिम दिनसम्म सम्मानपूर्वक टिकाइराख्नु एउटा पूर्ण विज्ञान हो। अवकाश जीवन मानव जीवनको उत्तरार्ध अवश्य हो, तर यो पराश्रित वा बोझ हुनुपर्छ भन्ने छैन। म काम नलाग्ने भएँ भन्ने हीनताबोधलाई मस्तिष्कबाट पूर्ण रूपमा फालेर, मैले देश र समाजप्रतिको आफ्नो कर्तव्य निष्ठापूर्वक पूरा गरेँ, अबको समय मेरो आफ्नै खुसीका लागि होू भन्ने गौरवभाव राख्न सक्नुपर्छ।

अवकाश जीवनमा आइपर्ने आर्थिक संकट र स्वास्थ्य समस्याहरूबाट बच्नका लागि पूर्वतयारी नै एकमात्र अचुक उपाय हो। वित्तीय सुरक्षाका लागि फोर बास्केट रणनीति र स्वास्थ्य सुरक्षाका लागि थ्री–लेयर हेल्थकेयर रणनीति को पूर्ण पालना गर्नु अत्यन्तै जरुरी छ। भावनाको आवेगमा आएर आफ्नो मूलपूँजी नष्ट नगर्ने, जोखिमयुक्त सट्टेबाजीबाट टाढा रहने र परिवार एवं समाजसँग मधुर सम्बन्ध कायम राख्ने हो भने बुढेसकाल कसैको भार बन्दैन। योजनाबद्ध रूपमा अघि बढेमा मात्र प्रत्येक नागरिकले आफ्नो अवकाश जीवनलाई सुरक्षित, स्वाभिमानी, आदरपूर्ण र आनन्ददायी रूपमा बिताउन सक्छन् र यो नै समृद्ध समाजको वास्तविक सूचक हुनेछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष