काठमाडौं । रसुवामा बाढीले वितण्डा मच्चाएपछि त्रिशूली ब्यारेकमा हेलिकप्टरको चहलपहल बढेको थियो। बाढीले सडक र सम्पर्कका बाटा अवरुद्ध बनाएका बेला आकाशबाट उद्धार र राहत पुर्याउनु नै प्रभावितसम्म पुग्ने मुख्य माध्यम बनेको थियो। तर, हेलिकप्टर उडाउन इन्धन चाहिन्थ्यो। यही ठाउँमा नेपाल आयल निगमका अधिकारीहरूको अर्को चुनौती सुरु भयो—उद्धार रोक्न नदिने गरी इन्धनको निरन्तर आपूर्ति।
बिज्ञापन
बुधबार त्रिशूली ब्यारेकमा पठाइएको १२ हजार लिटर हवाई इन्धन एकै दिनमा सकियो। बिहीबार बिहानदेखि उद्धारमा खटिएका हेलिकप्टरमा इन्धन भर्न थालिएपछि साँझसम्म मौज्दात सकिन लागेको खबर आयो। उद्धार अभियान चलिरहेको थियो, त्यसैले इन्धन अभावका कारण एउटा पनि उडान रोकिनु हुँदैनथ्यो।
बिज्ञापन
यही अवस्थालाई मध्यनजर गर्दै नेपाल आयल निगमको हवाई इन्धन कार्यालय, सिनामंगलका प्रमुख प्रदीप यादव तत्काल सक्रिय भए। साँझ नपर्दै ९ हजार लिटर हवाई इन्धन बोकेको डिस्पेन्चर त्रिशूली ब्यारेक पठाउने तयारी भयो।
‘बुधबार पठाएको एक ट्यांकर तेल बिहीबार बिहानबाट उद्धारमा खटिने हेलिकप्टरमा हाल्न थालिएको थियो। साँझसम्म सकिने अवस्था भएपछि आजै थप इन्धन पठाएका हौँ,’ यादवले भने।
सामान्य अवस्थामा इन्धन आपूर्ति व्यवस्थापन एउटा नियमित प्रशासनिक काम हुन सक्छ। तर बाढीपीडितको उद्धारमा प्रयोग भइरहेको हेलिकप्टरको इन्धन सकिन लागेको अवस्थामा त्यसलाई नियमित प्रक्रियामा मात्र छाडेर पुग्दैन। समयसँग दौडिनुपर्छ। यादवले त्यही गरे।
बिज्ञापन
इन्धन बोकेको डिस्पेन्चर सिनामंगलबाट त्रिशूलीतर्फ अघि बढ्दा निगमका कार्यकारी निर्देशक नागेन्द्र साह पनि उपस्थित थिए। उद्धार र राहत वितरणका लागि हुने हेलिकप्टर उडानमा इन्धनको कुनै समस्या हुन नदिने उनको प्रतिबद्धता थियो।
यसबीच अर्को व्यावहारिक चुनौती पनि थियो। लामो दूरीसम्म रिफ्युलरमार्फत हवाई इन्धन ढुवानी गर्नु उपयुक्त थिएन। त्यसैले रामेछापको मन्थली विमानस्थलमा रहेको डिस्पेन्चर काठमाडौं झिकाइयो। सिनामंगल डिपोका उपनिर्देशक रामहरी निरौलाका अनुसार बिहीबार बिहानै मन्थलीबाट डिस्पेन्चर काठमाडौं ल्याउने निर्देशन दिइएको थियो। सडकमार्ग हुँदै काठमाडौं आइपुगेपछि त्यही डिस्पेन्चरमा इन्धन भरेर त्रिशूली पठाइयो।त्रिशूली ब्यारेकमा यसअघि नै एउटा रिफ्युलर तयारी अवस्थामा थियो। डिस्पेन्चर राति ब्यारेक पुग्नेबित्तिकै त्यसमा रहेको इन्धन रिफ्युलरमा खन्याउने र त्यसपछि हेलिकप्टरमा सोझै इन्धन भर्ने व्यवस्था मिलाइएको थियो।
यसले उद्धार अभियानमा इन्धन आपूर्तिलाई केवल ‘ट्यांकर पठाउने’ विषयबाट माथि उठाएर समय, सुरक्षा र प्राविधिक व्यवस्थापनसँग जोडिएको अपरेसन बनाएको देखिन्छ।यादवको नेतृत्वमा सिनामंगलस्थित हवाई इन्धन कार्यालयका कर्मचारीहरू पनि यही अभियानमा खटिएका छन्। त्रिशूलीमा उद्धार र राहत वितरणको काम चलिरहँदासम्म आवश्यकताअनुसार प्रत्येक दिन डिस्पेन्चरबाट हवाई इन्धन पठाउने तयारी गरिएको छ।
डिस्पेन्चरबाट रिफ्युलरमा इन्धन अनलोड गर्दा एक तह फिल्टर हुने र त्यसपछि रिफ्युलरको पाइपबाट हेलिकप्टरमा इन्धन भर्ने व्यवस्था छ। अर्थात् उद्धारको संवेदनशील अवस्थामा इन्धनको उपलब्धतासँगै त्यसको सुरक्षित आपूर्तिलाई समेत प्राथमिकतामा राखिएको छ।
बाढीले मानिसको घर, सडक र पूर्वाधार बगाइरहेको बेला उद्धारमा खटिएका हेलिकप्टरहरूका लागि इन्धनको अभाव हुन नदिन यादवले देखाएको सक्रियता भने फरक खालको ‘मैदानको काम’ बनेको छ।
कागजमा एउटा डिस्पेन्चर पठाउने निर्णय सामान्य देखिएला। तर त्यसको पछाडि मन्थलीबाट उपकरण झिकाउनेदेखि सिनामंगलमा इन्धन भर्ने, त्रिशूलीसम्म रातारात पुर्याउने र त्यहाँबाट हेलिकप्टरमा इन्धन भर्ने सम्पूर्ण संयन्त्र परिचालन भएको छ।
बाढीपीडितलाई उद्धार गर्न हेलिकप्टर आकाशमा उडिरहँदा त्यसलाई उडाइराख्ने इन्धनको व्यवस्थापनमा भने प्रदीप यादव नेतृत्वको टोली जमिनमा निरन्तर दौडिरहेको छ। उद्धार अभियान नसकिएसम्म यो दौड रोकिने छैन।

























