काठमाडौं । पूर्वी सीमा क्षेत्रमा तस्करी नियन्त्रणमा खटिएका सशस्त्र प्रहरी कर्मचारी नै तस्करसँग मिलेमतोमा रहेको आशंकापछि सशस्त्र प्रहरी बलले दुई डीएसपीसहित ११ जना कर्मचारीमाथि विभागीय छानबिन अघि बढाएको छ।
बिज्ञापन
स्रोतका अनुसार झापा, सुनसरी र मोरङका विभिन्न सीमा नाकामा कार्यरत कर्मचारीमाथि गरिएको आन्तरिक अनुगमनका क्रममा तस्करीमा संलग्न समूहसँग अस्वाभाविक सम्पर्क र जिम्मेवारी विपरीत गतिविधि देखिएपछि उनीहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरी मुख्यालयमा झिकाएर कानुन निर्देशनालयमार्फत अनुसन्धान सुरु गरिएको हो।
बिज्ञापन
छानबिनमा परेका अधिकृतमध्ये सुनसरी सीमा सुरक्षा गुल्मका डीएसपी शमशेर कार्की र यसअघि काँकडभिट्टामा कार्यरत भई हाल इलाममा रहेका डीएसपी लोकनाथ उप्रेती पनि छन्। प्रारम्भिक अनुसन्धानले पूर्वी क्षेत्रमा विभिन्न युनिटको नेतृत्व गरेका केही अधिकृत र तस्करी समूहबीच शंकास्पद सम्बन्ध देखिएको स्रोतको दाबी छ।
डीएसपीहरू बाहेक बोर्डर आउट पोस्ट (बिओपी) लौकहीका इन्स्पेक्टर नरेन्द्र चन्द, नम्बर–३८ रिजर्भ गणका हवल्दार हरि मगर र केशव गुरुङ, नम्बर–२ गण झापाका हवल्दार विश्वास राजवंशी, पूर्व क्षेत्रीय अस्पताल सुनसरीका सई गणेश खड्का तथा नम्बर–४ गण सुनसरीका जवान पारस यादव लगायत अन्य कर्मचारी पनि अनुसन्धानको दायरामा छन्।
बिज्ञापन
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले संगठनको नीति विपरीत गतिविधि र अनुगमनका क्रममा देखिएका कमजोरीका आधारमा केही कर्मचारीलाई मुख्यालय बोलाएर कानुन निर्देशनालयमार्फत छानबिन भइरहेको पुष्टि गरे। उनका अनुसार अनुसन्धान पूरा भएपछि तथ्यका आधारमा आवश्यक विभागीय कारबाही गरिनेछ।
मुख्यालयको अनुगमनका क्रममा सीमा क्षेत्रमा खटिएका केही सुरक्षाकर्मी र भन्सार कर्मचारीबीच मिलेमतो गरेर भन्सार छल्ने काम भएको संकेत पनि भेटिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार वास्तविक मूल्यभन्दा निकै कम मूल्यांकन गरी भन्सार रसिद काट्ने र त्यसबाट तस्करलाई फाइदा पुग्ने गरी काम भएको आशंकामाथि पनि अनुसन्धान केन्द्रित गरिएको छ।
सशस्त्र प्रहरीले छानबिन निष्कर्षमा नपुग्दासम्म कसैलाई दोषी ठहर नगरिएको स्पष्ट गर्दै अनुसन्धानलाई निष्पक्ष र तथ्यमा आधारित बनाइने जनाएको छ।




























