काठमाडौं । सरकारी निकायमा एक पटक पेश गरिएको व्यक्तिगत विवरण फेरि–फेरि भर्नुपर्ने झन्झट हटाउने उद्देश्यका साथ राष्ट्रिय किताबखानाले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। अब लोक सेवा आयोगमार्फत नियुक्त भएका नयाँ कर्मचारीले आयोगमा पेश गरेको व्यक्तिगत विवरण राष्ट्रिय किताबखानाको विद्युतीय प्रणालीमा स्वतः भरिने व्यवस्था गरिएको हो।
बिज्ञापन
यसका लागि राष्ट्रिय किताबखाना र लोक सेवा आयोगबीच प्रणालीगत अन्तरसम्बन्ध स्थापना गर्ने समझदारी भएको छ। आयोगका सचिव रामेश्वर दंगालको उपस्थितिमा आयोजित कार्यक्रममा राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल र लोक सेवा आयोगका सहसचिव पुरुषोत्तम शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
बिज्ञापन
सरकारले स्वीकृत गरेको शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत सार्वजनिक सेवा प्रवाहमा सरकारी निकायबीच सूचना तथा प्रणालीको अन्तरसम्बन्ध कायम गरी नागरिकले एउटै विवरण एक पटक मात्र पेश गरे पुग्ने व्यवस्था लागू गर्ने लक्ष्य राखिएको छ। सोही लक्ष्यअनुसार राष्ट्रिय किताबखानाले आफ्नो प्रणालीमा स्वतः विवरण भर्ने सुविधा विकास गरी लोक सेवा आयोगको प्रणालीसँग जोडेको जनाएको छ।
राष्ट्रिय किताबखानाले तीन महिनाअघि नै नयाँ नियुक्त कर्मचारीका लागि विद्युतीय सेवा पुस्तिका दर्ता सेवा सञ्चालनमा ल्याएको थियो। उक्त सेवामार्फत कर्मचारीले घरबाटै मोबाइल, ल्यापटप वा डेस्कटप प्रयोग गरी सेवा पुस्तिका दर्ता, संकेत नम्बर प्राप्त तथा प्रमाणित सेवा पुस्तिका डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको छ।
अब भने लोक सेवा आयोगले प्रदान गरेको मूल परिचय नम्बर प्रविष्ट गर्नेबित्तिकै कर्मचारीको नाम, थर, बाबु–आमाको नाम, बाजेको नाम, वैवाहिक अवस्था, स्थायी तथा अस्थायी ठेगाना, शैक्षिक योग्यता, नागरिकता नम्बर, जारी मिति, जारी जिल्ला लगायतका व्यक्तिगत विवरण स्वतः प्रणालीमा भरिनेछ। यससँगै पहिलेजस्तै एउटै विवरण पटक–पटक भर्नुपर्ने र प्रमाण कागजात बारम्बार पेश गर्नुपर्ने बाध्यता हट्ने भएको छ।
बिज्ञापन
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार दुवै निकायका प्राविधिक टोलीले प्रणालीगत सबै तयारी पूरा गरिसकेको छ। समझदारीपत्रले केवल नीतिगत आधार प्रदान गरेको र अब सेवा पूर्ण रूपमा कार्यान्वयनमा जाने उनले बताए।
उनका अनुसार विद्युतीय सेवा पुस्तिका दर्ता सेवा सञ्चालनमा आएयता लक्षित सबै नयाँ कर्मचारीले यस सेवाको उपयोग गरिरहेका छन्। यो सेवा अत्यन्त प्रभावकारी र लोकप्रिय बनेको पनि उनले बताए।
राष्ट्रिय किताबखानाका अनुसार नयाँ व्यवस्थाले सेवाग्राहीको समय, श्रम र खर्च बचत गर्नुका साथै व्यक्तिगत विवरणको शुद्धता, एकरूपता, विश्वसनीयता र गुणस्तरसमेत सुनिश्चित हुनेछ। यसले सरकारी सेवा प्रवाहलाई थप सरल, छिटो र सेवामैत्री बनाउने विश्वास गरिएको छ।




























