नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि आज पेसी तोकेको छ ।यस प्रकरणमा दुई पूर्वमन्त्री,पूर्वसचिवसहित १६ जना मुख्य कसुरदार ठहरिएका छन् । ३१ जना प्रतिवादी रहेको यो मुद्दामा १६ जना दोषी ठहर छन् भने सात जनाले सफाइ पाएका छन्। आठ जना फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको छ।
बिज्ञापन
सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १६ जना दोषी ठहर भएका छन् । मुद्दा दायर भएको तीन वर्षपछि जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले गत साता उनीहरूलाई दोषी ठहर गरेको हो । अदालतले रायमाझी, खाण र पाण्डेसहित गिरोहका केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गोविन्द चौधरी, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, बिचौलिया हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको हो । यस्तै अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाईं, नीरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सावदेन लिम्बू र सुनील बुढाथोकी फरार छन् ।
बिज्ञापन
दोषी ठहर भएका विरुद्ध सजाय निर्धारणका लागि आज पेशी तोकिएको हो । फौजदारी कार्यविधि अनुसार गम्भीर प्रकृतिका मुद्दामा कसुर ठहर भइसकेपछि सजाय निर्धारणका लागि छुट्टै पेसी तोक्नुपर्ने कानुनी प्रावधानबमोजिम अदालतले आज कसुर निर्धारण गर्न लागेको हो । आज न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय निर्धारण गर्नेछ।





























