नेपाल–भारत सीमास्थित पूर्वी नाका काँकरभिट्टाबाट ठूलो परिमाणको सुन र विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। सुरक्षा निकायले विशेष सूचनाका आधारमा निगरानी बढाइरहेका बेला भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक व्यक्तिबाट डेढ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको सुन तथा अमेरिकी डलर बरामद भएको हो।
बिज्ञापन
पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल, कोलकाताका ३९ वर्षीय परम पाठक रहेका छन्। उनी सिटी सफारीमार्फत नेपालतर्फ आउँदै गर्दा मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टा भन्सार क्षेत्रमा संयुक्त सुरक्षा टोलीको निगरानीमा परेका थिए।
सुरक्षा स्रोतका अनुसार शंकास्पद गतिविधि देखिएपछि सुरक्षाकर्मीले विस्तृत जाँच गरेका थिए। त्यसक्रममा उनले शरीर तथा सामानमा लुकाइछिपाइ ल्याएको ५७० ग्राम सुन फेला परेको थियो। बरामद सुनको बजार मूल्य करिब १ करोड ४४ लाख ३० हजार ८१५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, पाठकको साथबाट २० हजार अमेरिकी डलर समेत बरामद गरिएको छ। उक्त रकम नेपाली मूल्यमा करिब ३० लाख ६५ हजार रुपैयाँ बराबर पर्ने जनाइएको छ। साथै ८५ हजार ४१० भारतीय रुपैयाँ नगद पनि फेला परेको प्रहरीले जानकारी दिएको छ।
बिज्ञापन
प्रहरीले उनीसँग रहेका विभिन्न कागजात तथा विद्युतीय सामग्री पनि नियन्त्रणमा लिएको छ। बरामद सामग्रीमा भारतीय आधार कार्ड, ड्राइभिङ लाइसेन्स, दुई थान मोबाइल फोन, हार्ड डिस्क, सिम कार्ड, भिसा कार्ड र चेक रहेका छन्।
सीमावर्ती क्षेत्रमा पछिल्लो समय सुन तथा विदेशी मुद्रा तस्करीका गतिविधि बढ्न थालेपछि सुरक्षा जाँचलाई कडा पारिएको सुरक्षा अधिकारीहरूको भनाइ छ। काँकरभिट्टा नाका नेपाल–भारत आवतजावत तथा व्यापारको प्रमुख प्रवेशद्वार भएकाले सुरक्षा निगरानी थप प्रभावकारी बनाइएको जनाइएको छ।
प्रहरीले बरामद सुन र विदेशी मुद्राको स्रोत, ओसारपसारको उद्देश्य तथा यसमा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषयमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।



































