सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा, सिंहदरबारमा कार्यालय समयभित्र आवेदन बुझाउनुपर्नेछ।
नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा २७(१) अनुसार नियुक्त गरिने रजिष्ट्रार पदका लागि उम्मेदवारले इन्जिनियरिङ विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै सरकारी वा गैरसरकारी क्षेत्रमा इन्जिनियरिङ विषयमा न्यूनतम १० वर्षको कार्य अनुभव अनिवार्य गरिएको छ।
उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार, राहदानी दुरुपयोग, अपहरण लगायत नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको व्यक्ति मात्रै आवेदनका लागि योग्य हुने मन्त्रालयले जनाएको छ।
त्यसैगरी कालोसूचीमा नपरेको, विदेशी स्थायी आवासीय अनुमति (PR) नलिएको तथा कुनै गैरसरकारी संस्थाको कार्यकारी पदमा कार्यरत नरहेको हुनुपर्ने शर्त पनि राखिएको छ।
आवेदन दस्तुर ५ हजार रुपैयाँ तोकिएको छ। उक्त रकम राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबारस्थित राजस्व खातामा जम्मा गरी सक्कल भौचर पेश गर्नुपर्नेछ।
उम्मेदवारले आवेदनसँगै शैक्षिक योग्यता, अनुभव र सम्पर्क विवरणसहितको विस्तृत बायोडाटा, नागरिकता तथा अनुभव खुल्ने कागजातहरू स्वप्रमाणित गरी पेश गर्नुपर्नेछ।
सबैभन्दा चासोको विषय भने उम्मेदवारले अधिकतम ५ हजार शब्दभित्रको ‘व्यावसायिक कार्ययोजना (Business Action Plan)’ सिलबन्दी खाममा बुझाउनुपर्ने व्यवस्था हो। मन्त्रालयले यसलाई मूल्यांकनको महत्वपूर्ण आधार बनाउने संकेत गरेको छ।




































