नेपाल सरकारका अर्काे सहसचिवले पदबाट राजीनामा दिएका छन् । वालेन नेतृत्वको सरकार बनेसँगै शाखा अधिकृत,उपसचिवदेखि सहसचिव तहका १० जना कर्मचारीहरुले हालसम्म राजीनामा दिइसकेका छन् । पछिल्लो समय स्वास्थ्य सेवा विभागका महानिर्देशक केशर ढकालले पदबाट राजीनामा दिएका हुन । ढकालले असार ४ गतेसम्म बिदा लिँदै महानिर्देशक पदबाट राजीनामा दिएका हुन्। सोही मितिबाट उनी अनिवार्य अवकाशमा जान लागेका छन्। उनको अनुपस्थितिमा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा अनुज भट्टचनलाई दिइएको छ।
बिज्ञापन
पछिल्लो समय निजामती सेवामा दिनेको लर्को लागेको छ । लोक सेवा आयोगको उच्च प्रतिस्पर्धाबाट सेवामा प्रवेश गरेका निजामती कर्मचारीले बीचमै राजीनामा दिएर जागिर छाड्ने क्रम बढ्दै गएको छ । यसरी बीचमै जागिर छाड्नेमा तल्ला तहका कर्मचारीहरुदेखि सहसचिव तहसम्मका कर्मचारीहरु रहेका छन् । यस अघि खानेपानी मन्त्रालयका सहसचिव बालमुकुन्द श्रेष्ठले सेवा अवधि बाँकी छँदै पदबाट राजीनामा दिएका थिए । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकको भूमिकामा रहेका उनी सेवा अवधि बाँकी छँदै राजीनामा दिएर हिडेका थिए । यस्तै नयाँ सरकार बनेसँगै उपसचिव नवराज ओझा र भोजबहादुर ऐडीले राजीनामा दिइसकेका छन् । यसरी राजीनामा दिएकामध्ये ओझालाई डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको थियो । उनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए । सेवा अवधि एक वर्ष मात्रै रहेको तथा स्थानीय तहमा काम गरेको अनुभव नभएकाले ओझाले राजीनामा दिएको बताइएको छ ।
यस्तै, बाजुराको बुढीगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका उपसचिव ऐडीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर राजीनामा बुझाएका छन् । उनलाई मन्त्रालयले २०८२ पुसमा नै बुढीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो । त्यसको दुई महिनापछि नगरपालिकामा हाजिर भएका ऐडी एक साता बसेर फर्किएका थिए । गत १६ चैतमा मन्त्रालयले पुनः सोही नगरपालिकामा खटाएपछि ५६ वर्षीय ऐडीले राजीनामा दिएका हुन् ।
रास्वपाको सरकार बनेको महिना दिन पुग्दैछ । यो अवधिमा १० कर्मचारीहरुले राजीनामा दिएका छन् । उपसचिव भीम कोइरालाले राजिनामा दिएका छन् । गृह मन्त्रालयले कोइरालाको सरुवा डोल्पाका प्रमुख जिल्ला अधिकारीबाट पाँचथरमा सहायक प्रमुख जिल्ला अधिकारीबाट सहायक प्रमुख जिल्ला अधिकारी खान नगई उनले राजीनामा दिएका छन् । उता सामान्य प्रशासनमा यो बीचमा शाखा अधिकृत गणेश घिमिरे, चुणामणि केसी,हरि पौडेल,शेखरनिधि पौडेलले राजीनामा दिइसकेका छन् ।
बिज्ञापन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार,घिमिरेलाई अछामको मल्लेख गाउँपालिका पठाइएको थियो । जेनजी विद्रोह पछि सार्वजनिक प्रशासन रूपान्तरण अभियानका संयोजकसमेत रहेका घिमिरेले सोमबार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिवसमक्ष राजीनामा बुझाएका हुन । यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अध्यागमन अधिकृत जिम्मेवारीमा रहेका केसीलाई सामान्य प्रशासन मन्त्रालयले सल्यानको कुमाख गाउँपालिका खटाएको थियो गत १९ मा । तर गृह जिल्लामा सरूवा भएका केसी खटाएको ठाउँमा नगइ राजीनामा दिएका हुन् ।
यस्तै अवकाशको मुखमा रहेका कर्मचारीलाई अन्यन्त्र सरुवा नगर्ने व्यवस्था गरिएको भए पनि अवकाशको मुखमा दार्चुलाको व्यास गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएका हरि पौडेल र नुवाकोटको तारकेश्वर गाउँपालिकामा खटाइएका शेखरनिधि पौड्यालले राजीनामा दिएको जनाएको छ । यसरी निजामती सेवामा गत चार वर्षको अवधिमा २८९० जना निजामती कर्मचारीले बिचैमा जागिर छाडेका छन् । किताबखानाको तथ्यांक अनुसार ०७८/ ७९ मा ७६९ जनाले बीचमै जागिर छाडेका थिए भने ०७९/ ८० मा ८०४ जना, २०८०/ ८१ मा ७१४ जनाले बीचमै जागिर छाड्दा अघिल्लो आर्थिक बर्षमा ५ सय ९८ जना कर्मचारीले जागिर छाडेर हिडेका छन् ।



































