काठमाडौं — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेन्जी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनहरूको नाममा इन्धन दुरुपयोग भएको भन्ने विषयमा फैलिएका समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
बिज्ञापन
मन्त्रालयका अनुसार उक्त विषयको सत्यतथ्य छानबिन गर्न २०८३ पुस १५ गते सहसचिवस्तरको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले जलेका सवारी साधनसम्बन्धी प्रहरी मुचुल्का, इन्धनसम्बन्धी अभिलेख (अर्धकट्टि) तथा भुक्तानी विवरणलगायतका कागजातहरूको अध्ययन तथा विश्लेषण गरेको थियो।
छानबिन समितिको निष्कर्षअनुसार जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग भएको पुष्टि नभएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यस विषयमा अपुष्ट तथा भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई अनुरोध गरेको छ। साथै, सत्यतथ्यमा आधारित सूचना मात्र प्रवाह गर्न आग्रह गर्दै मन्त्रालयले आफू पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो।
बिज्ञापन



































