संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाइएको स्थानीय तहमा नजाने उपसचिव र शाखा अधिकृत तहका १६ जना कर्मचारीहरुलाई कडा अल्टिमेटम दिएको छ ।
बिज्ञापन
मन्त्रालयले गत वर्षको भदौंदेखि गत चैत महिनाका विभिन्न मितिमा स्थानीय तहमा सरुवा भएका भए पनि ती ठाउँमा नजाने उपसचिव र शाखा अधिकृतलाई तीन दिनभित्र रमाना लिएर जान निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार,सात जना उपसचिवहरु खटाएका ठाउँमा नगएका हुन । जसअनुसार, बझाङको जयपृथ्वी नगरपालिका, डडेलधुराको अमरगढी, बैतडीको पुर्चौडी, अछामको साँफेबगर, बर्दियाको ठाकुरबाबा, रौतहटको गढीमाई र बाराको महागढीमाई नगरपालिकामा खटाइएका उपसचिव हाजिर हुन नगएका हुन ।
यस्तै,प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएका शाखा अधिकृतहरुमा रामेछापको लिखु तामाकोशी, बैतडीको सुर्नया, बझाङको मष्टा, जाजरकोटको जुनीचाँदे, सल्यानको सिद्धकुमाख, कपिलवस्तुको यशोधरा, सुनसरीको कोशी, भोजपुरको आमचोक र बैतडीको शिवनाथ गरी ९ जना शाखा अधिकृतहरु खटाएको स्थानमा नगइ अटेरी गरी बसेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले लामो समयदेखि खटाइएका स्थानीय तहहरूमा हाजिर हुन अटेर गरी साविककै कार्यालयमा कार्यरत रहने कर्मचारीलाई निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० मा भएको व्यवस्था बमोजिम कारबाहीको हुने समेत मन्त्रालयले चेतावनी दिएको छ ।































