काठमाडौँ — नेपाल सरकारका प्राविधिक सचिव केशव शर्मा बिडारी आज अनिवार्य अवकाशमा घर जाँदैछन्। ५८ वर्षे उमेर हदका कारण उनी आइतबार सरकारी सेवाबाट बिदा हुन लागेका हुन्। उनको विदाइका अवसरमा सम्बन्धित मन्त्रालयमा आज अपराह्न ४ बजे विदाइ कार्यक्रम आयोजना गरिएको छ।
बिज्ञापन
बिडारी २०७९ कात्तिक १६ गते नेपाल सरकारको प्राविधिक सचिव पदमा बढुवा भएका थिए। त्यसअघि सागरकुमार राई २०७९ कात्तिक ९ गते अनिवार्य अवकाश पाएपछि रिक्त भएको एक प्राविधिक सचिव पदका लागि लोकसेवा आयोगले तीन जनाको नाम सिफारिस गरेको थियो। आयोगले रामआधार साहलाई पहिलो नम्बर, विश्वबाबु पुडासैनीलाई दोस्रो नम्बर र केशव शर्मा बिडारीलाई तेस्रो नम्बरमा राख्दै सिफारिस गरेको थियो।
तर अन्ततः बढुवाको निर्णय हुँदा तेस्रो नम्बरमा रहेका बिडारीले सचिव पदमा बाजी मारेका थिए। त्यसयता उनले करिब साढे तीन वर्ष प्राविधिक सचिवको रूपमा जिम्मेवारी सम्हालेका थिए।
सिफारिसमा पहिलो नम्बरमा रहेका रामआधार साह हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन्। उनी २०८३ वैशाख १० गते अनिवार्य अवकाशमा जानेछन्। त्यस्तै दोस्रो नम्बरमा रहेका विश्वबाबु पुडासैनी हाल खानेपानी मन्त्रालयमा कार्यरत छन् र उनी २०८५ कात्तिक १६ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन्।
बिज्ञापन
सरकारी सेवामा लामो समय प्राविधिक क्षेत्रमा काम गरेका बिडारी आजबाट औपचारिक रूपमा निजामती सेवाबाट बाहिरिँदै छन्। उनको विदाइसँगै प्राविधिक प्रशासनमा एक अनुभवी सचिवको कार्यकाल पनि समाप्त हुँदैछ।


























