कर्मचारीतन्त्र किन र कसरी सुध्रिनुपर्छ ?

राष्ट्र निर्माणको वास्तविक आधार नैतिकता, पारदर्शिता र प्रशासनिक सक्रियता हो। नेपालको हालको राजनीतिक परिदृश्य र भर्खरै सम्पन्न निर्वाचनले नागरिक अब छिटो, पारदर्शी, उत्तरदायी र परिणाममुखी प्रशासनको अपेक्षा राख्छन् भन्ने स्पष्ट संकेत दिएका छन्। चुनावी परिणामले जनताले भ्रष्टाचारमुक्त, सुशासनपूर्ण र विकासमुखी सरकारको खोजी गरिरहेका छन् भन्ने देखाएको छ। तर वर्तमान कर्मचारीतन्त्र धेरै हदसम्म अस्थिर, प्रक्रियामुखी र राजनीतिक हस्तक्षेपको शिकार बनेको छ। बारम्बार सरकार परिवर्तन, अस्थायी सरुवा र अनिश्चित वृति पथले कर्मचारीहरूको मनोबल घटाएको छ भने दलगत प्राथमिकताले निर्णय प्रक्रियामा पक्षपात र ढिलासुस्ती बढाएको छ।

बिज्ञापन

राजनीतिक हस्तक्षेप, अस्थिरता, समूहवाद र असंवेदनशील प्रशासनले कर्मचारीतन्त्रको उत्पादनशीलता र निष्पक्षता कम गरेको विगतका अनुभवले देखाएको छ। यसकारण वर्तमान राजनीतिक परिवेशमा कर्मचारीतन्त्रलाई सक्षम, स्थायी र निष्पक्ष बनाउने कार्य धेरै महत्वपूर्ण छ। कर्मचारीले आफ्नो कर्तव्य पालनामा स्वतन्त्रता र उत्प्रेरणा पाउनु पर्दछ, जसले गर्दा उनीहरूले सामाजिक हित र विकास लक्षित काम प्रभावकारी रूपमा सम्पन्न गर्न सकून्।

बिज्ञापन

नेपालको प्रशासनिक प्रणालीले राज्य सञ्चालन र विकासको मेरुदण्डको भूमिका निर्वाह गर्छ। कर्मचारीतन्त्र जनताको आवाजलाई नीतिमा रूपान्तरण गर्ने मुख्य कडी हो। जनताले मतदानमार्फत सरकार चयन गर्छन् र सरकारको निर्णय कार्यान्वयनको जिम्मा कर्मचारीतन्त्रमा हुन्छ। यदि यही संयन्त्र प्रभावकारी, पारदर्शी र जवाफदेही नभएको खण्डमा नागरिकले अपेक्षा गरेका सेवा र विकास कार्य पूरा हुँदैनन्। विगतका दशकहरूमा नेपालको कर्मचारीतन्त्र राजनीतिक हस्तक्षेप, अस्थिरता, भ्रष्टाचार र ढिलासुस्तीका कारण प्रभावकारिता गुमाएको देखिन्छ। नियुक्त र निर्वाचित पदाधिकारीको बीचको असमन्जस्य, सरुवा र स्थानान्तरणको अनियमितता, प्रक्रिया जटिलता र पारदर्शिताको अभावले गर्दा कर्मचारीतन्त्र कार्यकारी र जनताको बीचमा पुलको सट्टा बाधकको रूपमा देखा परेको छ। यसले नीतिको कार्यान्वयनमा ढिलासुस्ती, दोहोरो प्रशासन र जनतामा असन्तुष्टि निम्त्याएको छ। कर्मचारीतन्त्रलाई स्थायी र सक्षम बनाउन सरकार र राजनीतिक नेतृत्वको नैतिक प्रतिबद्धता, नीति स्पष्टता र संस्थागत सुधार अपरिहार्य छन्।

नेपालको कर्मचारीतन्त्र राज्य सञ्चालनको मेरुदण्ड हो, जसले नीति निर्माणदेखि सेवा वितरणसम्मको सम्पूर्ण प्रक्रिया व्यवस्थापन गर्छ। तर विगत केही दशकमा यसमा राजनीतिक हस्तक्षेपले जरो गाडेको देखिन्छ। राजनीतिक दल र कार्यकारीले आफ्नो प्राथमिकता अनुसार कर्मचारी परिचालन गर्दा, पेशागत स्वतन्त्रता र निष्पक्षता कमजोर बन्दै गएको छ। परिणामस्वरूप, कर्मचारीहरू आफ्नो क्षमता अनुसार कार्य गर्न असक्षम बन्छन्, ढिलासुस्ती बढ्छ र जनताको अपेक्षासँग मेल नखाने निर्णयहरू जन्मिन्छन्। यस्तो अवस्था दीर्घकालीन विकास र सुशासनका लागि चुनौतीपूर्ण छ।

बिज्ञापन

कर्मचारीतन्त्रको कार्यक्षमता धेरै हदसम्म राजनीतिक कार्यकारी र प्रशासनिक संयन्त्रबीचको सहकार्यमा निर्भर गर्दछ। यदि कार्यकारी इमानदार, निष्ठावान र जनहितमुखी छ भने कर्मचारीतन्त्र सहज र प्रभावकारी रूपमा काम गर्न सक्छ। तर नेपालमा राजनीतिक हस्तक्षेप, समूहवाद र दलगत प्राथमिकताका कारण कर्मचारीहरू विभाजित छन्। यसले उनीहरूलाई स्वतन्त्र र निष्पक्ष निर्णय लिनबाट रोक्छ। कर्मचारीतन्त्र कानुन, नीति र उपलब्ध स्रोत–साधनको सीमामा काम गर्न सक्छ तर राजनीतिक दबाब, अस्थिरता वा बारम्बार सरुवा हुँदा यसको उत्पादकता घट्छ।

कर्मचारीको मनोबल र उत्प्रेरणा उच्च राख्न सरकारले पर्याप्त व्यवस्था गर्न नसक्दा उनीहरूले आफ्नो क्षमता पूर्ण रूपमा प्रयोग गर्न सक्दैनन्। अस्थायी नियुक्ति, अनिश्चित वृति विकास र सुरक्षा नहुनुले कर्मचारीलाई असुरक्षित बनाउँछ। यसैले दीर्घकालीन, स्थायी र निष्पक्ष प्रशासनिक संरचना आवश्यक छ। यस्तो संरचनामा कर्मचारीलाई कम्तीमा दुई वर्षसम्म आफ्नो कार्यक्षेत्रमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्छ। यसले उनीहरूलाई दक्ष, लगनशील र जिम्मेवार बनाउँछ, जसबाट प्रशासनिक निर्णय समयमै, निष्पक्ष र प्रभावकारी रूपमा लागू गर्न सकिन्छ।राजनीतिक हस्तक्षेप कम र प्रशासनिक स्वतन्त्रता बढी भएमा मात्र कर्मचारीतन्त्र देशको दिगो विकास र जनताको विश्वासको आधार बन्न सक्छ।

नेपालको कर्मचारीतन्त्र सुधारका लागि सबैभन्दा आवश्यक आधारभूत मूल्यहरू हुन्—निष्ठा, अनुशासन, पारदर्शिता, जवाफदेहिता र सेवा मुखी सोच। निष्ठा कर्मचारी वा नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सार्वजनिक हितमा निर्णय लिन सक्ने क्षमता हो। अनुशासन नियम, समयपालन र जिम्मेवारीबोध हो, जसले प्रशासनिक प्रक्रिया व्यवस्थित र प्रभावकारी बनाउँछ। पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न अनलाइन डेटा प्रणाली, नागरिक प्रतिक्रिया प्लेटफर्म, मुख्य कार्यसम्पादन सूचक आधारित मूल्यांकन र तृतीय पक्ष अनुगमन आवश्यक छन्। कर्मचारीतन्त्रले मात्र होइन, राजनीतिक नेतृत्वले पनि नीतिप्रतिको निष्ठा देखाउनुपर्छ। जब नीति कार्यान्वयनमा ढिलासुस्ती, पक्षपात वा असमान व्यवहार देखिन्छ, तब मात्र कर्मचारीतन्त्रले निरन्तर सुधार र परिणाममुखी सेवा प्रदान गर्न सक्दैन। यसर्थ निष्ठा र अनुशासनलाई प्रणालीगत रूपमा स्थापित गर्नु, कर्मचारीहरूलाई प्रेरित र जिम्मेवार बनाउनु र नागरिकलाई सेवा प्रक्रियाको पहुँच र जानकारी उपलब्ध गराउनु सुधारको मुख्य आधार हो।

प्रक्रिया र संरचना सुधार पनि कर्मचारीतन्त्रलाई सशक्त बनाउने महत्वपूर्ण उपाय हो। नेपालमा अक्सर सरकारी प्रक्रिया जटिल, अस्पष्ट र अनावश्यक चरणले भरिएको हुन्छ। यसले सेवा ढिला हुनु, भ्रष्टाचार बढ्नु र जनताको असन्तुष्टि बढाउनुमा योगदान पुर्याउँछ। कर्मचारीतन्त्रको दक्षता बढाउन विभागीय पुनर्गठन, कार्य विभाजन स्पष्टता, लक्ष्य अनुसार मूल्यांकन, नियमित तालिम, नेतृत्व विकास कार्यक्रम, र डिजिटल सेवा प्रणाली लागू गर्नु आवश्यक छ। डिजिटल प्रशासनमार्फत सरकारी सेवा अनलाइन उपलब्ध गराउने, डेटा एकीकृत गर्ने, मोबाइल एप र ट्र्याकिङ प्रणाली लागू गर्ने जस्ता उपायले प्रक्रिया सरल, छिटो र पारदर्शी बनाउँछ। यसले कर्मचारीको समय बचाउँछ, दोहोरो काम घटाउँछ र जनताको पहुँच सुनिश्चित गर्छ। त्यस्तै, कानुन बाझिएर विवाद उत्पन्न हुने अवस्थालाई ध्यानमा राखी, राष्ट्रिय दृष्टिकोण र समन्वयका आधारमा ऐन–कानुन तयार गर्नुपर्नेछ। यसरी केवल संरचनात्मक मात्र होइन, कानुनी र प्राविधिक सुधारमार्फत कर्मचारीतन्त्रलाई सक्षम बनाइन्छ र दीर्घकालीन सेवा उन्मुख प्रणाली तयार हुन्छ।

यस समस्याको समाधानको आधार निष्ठा र अनुशासनमा आधारित प्रशासनिक संस्कृति स्थापना गर्नु हो। जब कर्मचारी आफ्नो व्यक्तिगत स्वार्थ भन्दा जनताको हितलाई प्राथमिकता दिन्छ, तब सेवा प्रवाह प्रभावकारी, द्रुत र न्यायसंगत हुन्छ। त्यस्तै, अनुशासनले कार्यालय प्रक्रियामा नियमितता, समयपालन र नियमको सम्मान सुनिश्चित गर्दछ। यी दुवै मूल्यले कर्मचारीतन्त्रलाई स्थायित्व र विश्वासिलो बनाउँछन्, जसले राजनीतिक अस्थिरता र हस्तक्षेपको असर कम गर्छ।

राजनीतिक हस्तक्षेपको बीचमा पनि कर्मचारीलाई स्वतन्त्रता र संरक्षण सुनिश्चित गर्नु आवश्यक छ। कानुनी संरचना र प्रशासनिक नियमहरूले कर्मचारीलाई आफ्नो कार्यक्षेत्रमा निष्पक्ष निर्णय लिन सक्षम बनाउने वातावरण तयार पार्नुपर्छ। यसले मात्र कर्मचारीतन्त्र राजनीतिक दबाबबाट मुक्त भएर दिगो विकासमा योगदान दिन सक्छ। साथै, नियमित मूल्यांकन, पारदर्शी सरूवा बढुवा प्रणाली र उपयुक्त प्रशिक्षण कार्यक्रमले कर्मचारीको क्षमता अभिवृद्धि गर्ने र मनोबल उच्च राख्ने कार्य गर्दछ।

निष्ठा र अनुशासनमाथि आधारित प्रशासनिक प्रणालीले मात्र राष्ट्र निर्माणको वास्तविक आधार तयार पार्न सक्छ। यस्तो प्रणालीमा कर्मचारीले आफ्नो कार्य जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्छन् र नागरिकले सेवा ढिला नहुने, निष्पक्ष र सहज पाउने विश्वास पैदा हुन्छ। यसरी, कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीचको स्वस्थ समन्वय, नागरिक सहभागिता र निगरानी संयन्त्र सुदृढ हुन्छ।

नेपालको दिगो विकास र सामाजिक स्थायित्व कर्मचारीतन्त्रको गुणस्तर र चरित्रसँग प्रत्यक्ष सम्बन्धित छ। राजनीतिक हस्तक्षेपको कठघरामा परेर कमजोर भएको प्रणालीलाई पुनर्जीवित गर्न निष्ठा र अनुशासनको महत्व अपरिहार्य छ। यी मूल्यहरूलाई संस्थागत बनाइएमा मात्र कर्मचारीतन्त्र सक्षम, जवाफदेही र पारदर्शी बन्नेछ, जसले राष्ट्रको दीर्घकालीन विकास र जनताको विश्वास दुवै सुनिश्चित गर्न सक्छ।

राष्ट्र निर्माणको मूल आधार नैतिकता हो। कर्मचारीतन्त्र, राजनीतिक नेतृत्व र नागरिक सबैले निष्ठा, ईमानदारी र उत्तरदायित्वका मूल्य अपनाउनुपर्छ। प्रशासनिक प्रणाली पारदर्शी, निष्पक्ष र परिणाममुखी हुनुपर्दछ, जसले जनतामा विश्वास र सामाजिक स्थिरता ल्याउँछ। नीति निर्माणदेखि कार्यान्वयनसम्म नैतिक दृष्टिकोणले मार्गदर्शन गर्दा भ्रष्टाचार र ढिलासुस्ती कम हुन्छ। निष्ठा र अनुशासनको स्थायी अभ्यासले मात्र राष्ट्रको दिगो विकास सम्भव हुन्छ। यसरी नैतिक आधार मजबूत भएपछि राष्ट्रको समृद्धि, सामाजिक न्याय र जनकल्याण सुनिश्चित हुन्छ।

कर्मचारीतन्त्र सुधार प्रशासनिक संरचना र नीति परिवर्तन मात्र होइन, यो नैतिक, व्यवहारिक र सांस्कृतिक रूपान्तरण पनि हो। यदि कर्मचारीतन्त्र र नेतृत्वले निष्ठा, अनुशासन, पारदर्शिता, सेवा भावना र जवाफदेहिताको मूल्यलाई आत्मसात् गरे भने मात्रै नेपालमा दिगो विकास सम्भव हुन्छ। कर्मचारीतन्त्रमा निष्ठा, अनुशासन र व्यावसायिकता स्थायी रूपमा स्थापित भएमा मात्र नीति र योजना प्रभावकारी रूपमा कार्यान्वयन हुनेछन्। यसले मात्रै नागरिकको विश्वास जित्न सक्छ। सरकारी सेवामा ढिलासुस्ती कम हुन्छ र राष्ट्रको दिगो विकास सुनिश्चित हुन्छ। त्यसैले नेपालको वर्तमान चुनावी परिणाम र जनताका अपेक्षालाई मध्यनजर गर्दै कर्मचारीतन्त्र सुधारको एजेन्डा प्राथमिकता पाउनु अत्यावश्यक छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

११० कानुन संशोधन,एकै पटक १५३४ पदाधिकारी पदमुक्त

विधेयकमा आफ्नो माग नसमेटिए आन्दोलनमा उत्रने स्थानीय तहका कर्मचारीको चेतावनी

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

बिशेष