बागलुङ — प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत बागलुङका एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ। निर्वाचन आयोग अन्तर्गत खटाइएका ती अधिकृतलाई गलकोट नगरपालिका क्षेत्रभित्र रहेको रमुवा आधारभूत विद्यालय मतदान केन्द्रको जिम्मेवारी दिइएको थियो।
बिज्ञापन
निर्वाचन अधिकृतको कार्यालयका अनुसार बागलुङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ र २ का मतदान अधिकृतहरूको व्हाट्सएप समूहमा मिति २०८२ फागुन १९ गते अपराह्न ४:१३ बजे र त्यसपछिका समयमा उनले सम्प्रेषण गरेका सन्देशले अन्य मतदान अधिकृतहरूको मनोबल गिराउने तथा निर्वाचन प्रक्रियामा नकारात्मक प्रभाव पार्ने देखिएको छ।
उक्त सन्देशमा “तपाईंले मत ढुवानी खर्च ८००० दिनुहुन्छ अनि गाडीले १६००० लिन्छ अनि नभागेर च्यापेर बस्नु?” जस्ता अभिव्यक्ति प्रयोग गरिएको थियो। निर्वाचन अधिकृतको कार्यालयले यस्ता गतिविधिबाट निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता तथा विश्वसनीयतामा प्रतिकूल असर पर्न सक्ने ठहर गरेको जनाएको छ।
कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका, २०८२ को दफा २० बमोजिम उनलाई रमुवा आधारभूत विद्यालय मतदान केन्द्रको मतदान अधिकृत पदबाट हटाउने निर्णय गरेको हो। साथै, उनको जिम्मामा रहेका मतपत्र तथा अन्य मतदान सामग्री सुरक्षा निकायलाई चुस्त-दुरुस्त रूपमा बुझाउन र यथाशीघ्र निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ।
बिज्ञापन
निर्वाचन अधिकृतको कार्यालयले तोकिएको मिति २०८२ फागुन २१ गते हुने निर्वाचन निर्धारित समयमै सम्पन्न गर्न आवश्यक जनशक्ति व्यवस्थापन र सुरक्षा प्रबन्ध सुदृढ बनाइएको जनाएको छ।


























