समीर अर्थात् रसुवाको सम्भावना

धुन्चेको चिसो सिरेटोले शरीर काम्थ्यो, तर त्यो चिसोपनाभित्र एउटा तातो लहर बगिरहेको थियो—जनयुद्धको ताप। जिल्ला विकास समितिको आँगनमा उभिएका हामी दुई पात्रमध्ये एक थिए समिर। बाहिरबाट हेर्दा उनी कठोर देखिन्थे, अनुहारमा कठोरता र आँखामा दृढता। तर समयसँगै बुझिँदै गयो—त्यो कठोरता आवरण मात्र रहेछ, भित्र गहिरो संवेदनशीलता लुकेको थियो।

बिज्ञापन

समिर जनयुद्धका ती पात्रमध्ये एक हुन्, जसले संघर्षलाई भाषणमा होइन, जीवनमै भोगेका छन्। उनको स्वभावमा युद्धको प्रभाव थियो—हक्की, अडिग र स्पष्ट। तर उनले कहिल्यै प्रतिशोधको भाषा बोलेनन्। जनयुद्धको नाममा शक्तिको दुरुपयोग गर्ने पात्रहरूको भीडमा उनी अलग देखिन्थे। न धम्की, न बदला, न फसाउने प्रयास। बरु उनले आफ्ना विचारलाई शब्द र व्यवहारमार्फत प्रस्तुत गरे।
उनका प्रशिक्षणका दिनका डायरीहरू आज पनि साक्षी छन्। ती डायरीहरूमा दर्शनशास्त्रको गहिरो टिपोट भेटिन्छ। हेगेलदेखि वी.पी. कोइराला र पुष्पलालसम्मका विचारहरूलाई उनले सूक्ष्म ढंगले विश्लेषण गरेका छन्। त्यही अध्ययन र चिन्तनले उनको अभिव्यक्तिलाई ओजस्वी बनाएको छ। उनले सुनाएका जनयुद्धका अनेक किस्साहरू क्रमशः पुस्तकको आकारमा परिणत भए—संघर्षका ती कथाहरू अब दस्तावेज बनेका छन्।

बिज्ञापन

ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल जनयुद्धको एउटा कठोर मोड थियो। त्यो बेला समिर धादिङमा थिए। त्यहीँ एक घटनामा उनको गर्धन भाँचियो। शारीरिक रूपमा चोटिल भए, तर मानसिक रूपमा कहिल्यै पराजित भएनन्। धादिङका धेरै परिवारले उनलाई आफ्नै छोराजस्तो स्याहारे। आज पनि उत्तरी धादिङ पुग्दा समिरलाई सम्झेर भावुक हुने अनुहारहरू भेटिन्छन्। त्यहाँको माया उनको जीवनको एउटा अमिट अध्याय बनेको छ।

समिरको आवाज पहिलोपटक रसुवाबाट चर्कियो। चिलिमे आयोजनाको सेयर प्रकरणमा उनले उठाएको प्रश्नले जिल्ला विकास समितिको सभाहल तात्यो। त्यो आवाज पछि सिंहदरबारसम्म पुगेको चर्चा चल्यो। उनका केही निजामती साथीहरूले चिया चौतारीमा भन्ने गर्थे—“रसुवाको सम्भावना हो समिर।” त्यो सम्भावना नयाँ थिएन। २०६४ सालमै उनी संविधानसभा सदस्य बन्न सक्थे। तर त्यतिबेला ‘त्याग’ को भाष्यले उनलाई पछि हटायो। त्यागलाई महान् ठान्ने राजनीतिक वृत्तले पछि बुझ्यो—त्याग कहिलेकाहीँ अवसर गुमाउने कारण पनि बन्छ।

बिज्ञापन

समय फेरि घुमेर उही मोडमा ल्याइपुर्‍याएको छ। अहिले समिर प्रतिनिधि सभा निर्वाचनको प्रतिस्पर्धामा छन्। हिमाली जिल्लाको सात हजार निरपेक्ष गरिबीमा बाँचेका नागरिकबीच चुनाव लड्नु सहरी क्षेत्रको सहज प्रतिस्पर्धा जस्तो छैन। यहाँ हरेक मत संघर्षको कथा हो, हरेक घर गरिबी र आशाको संगम हो।

तर समिरको लडाइँ कुनै व्यक्तिसँग होइन—एउटा प्रवृत्तिसँग छ। त्यो प्रवृत्ति, जसले अधिकार र उपलब्धिलाई प्रकृतिको सहज वरदान ठान्छ। जसले विगतका बलिदान बिर्सन्छ र वर्तमानको सुविधा कसैको संघर्षको परिणाम हो भन्ने कुरा सम्झन छाड्छ। लोकरिझ्याइँको नवीन अवतारमा देखापरेको यो प्रवृत्तिसँग समिरको टक्कर छ।

उनी भन्छन्, “नागरिक सचेत भए मात्र लोकतन्त्र बलियो हुन्छ।” त्यसैले निर्वाचनलाई उनले सत्ता प्राप्तिको साधनभन्दा पनि चेतनाको अभियानका रूपमा बुझेका छन्। उनका लागि जित–हार अंकगणितको हिसाब होइन, विचारको निरन्तरता हो।
धुन्चेको चिसो हावाबाट सुरु भएको समिरको यात्रा आज सिंहदरबारसम्म गुञ्जिएको छ। त्यो स्वरमा संघर्षको इतिहास छ, त्यागको पीडा छ र भविष्यको आशा छ। प्रश्न अब केवल यति हो—के त्यो स्वर नागरिकको चेतनामा स्थायी प्रतिध्वनि बन्न सक्छ?
समिरको कथा केवल एक उम्मेदवारको कथा होइन। यो एउटा पुस्ताको कथा हो—जसले लडाइँ लड्यो, घाउ सहे, अवसर त्याग्यो र फेरि उभिएर समाजलाई सम्झाइरहेको छ—अधिकार कुनै वरदान होइन, संघर्षको परिणाम हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

टिपरको ठक्करबाट नासु कोइरालाको मृत्यु

मतदान अधिकृत घिमिरेको निधन, मतदानस्थल नपुग्दै जीवनयात्रा अन्त्य

यस्तो मतदान केन्द्र : जहाँ छन् ३९ मतदाता, भोट हाल्ने एकजना, खटिए १३ कर्मचारी

के हो ‘मौन अवधि’, : उल्लघंन गर्नेलाई हुनेछ यस्तो कारवाही

आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको थप निर्देशन

मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

परिणामले विश्वास जित्ने मोहन आचार्यको समुन्नत रसुवा यात्रा

उद्योगका तीन कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

बिशेष