१५ हजार रुपैयाँ तिरेर किनेको ‘शाखा अधिकृत’ पदले एक युवा प्रहरीको खोरमा पुगेका छन् ।
बिज्ञापन
गत माघ ८ गते आफूलाई गृह मन्त्रालयको शाखा अधिकृत हुँ भन्ने दाबी गर्दै नक्कली कर्मचारी परिचयपत्र देखाएर अन्य व्यक्तिको संवेदनशील व्यक्तिगत तथ्यांक लिन खोज्दा उनी पक्राउ परेका थिए । तनहुँका कृष जिसीलाई अध्यागमन विभागले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसरमा बुझाएको थियो ।
निजामती पोसाकमै उपस्थित भएका जिसीले आफू ब्याच ३७ का शाखा अधिकृत भएको र पछिल्ला चार महिनादेखि गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत रहेको परिचय दिएका थिए। तर, प्रारम्भिक जाँचमै उनको परिचय शंकास्पद देखिएपछि अनुसन्धान अगाडि बढेको थियो ।
जिसीले विगत सात महिनादेखि गृह मन्त्रालयका अधिकृतको नक्कली परिचयपत्र प्रयोग गरी काठमाडौँको एक प्रतिष्ठित होटलसँग सम्पर्क बढाएका थिए। होटल व्यवसायीलाई ठगी गरेर फरार भएकी एक महिलाबाट रकम असुली गरिदिने भन्दै होटलका बाउन्सरले सहयोग मागेपछि उनी त्यसैलाई आधार बनाएर अध्यागमन कार्यालय पुगेका थिए।
कार्यालयमा पुगेपछि जिसीले ती महिलाको वैदेशिक यात्रा रोक्का गरिदिने, अध्यागमनको कालोसूचीमा राखिदिने जस्ता प्रलोभन देखाउँदै राहदानी र नागरिकताको प्रतिलिपि माग गरेका थिए। यही अस्वाभाविक गतिविधिले अध्यागमनको इन्टेलिजेन्स र प्रशासन शाखाको ध्यान तान्यो।
बिज्ञापन
अध्यागमनका निर्देशक टीकाराम ढकालका अनुसार जिसीले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शाखा अधिकृतको नक्कली परिचयपत्रसमेत प्रयोग गरेको भेटिएको र ती परिचयपत्रमा उल्लेख गरिएको कर्मचारी संकेत नम्बर नै अस्वाभाविक देखिएपछि थप छानबिन प्रक्रिया अगाडि बढेको थियो ।
जिसीले प्रहरी अधिकारीहरु समक्ष दिएको बयानका आधारमा केही महिना अघि सामाजिक सञ्जालमार्फत प्रिन्टिङसम्बन्धी काम गर्ने व्यक्तिसँग चिनजान भएको र उनैले सहजै सरकारी कर्मचारीका परिचयपत्र बनाइदिने आश्वासन दिएका थिए । सरकारी कर्मचारीको परिचयपत्र बनाउनका लागि १५ हजार रकम माग भयो,ती व्यक्तिबाट । ती व्यक्तिलाई नगद,फोटो, नागरिकता नम्बर, आफ्नो हस्ताक्षर पठाइएसँगै परिचयपत्र तयार भइ उनको हातमा आएको थियो ।
अहिले यही १५ हजारले किनेको शाखा अधिकृत नक्कली परिचयपत्रले जिसी प्रहरी खोरमा पुगेका छन् ।

























