पछिल्लो समय गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी खटन पटनमा नयाँ नयाँ आइडियाहरु लगाउन थालेको छ । प्रमुख जिल्ला अधिकारी बनाएर खटाए पछि तीन महिने तालिम लिनेदेखि सहसचिवको दरबन्दी भएका जिल्लामा बढुवाका मुखमा रहेका उपसचिव खटाउने सम्मको नयाँ नयाँ अभ्यास गृहबाटै भइरहेको छ ।
गृहले कर्मचारी खटन पटन गर्दा कतिसम्म गडबडी देखिन्छ भने एक सहसचिव र अर्काे उपसचिवले प्रमुख जिल्ला अधिकारी हुनका लागि अनिवार्य रुपमा लिनुपर्ने तीन महिने तालिमै नलिएको पाइयो । हतार हतारमा प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएका ती सहसचिव र उपसचिवहरु अहिले सिडियो बन्नका लागि अनिवार्य तीन महिने तालिम लिन भ्याइ नभ्याइ छ । उता गृहले सहसचिवका दरबन्दी रहेका चार जिल्लामा उपसचिवहरुलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको थियो । ती पनि बढुवाका मुखमा रहेका उपसचिवहरू हुन ।
यसरी खटाइएका उपसचिवहरु थिए कृष्णप्रसाद आचार्य,गंगाबहादुर क्षेत्री,महेन्द्र कुमार सापकोटा र शम्भु प्रसाद रेग्मी । जसमध्ये दुई हालैमात्र उपसचिवबाट सहसचिवमा बढुवा भएका छन् । बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई सहसचिवको दरबन्दी रहेका यी जिल्लामा खटाइएको थियो ।
यी दुबै जेष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा सहसचिवमा बढुवा सिफारिस भएका कर्मचारी हुन । आचार्य र क्षेत्री ३५ दिने अवधि पूरा गरेर सहसचिवमा उक्लिएका हुन । गृहले गत पुस २२ मै आचार्यलाई बागलुङ जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको थियो भने गंगा बहादुर क्षत्रीलाई रोल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाएको थियो अघिल्लो महिना । पछिल्लो क्याविनेटले यी दुई सहसचिवको सरुवा गरेको छ । हालैमात्र सहसचिवमा बढुवा भएका उनीहरु सामान्यको अतिरिक्त समूहमा रहेकामा पछिल्लो् मन्त्रिपरिषद् बैठकले कृष्णप्रसाद आचार्य र गंगा बहादुर क्षत्रीलाई गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो।
बिज्ञापन
यस्का अलवा गृहले उपसचिवहरु महेन्द्रकुमार सापकोटा र शम्भुप्रसाद रेग्मीलाई सिडिओमा खटाएको थियो। जसमध्ये सापकोटा सल्यान र रेग्मी नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका छन् । उनीहरु पनि कार्यक्षमता मूल्याकंनका आधारमा उपसचिवबाट सहसचिव बढुवा सिफारिस भएका हुन । ३५ दिन पूरा भएलगतै सापकोटा र रेग्मीलाई क्याविनेटबाटै निर्णय गराएर सामान्यबाट गृहमा सरुवा गरी सम्बन्धित जिल्लाकै प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइने गृहको तयारी छ ।

































