थवाङ यात्रामा जनयुद्ध र माओवादी कमरेडलाई यसरी सम्झियौ

काठमाडौमा चिसो चिसो मौसम थियो । हामी त्यो दिन काठमाडौंबाट एउटा लामो यात्राका लागी हिड्यौ । कुलेखानी पुग्दा रात परिसकेको थियो । कुलेखानीको चिसो काठमाडौंको भन्दा तीब्र थियो । कुलेखानी पुगेपछि खानपिन गर्ने सल्लाह भयो । खानपिन पछि हामी हेटौडा , चितवन , नवलपुर , परासी , बुटवल , कपिलवस्तु हुँदै दाङसम्म पुग्ने योजनामा हिडिरहेका थियौँ । दाङ जिल्लाको प्रसिद्ध नगर तुलसीपुर पुग्दा थाकेका थियौ, हामी । तुलसीपुर जाने सडक कस्तो छ जोकोही यात्रा गर्नेलाई थाहा भएकै कुरा हो । तुलसीपुर पुग्दा शरीर पसिनाले भिजेको थियो । कुनै झरीमा भिजेको मान्छे जस्तो भएका थियौँ , हामी ।

बिज्ञापन

तुलसीपुर पुगेपछि केही चिनारु साथीभाइसँग छोटो र संक्षिप्त भेटघाट भयो साथीभाईहरुसँगको त्यो संक्षिप्त भेटघाट पछि हामी गर्मी छल्न पहाडतिर जाने सल्लाह गर्न थाल्यौँ । केही छिनमा सल्लाह निष्कर्षमा पुग्यो । फटाफट तुलसीपुरबाट हिड्यौ । सानो , निर्माणाधीन कच्ची बाटोको यात्रा गर्दै थियौ । कतैकतै पहिरो थियो कतै खाल्डो । हामी कपुरकोट , कोइला रोल्पा , गन्यौलीपानी हुँदै अगाडि बढयौ ।

बिज्ञापन

पश्चिम नेपालको यो क्षेत्र माओवादी जनयुद्धको तीब्र प्रभाव परेको क्षेत्र हो । बाटोमा पर्ने जनयुद्ध संग्रहालय गैरिगाउँ , दार्बोट , कोर्चावाङ हुँदै घर्तिगाउ पुग्यौ । मौसम राम्रै थियो । ग्रामीण क्षेत्रको यात्रा रोमाञ्चक हुँदै थियो । जटिल यात्रामा फुलेकै थियो उमंग ।

त्यो रात हामी रोल्पाको घर्तीगाउँमा पुग्यौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीको पहलमा भएको जनयुद्धमा घर्तीगाउले गरेको त्याग , तपस्या र संघर्षको बारेमा मैले सानैदेखि सुनेको थिए । घर्तीगाउँ पुगेपछि त्यहाँको इतिहासलाई नजिकबाट नियाल्दै थप बुझ्ने मौका जुर्यो ।
साथीहरूसँग सल्लाह भयो । जाडो मौसम छ । लोकल भाले खाने । त्यहाँको लोकल भालेको मासुको स्वाद सम्झनामा अझै ताजा नै छ । खुब रमाइलो गरियो घर्तीगाउँमा । साँझ र रात पनि सुबिस्ताका साथ बित्यो ।
भोलिपल्ट हामी कोल्टबार , खारा हुँदै जनयुद्धको आधारक्षेत्र चुनबाङ पुग्यौ । माओवादी जनयुद्धको वीरतालाई नजिकबाट बुझ्ने प्रयास गर्यौ । चुनबाङ त्यही ठाउँ हो , जहाँ बसेको बैठक बिषयमा अहिले पनि राजनीतिक वृतमा छलफल हुन्छ । चुङबाङ बैठकपछि माओवादीको रणनीति नै फेरिएको बहस अहिले पनि हुने गर्छ । चुङबाङमा तत्कालीन नेकपा माओवादीले प्रयोग गरेको हातहतियारदेखि जीर्ण अबस्थामा रहेका घरहरुको समेत अवलोकन गर्ने अवसर मिल्यो ।हाम्रो टोली नै राजनीतिमा रुचि राख्ने टोली थियो । हामीले स्थानीय बासिन्दाहरुसँग बसेर तत्कालीन जनयुद्धले पारेको प्रभावका बिषयमा गफ गर्न थाल्यौ । राजनीतिक छलफल जम्यो ।

बिज्ञापन

स्थानीयले २०६० सालमा बसेको नेकपा माओवादीको केन्द्रिय स्तरको चुनबाङ बैठकको प्रसङ्ग निकाले । यहीँ बैठकको निर्णयबाट माओवादी मात्र नभै देशको दिशा परिवर्तन भएको कुरालाइ अझै मज्जाले बुझ्ने अवसर पाए । त्यसपछि हामी अर्को ईतिहास बोकेको ठाउँ महत गाउँ पुग्यौ , जहाँ तत्कालीन राज्यपक्ष र माओवादीको भिडन्त भएको थियो । नेपाली राजनीति क्षेत्रमा महत गाउँको प्रसङ्ग आइरहेको हुन्छ । महत गाउँको युद्धमा माओवादीले राम्रै उपलब्धी पाएको र आफ्नो कमाण्डर तत्कालीन सेनाबाट फिर्ता गराएको घटनाबारे थाहा पाइयो । त्यो रातको घटनाको व्याख्या चित्रकला मार्फत गरिएको थियो त्यहाँ । जुन चित्रकला एकदमै हेर्न लायक र इतिहासलाई अमर राख्ने खालको थियो । साथै महत गाउँका मानिसहरुका सालिनतालाई मज्जाले बुझ्ने मौका जुर्यो ।

त्यसपछि हामी जनयुद्धको उद्गमस्थल थवाङ पुग्यौ । थवाङ राजनीति चेतनाको हिसाबले बिद्रोही गाउँको नाउँ हो । राजनीति , सामाजिक र सांस्कृतिक ईतिहास बोकेको बोकेको थवाङ सुन्दर पहाडी गाउँ पनि हो । जातिय समानता र एकताको सन्देश बोकेको , राज्यबाट उपेक्षा भोगेको र सामुहिक निर्णय प्रणालीमार्फत चल्ने गाउँ हो, थवाङ । नेपाली राजनीतिमा बेलाबेलामा सबैको ध्यानमा तानिरहेको हुन्छ ,थवाङले । कारण त्यो ठाउँको बिद्रोही चेत र राजनीतिक इतिहास पनि हो ।

थवाङमा हामी राती पुगेका थियौ । बास बस्नको लागि स्थानीय मगर समुदायको होमस्टे ( घरबास ) हेर्न गयौ । एउटा नुतन सोच थियो त्यहाँ । पाहुनालाई गरिएको स्वागतसत्कार , रोल्पाको मिठो लोकल खाना , भाङको अचार , हाँसको छोयला , बंगुरको मासु अहिले चर्चा गर्दा स्वाद जिब्रोमै झुन्डिएको जस्तो लाग्छ मलाई त । भोलिपल्ट पुरै थवाङ गाउँ घुम्यौ । त्यहाँको जनसमुदायसँग भलाकुसारी गर्ने अवसर पनि जुर्यो ।

जनयुद्धपछि भएको ठूलो राजनीतिक परिवर्तन र त्यस परिवर्तनमा थवाङले निभाएको भूमिका ऐतिहासिक र युगिन थियो । जुन कुरा त्यहाँ पुगेपछि झन महसुस भयो ।
पछिल्लो समय माओवादी आन्दोलनबाट आएकाहरू थुप्रै विचार समुहमा बिभाजित भएको र संसदिय धारमा फसेकोमा थवाङ सहमत नभएको बुझ्न सकिन्थ्यो ।
विद्रोहमा होमिएको तत्कालीन विप्लव नेतृत्वको पार्टीप्रति बढी झुकाव रहेको धेरै मानिसहरूसँग भेटियो त्यहाँ र उहाँहरू सबैमा माओवादी एक हुनुपर्छ भन्ने भावना प्रवल थियो । तत्कालीन विप्लव नेतृत्वको माओवादीले आफ्नो कार्यकर्ताको श्रममार्फत थवाङमा सहिद स्मारक भवन निर्माण गरेको रहेछ । जहाँ आविस्कार केन्द्र समेत खडा गरिएको रहेछ । हजारौ कार्यकर्ता बस्न मिल्ने सभाहल निर्माण भएको रहेछ ।

रोल्पा जिल्लाबाट जनयुद्ध सहादत सम्पुर्ण सहिदहरुका सालिक , स्मारक बनेको रहेछ । माथिल्लो भूभागमा फलफूल लगायत बोटबिरुवा , भान्छाघर , मिटिङ हल बनेको रहेछ । अनि व्यवस्थित स्मारक अबलोकन गर्यौ । त्यो देखेर हामीलाई धेरै नै खुसी लाग्यो । त्यहाँका जनता पनि खुशी नै देखिन्थे ।  अहिले पछिल्लो समय जेन्जी आन्दोलनपछि देशको माहोल परिवर्तन भएको छ । विप्लव , प्रकाण्ड लगायतको एउटा शक्ति गुलाफको फूल लिएर चुनाव लड्दैछन भने प्रचण्ड ,माधव नेपालसहित मिलेर तारा लिएर भिड्दै छन । तल्कालीन माओवादी जनयुद्धका मुख्य योजनाकार तथा बौद्धिक र त्यागी नेता मोहन वैद्य किरण कम्रेडहरू निर्वाचनको बहिस्कार गरिरहनु भएको छ । बाबुराम भट्टराई भने पछिल्लो जेनजी आन्दोलनसँग सहमत हुँदै र नयाँ पुस्तासँग हातेमालो गर्दै एउटा उचाईबाट अगाडि बढ्ने मुडमा देखिनुहुन्छ ।

हिजोसम्म प्रचण्डसंँग रहनु भएका रुकुमका चर्चित नेता जनार्दन शर्मा ` प्रभाकार ´पछिल्लो राजनीतिक घटनाक्रमपश्चात् छुट्टै शक्ति निर्माणमा लाग्नु भएको देखिन्छ । बाबुराम भट्टराईसँग उहाँको मत मिलेको देखिन्छ ।

एउटा प्रश्न मेरो मनमा खेलिरहेको छ । हरेकपटक देशको महत्त्वपूर्ण घटनामा र चुनावहरूमा विद्रोही भएर उभिएको थवाङको भुमिका अब के हुन्छ होला ? माओवादीका अनेकौं बिचार समुह मध्य थवाङले कस्लाइ रोज्ला ? पछिल्लो समय नयाँ शक्ति भन्दै राजनितिमा उदाउँदै गरेका नयाँ दल , नयाँ विचार समुह वा जेनजीको पक्षमा थवाङ उभिएला त ?त्यो हेर्न बाँकी नै छ ।
हामीले भ्रमणको क्रममा तत्कालीन माओवादीले गरेको संघर्षहरु नजिकबाट नियाल्ने मौका पायौ । तत्कालीन अबस्थामा श्रमदानबाट बनेका त्यो सहिदमार्गमा अहिले मोटरगाडी दौडिएको देख्यौ । त्यहाँको राजनितिक चेतना सहरका मानिसहरुमा भन्दा परिपक्व रहेको भेट्यौ । अझै नेपालका कतिपय गाउँमा जात , धर्म, लिङ्गको नाममा विभेदका घटना सुनिन्छन तर त्यहा माओवादी जनयुद्धकालदेखि नै यस्तो कुरा नभएको सुनियो । हामी थवाङ लगायत महत गाउँ , चुनवाङलाई फेरि भेट्ने वाचा गर्दै जलजला हुँदै दाङ यात्रामा निस्कियौ । दाङको तुलसीपुर पुगेपछी फेरि उहीँ गर्मी एसी बिनाको होटेलको रुम बाहेक सोच्न नसकिने अवस्था थियो । अलि माथिको पहाड रोल्पा , रुकुम र सल्यानको चिसो बतास र न्यानो स्पर्श अनि तलको बजारमा टन्टलापुर घाम र गर्मी कति फरक छ हाम्रो भौगोलिक संरचनामा ।

त्यो रात हामी दाङमा रहनुभएका साथिभाईहरुसँगै बस्ने र रमाईलो गर्ने हिसाबले आएका थियौ । साथी तुफान केसी (जो दाङका युवा व्यवसायी) हुन । उनको होटल कुमाखमा जम्मा भयौ । उहाँ एक सफल व्यवसायी हुनुहुन्छ । केसीजी Kumakh College of Management & Technical Science का संचालक पनि हुनुहुन्छ ।अर्का मित्र गोपाल चन्द हुनुहुन्थ्यो ,जो राप्तीका नाम चलेका पत्रकार हुनुहुन्छ । पहिला साझा सवालका सह-सम्पादक हुनुहुन्थ्यो भने अहिले पोस्टपाटीका संचालक हुनुहुन्छ । अर्का मित्र रमेश डाँगी हुनुहुन्थ्यो । जो काठमाडौको वर्डलिङ्क नामक ईन्टरनेट कम्पनीको दाङको शाखामा कार्यरत हुनुहुन्थ्यो । अर्का अनन्य मित्र लक्ष्मण केसी जो हाम्रो यात्रामा दाङदेखि सल्यान , रोल्पा , रुकुम हुँदै फ़ेरि दाङसम्मको यात्रामा सहयात्री हुनुभएको थियो । उहाँ अहिले निर्माण व्यबसायी र ठेक्कापक्कामा राम्रो ज्ञान भएको मित्र हुनुहुन्छ । काठमाडौदेखि सँगै आउने मध्य हामी तीनभाईमा एक सम्पूर्ण अधिकारी हुनुहुन्थ्यो । अधिकारीजी कुनै समय अखिल क्रान्तिकारीको उपत्यकामा चर्चित नेता हुनुहुन्थ्यो । विद्यार्थी राजनिती गर्दै कहलिएका उहाँ बिचमा जापान बसाई गरेर स्वदेश फर्किनु भएको छ र पछिल्लो समय नुवाकोट जिल्लाको नाम चलेका सफल निर्माण व्यवसायी हुनुहुन्छ । अर्का सहयात्री युवा नेता सुमन तिमल्सिना हुनुहुन्थ्यो । नाताले मेरो भिनाजु सुमन तिमल्सिनाज्यु विद्यार्थी राजनीतिका हिरा हुनुहुन्छ । गण्डक क्षेत्रबाट राजनिती सुरु गरि उहाँ पछिल्लो समय काठमाडौ क्षेत्र नम्बर ६ का सांसदका लागी बलिया पात्र बनिसकेको चर्चा सुनिन्छ । थाहा छैन उहाँ उठ्नु हुन्छ या हुन्न तर उठ्दा जो कोहीसँग राम्रो प्रतिस्पर्धी चाहिँ गर्न सक्नुहुन्छ । यो क्षेत्रमा व्यापक चर्चित युवा हुनुहुन्छ ,उहाँ । सामाजिक , राजनीति काममा दिलोज्यान दिएर लाग्नुहुन्छ ।

बाँकी मेरो परिचय मेरा सम्पुर्ण पाठकहरुलाई थाहा नै छ ,मैले परिचय दिएर लेख लामो बनाउन चाहिन । हामी साथीहरू मिलेर घुम्यौ , धेरै पछिको भेट मिठो छलफल गर्यौ र भोलिपल्ट नेपालगन्जको गर्मी खादै त्रिभुवन विमानस्थलमा ओर्लियौ र आ आफ्नो बाटो लाग्यौ ।

तर मानसपटलमा घुमिरहेकै छ जनयुद्धको आधार क्षेत्रको यात्रा ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लगनखेल मालपोत ‘कमाइको अड्डा’: सरुवा कागजमै, नासु बस्नेतको रजगज यथावत्

थवाङ यात्रामा जनयुद्ध र माओवादी कमरेडलाई यसरी सम्झियौ

स्वकीय सचिवको सुविधा निरन्तरता दिन सामान्यको परिपत्र

रास्वपाबाट समानुपातिक सूचीमा चन्द्र ढकालका छोरादेखि विदुषी राणासम्म

उद्योग विभागका महानिर्देशक परिवर्तन

तीन महिनामै गृहसचिवको सरुवा, कारण ‘सूचना चुहावट’?

थप तीन उपसचिव सहसचिव बढुवा सिफारिस

कुलमान अब रास्वपाको उपसभापति

बिशेष