निजामती सेवाका कर्मचारीको सर्वोच्च पद मुख्य सचिव पद यही मंसिर ९ पछि रिक्त हुँदैछ । मुख्यसचिव एकनारायण अर्याल ५८ बर्षे उमेर हद लागेर घर जान लागेसँगै सो पद रिक्त हुन लागेको हो ।
बिज्ञापन
अर्याललाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०८१ भदौ १३ गते मुख्य सचिवमा नियुक्त गरेका थिए । झण्डै १५ महिना निजामती सेवाको सर्वाेच्च पदको नेतृत्व गरेर अर्याल घर फर्किने तयारी भएसँगै नयाँ मुख्य सचिवका लागि ४ जना सचिवहरुले आफ्नो योग्यता र क्षमता प्रस्तुत गरिरहेका छन् । यसरी सन्देश पठाउनेहरुमा केही सचिवहरूले प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा राखेका छन भने केहीले मुख्यसचिव एकनारायण अर्यालमार्फत आफ्नो सन्देश प्रधानमन्त्रीसमक्ष पुर्याएका छन् ।
बिज्ञापन
मुख्य सचिवका प्रवल दावेदारका रुपमा हेरिएका पात्र थिए गोकर्णमणि दुवाडी । तर उनको ट्र्याक रेकर्ड राम्रो नभएकाले उनी मुख्य सचिवको प्रतिष्प्रर्धाबाट रिङ आउट भइसकेका छन् । उसो त जेनजी आन्दोलनमा दुवाडी प्रहरी र प्रशासन परिचालनमा नराम्रोसँग चुक्दा उनको मुख्यसचिव बन्ने सम्भावनामा पूर्ण विराम लाग्न पुगेको छ ।जेनजी विद्रोह हुँदा गृह सचिवको भूमिकामा रहेका उनी मुख्य सचिव एकनारायण अर्यालसँगै अनिवार्य अवकाशमा जानेछन्,सेवा हदका कारण ।
बिज्ञापन
उनी पछि प्रतिस्पर्धामा छन्, सुमनराज अर्याल, प्रमिलादेवी बज्राचार्य, मधुसुदन बुर्लाकोटी, डाक्टर कृष्णहरि पुष्कर छन् । सचिवहरूको वरीयतामा दोस्रो नम्बरमा रहेका अर्याल नयाँ मुख्य सचिवको दाबेदार मानिन्छन् । उनी हाल रक्षा मन्त्रालयको सचिव छन् । नेपाल प्रहरीमा एआइजीको वरीयतामा पहिलो नम्बरमा रहेका दानबहादुर कार्की आइजीमा बढुवा भएको नजिर निजामती सेवामा पनि लागु भए अर्याल मुख्य सचिव हुने छन् । ०७७ माघ १९ गते सचिवमा बढुवा भएका सुमन नेपाल आर्थिक योजना तथा तथ्यांक सेवाका कर्मचारी हुन । ०५३ साल वैशाख १७ गते शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका उनी ६६ सालमा उपसचिवमा बढुवा भएर राष्ट्रिय योजना आयोगको सचिवालयमा कार्यरत रहेको देखिन्छ । ६८ सालमा सहसचिवमा बढुवा भएसँगै राष्ट्रिय योजना आयोगको सचिवालयमा नियुक्ति पाएका उनी केन्द्रीय तथ्यांक विभाग,प्रदेश सचिवका रुपमा आर्थिक मामिला तथा योजना मन्त्रालय धनगढीमा खटाइएको थियो ।
७७ साल माघमा सचिवमा बढुवा भएका उनी त्यस यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर,महालेखा नियन्त्रकको कार्यालय,महिला बालबालिका मन्त्रालय,युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय योजना आयोगको सचिवालय हुँदै गत असोज ५ गतेदेखि रक्षा सचिवको जिम्मेवारीमा छन् । विज्ञान बिषयमा स्नातकोत्तर गरेका अर्याल मुख्यसचिव भए २०८३ असार २५ गतेसम्म अर्थात आठ महिना पदमा रहनेछन् । सुमनले राष्ट्रिय तथ्यांक कार्यालयभन्दा बाहिर गएर काम गरेको सचिव भएपछि मात्रै हो ।
सचिवहरूमा वरीयतामा पहिलो नम्बरमा रहेका भरतमणि सुवेदीले राजीनामा दिएपछि दोस्रो नम्बरमा रहेका अर्यालको मुख्य सचिव हुने सम्भावना रहेको छ। तर, ४८ साल यता कुनै पनि मुख्य सचिव नियसंगत ढङ्गबाट वा वरियताका आधारमा भएका छैनन । त्यस्तै अहिलेको परिवेशमा सिनियर भन्दा पनि अनुभवी मुख्य सचिवको आवश्यक रहेको छ। यस्तो परिवेशमा तथ्याङ्क समूहका अर्याललाई मुख्य सचिव बनाउँदा उल्टै चुनौती हुने कर्मचारीहरू बताउँछन्।
त्यस्तै खानेपानी मन्त्रालयकी सचिव बज्राचार्य अर्काे मुख्य सचिवको आकांक्षी हुन् । महिला प्रधानमन्त्री भएका बेला मुख्य सचिव बन्न उनले प्रयास र दौडधूप जारी राखेकी छिन् । ५५ साल चैत्रबाट शाखा अधिकृतका रुपमा निजामती सेवामा पाइला राखेकी प्रमिला नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,स्यानिटरी उपसमूहको कर्मचारी हुन ।
खानेपानी तथा ढल निकास विभागबाट जागिर प्रारम्भ गरेकी बज्राचार्य क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय,खानेपानी तथा सरसफाई डिभिजन,ललितपुर तीन बर्ष बिताएपछि गुल्मी पुगेकी छिन्,सेवाको क्रममा । ६६ सालमा उपसचिवमा बढुवा भएर सडक विभाग,काठमाडौंमा पदस्थापन भएकी उनी बर्ष दिन पछि ६७ सालमा सहससचिव बनेकी हुन । उनले सुपरिटेन्टेण्ड इञ्जिनियरका रुपमा सडक विभाग,भौतिक मन्त्रालय,रेल विभागमा बसेर काम गरेको देखिन्छ । ०७८ असार १७ गते प्राविधिकतर्फको सचिवमा बढुवा भएकी प्रमिलाले त्यस खानेपानी मन्त्रालयमा सात महिना,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा २ बर्ष,नेपाल ट्रष्टमा चार महिना काम गरेकी छिन् । उनी ०८१ साउनदेखि खानेपानी सचिवको भूमिकामा छन् । महिला प्रधानमन्त्री हुँदा उनलाई पनि बनाउने सम्भावना केही प्रतिशत रहेपनि प्राविधिक कर्मचारीलाई मुख्य सचिव बनाउँदा अहिलेको परिवेशमा झन्नै चुनौती रहने कर्मचारीहरू बताउँछन्।
राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत सचिव मधुसुदन बुर्लाकोटी अर्काे प्रतिष्प्रर्धी हुन । ०२५ भदौ २७ गते धादिङमा जन्मिएका बुर्लाकोटी कुनै पनि मन्त्रालयनटिक्ने कर्मचारीका रूपमा चिनिन्छन् । उनी तीन चार महिनामै सरुवामा पर्ने प्रशासकका रुपमा चिनिन्छन् ।
२०७८ असार २१ गते सचिवमा बढुवा भएका बुर्लाकोटी मुख्य सचिव भए उनले करिब एक वर्ष काम गर्न पाउनेछन् । ५४ सालमा शाखा अधिकृतबाट निजामती सेवामा पाइला राखेका बुर्लाकोटी २०६३ सालका उपसचिव,६८ साल फागुन १७ मा सहसचिव र ७८ साल असारमा सचिव नियुक्त भएका हुन । सचिव नियुक्त भएको साढे चार बर्षको अवधिमा ६ वटा निकायमा सरुवा भएका छन्,उनी यही खरो स्वभावका कारण । ७८ साल माघमा सार्वजनिक खरिद अनुगमनको कार्यालयमा पुगेका उनी लामो समय टिक्न सफल भएको सोही कार्यालयमा हो,जहाँ झण्डै १५ महिना बिताएका उनलाई ८० साउनमा उपराष्ट्रपतिको कार्यालयमा पुर्याइयो । ८ महिना पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरेर ल्याइयो तर त्यहाँ दुई महिना टिकेनन् । त्यहाँबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा एक महिना काम गरेका बुर्लाकोटीलाई अघिल्लो बर्षको भदौंदेखि सचिव थन्काइने कार्यालयको रुपमा चिनिएको राष्ट्रिय तथ्यांक कार्यालयमा जिम्मेवारी दिएर राखिएको छ । बुर्लाकोटी पाँच बर्षे सेवा अवधिका कारण आगामी साउन ४ घर जानेछन् ।
मुख्य सचिवका रुपमा चर्चामा रहेका अर्काे सचिव हुन कृष्णहरि पुष्कर । ५३ सालमा खरिदारबाट निजामती सेवा प्रवेश गरेका पुष्कर,५५ मा नायब सुव्वा,५९ सालमा शाखा अधिकृत,६६ सालमा उपसचिव,६८ सालमा सहसचिव बढुवा भएका हुन । ७८ साल असारमा सचिवमा बढुवा भएका उनले यो बीचमा ४० वटा निकायमा बसेर कार्यसम्पादन गरेका छन् । जिल्ला विकास समितिको कार्यालय,कालिकोटबाट सेवामा पाइला राखेका पुष्करजिविस सुर्खेतमा काम गरेपछि ५५ सालमा नासु बढुवा भएका हुन । सुव्वा पदमा रहँदा जिल्ला शिक्षा कार्यालय मुगु,जिल्ल सिँचाई कार्यालय धनुषा,जिल्ला सिँचाई कार्यालय,ललितपुरमा सेवा गरे । ५९ सालमा शाखा अधिकृतमा बढुवा भएपछि गृह मन्त्रालय पुगेका उनले जिल्ला प्रशासन कार्यालय धादिङ,सीमा प्रशासन ओखलढुङ्गा,अध्यागमन कार्यालय विमानस्थलमा काम गरे । ६६ सालमा उपसचिवमा उक्लिएपछि पुष्कर कृषि मन्त्रालय,श्रम मन्त्तालय हुँदै नेपाली राजदुतावास,कुवेतमा पुगे ।
६८ सालमा सहसचिवजमा उक्लिएका पुष्करले परराष्ट्र मन्त्रालयमा केही समय बिताएर मकवानपुर र बाराको प्रमुख जिल्ला अधिकारी चलाए । यस्तै श्रम मन्त्रालय,श्रम विभागको महानिर्देशक,अख्तियार दुरुपयोग अनुसन्धान आयोग,नेपाली राजदुतावास,नयाँ दिल्ली,गृह मन्त्रालय,उद्योग मन्त्रालय हुँदै ७८ सालमा सचिवमा उक्लिएका हुन ।
पुष्कर सचिव बढुवा भए यता अर्थ मन्त्रालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै गत बर्ष पुसदेखि श्रम सचिवको भूमिकामा छन् ।
जेनजी आन्दोलनपछिको अस्थिर परिस्थिति देशका आन्तरिक तथा बाह्य व्यवस्थापनक्षमताको ठूलो परीक्षणका रूपमा देखा परेको छ। कूटनीतिक अविश्वास, आर्थिक दबाब, कर्मचारी तथा प्रहरी तन्त्रको मनोबल गिरावट, सुशासन सम्बन्धी चुनौती र आगामी निर्वाचनको संवेदनशीलता-यी सबैले मुख्य सचिव जस्तो निर्णायक पदलाई अझ महत्वपूर्ण बनाइदिएको छ। यिनै बहुआयामिक चुनौतीहरूको बीच डा। कृष्णहरि पुष्कर अनुभव, समन्वय क्षमता र संकट व्यवस्थापन योग्यता बोकेको सुदृढ विकल्पका रूपमा उभिएका छन्।
विदेशी एजेन्सी र दूतावासमाथि उठेको अविश्वासले नेपालका कूटनीतिक सम्बन्धमा अस्थिरता उत्पन्न भएको छ। यस्तो संवेदनशील घडीमा अन्तर्राष्ट्रिय अनुभव र कूटनीतिक बोध अत्यावश्यक हुन्छ।
डा. पुष्कर भारतस्थित नेपाली दूतावास, नयाँ दिल्लीमा मिनिष्टर (इकोनोमिक)का रूपमा कार्य गरिसकेका छन्। साथै, उनी दक्षिण कोरियाका लागि कन्सुलरका रूपमा पनि जिम्मेवारी सम्हालिसकेका छन्, जसले नागरिक सेवा, कूटनीति र द्विपक्षीय समन्वयमा थप गहिराइ प्रदान गरेको छ। नेपालले अहिले भोगिरहेको कूटनीतिक ‘विश्वास–संकट’ पुनर्स्थापनामा यस्तो बहुआयामिक पृष्ठभूमि उपयोगी हुन सक्ने देखिन्छ।
आन्दोलनपछिको वातावरणले लगानी, उद्योग र व्यवसायिक क्षेत्रलाई कमजोर बनाएको छ। लगानीकर्ताको मनोबल गिरिरहेको, राजस्व घट्दै गएको र खर्च व्यवस्थापन जटिल बन्दै गएको अवस्थामा आर्थिक अनुभवी प्रमुख प्रशासक अपरिहार्य छ।
डा. पुष्कर दुई–दुई पटक अर्थसचिवको रूपमा काम गरेका छन्। उनी कार्यरत रहँदा देशले ठूलो आर्थिक जोखिम; विशेषत: ‘श्रीलंका जस्तै वित्तीय पतन’बाट बच्न महत्वपूर्ण निर्णयहरू कार्यान्वयन गर्न उनले अग्रसरता देखाएका थिए। राजस्व अनुशासन, वित्तीय जोखिम व्यवस्थापन, अन्तर्राष्ट्रिय आर्थिक समन्वय र निजी क्षेत्रसँगको संवादमा उनले प्रदर्शन गरेको दक्षता अहिलेको आर्थिक पुनरुत्थानका लागि ठोस आधार बन्न सक्छ।
डा. पुष्करको करियर सरकारी संयन्त्रका लगभग सबै तहमा फैलिएको छ। उनी, प्रमुख जिल्ला अधिकारी (प्रजिअ), विभागीय प्रमुख(महानिर्देशक), तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासन सचिव का रूपमा काम गरिसकेका छन्।
पीएमओमा रहँदा उनले बुद्धिमत्ता प्रणाली सुधार, राजस्व अनुसन्धान सुदृढीकरण, सम्पत्ति शुद्धिकरण नियन्त्रणआयोगमा संरचनात्मक सुधार जस्ता उच्चस्तरीय पहल अगाडि बढाएका थिए। यस्तो जिम्मेवारीले उनलाई नीति निर्माणदेखि कार्यान्वयनसम्मको सम्पूर्ण राज्य संयन्त्रको सूक्ष्म ज्ञान प्रदान गरेको छ।
वैश्विक महामारीको कठोर समयमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको महत्त्वपूर्ण सदस्यका रूपमा डा. पुष्करले संकट व्यवस्थापनमा ठोस भूमिका निर्वाह गरे।
स्वास्थ्य स्रोत परिचालन, क्वारेन्टिन/आइसोलेसन व्यवस्थापन, सीमा सुरक्षा, आपूर्ति प्रणाली र अन्तर्राष्ट्रिय सहयोग समन्वयमा उनले देखाएको सक्रियता प्रशासनिक संकट व्यवस्थापन क्षमताको स्पष्ट प्रमाण मानिन्छ।
आन्दोलनपछि सरकारी कर्मचारीको आत्मविश्वास गम्भीर रूपमा कमजोर भएको छ। पोसाकमै सार्वजनिक सवारी चढ्दा असहजता, ‘सेतो प्लेट’ विवाद, सेवा ऐनको अनिश्चितता र प्रशासनिक अस्थिरताले निजामती तन्त्रमा नकारात्मक प्रभाव छोडेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवका रूपमा सेवा दिँदै डा. पुष्करले कर्मचारी संरचना सुधार र मनोबल उकास्ने कार्यक्रमहरू अघि बढाएका थिए। कर्मचारी प्रशासनको गहिरो समझ र कार्यसम्पादनमूलक मनोविज्ञान बुझ्ने क्षमताले उनी प्रशासनिक पुनर्जीवनका लागि उपयुक्त देखिन्छन्।
जेनजी आन्दोलनमा सबैभन्दा ठूलो आघात नेपाल प्रहरीले झेल्नु पर्यो। भौतिक क्षति, संगठनात्मक दबाब र मनोवैज्ञानिक आघातको असर अहिले पनि देखिन्छ।
डा. पुष्कर सशस्त्र प्रहरी बल, सेवा आयोग र नेपाल प्रहरी विशेष श्रेणी बढुवा समितिमा बसेर प्रहरी संरचना, बढुवा प्रक्रिया र संगठनात्मक सुधारमा योगदान दिइसकेका छन्।आगामी निर्वाचनको संवेदनशीलता हेर्दा प्रहरी–प्रशासन समन्वयमा सक्षम नेतृत्व अनिवार्य छ, जुन अनुभव उन्हें स्पष्ट रूपमा छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यानुभव बटुलेका डा। पुष्करले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक अखण्डता, दण्डहीनता विरुद्धको नीति कार्यान्वयन र जोखिम व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।जेनजी आन्दोलनको मूल आधार सुशासनप्रतिको जनआक्रोश भएकाले यस्तो पृष्ठभूमि मुख्यसचिव पदमा अझै महत्त्वपूर्ण रहेको छ।
डा. पुष्करले विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा भारत, चीन, जापान, कोरिया जस्ता देश तथा संस्थासँग सहकार्यमा आधारित परियोजनाहरूमा नेतृत्वदायी भूमिका खेलेका छन्।यसले नेपाललाई आवश्यक परेको अन्तर्राष्ट्रिय आर्थिक र प्रविधिक समर्थन समन्वय गर्न उनी सक्षम रहेको संकेत गर्दछ।
डा. पुष्कर मधेशी समुदायबाट मुख्य सचिव बन्न सक्ने पहिलो उम्मेदवारका रूपमा चिनिन्छन्।
समावेशिता, प्रतिनिधित्व र राज्य संयन्त्रमा विविधताको सन्देश देशको प्रशासनिक विश्वसनीयतामा सकारात्मक प्रभाव पार्न सक्छ। राजनैतिक रूपमा समेत यस्तो नियुक्तिले वर्तमान सरकारलाई समावेशी शासनको सन्देश दिन सक्षम बनाउँछ।
निर्वाचन आयोग नेतृत्वविहीन, संवैधानिक सुनुवाइ अनिश्चित र सुरक्षा संयन्त्र दबाबमा रहेको अवस्थामा निर्वाचन व्यवस्थापनको जिम्मेवारी अत्यन्त संवेदनशील छ।
डा. पुष्करजस्ता बहुआयामिक अनुभव भएका नेतृत्वले निर्वाचन आयोग, प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलसँग समन्वय गर्दै निर्वाचनलाई निष्पक्षरूपमा सम्पन्न गराउन योगदान पुर्याउन सक्छन्।
बहुमुखी अनुभव, संकट व्यवस्थापन क्षमता र सुशासन दृष्टिकोणसहित डा. पुष्कर उपयुक्त विकल्प कूटनीतिक अस्थिरता, आर्थिक दबाब, प्रशासनिक अन्योल, सुरक्षा संवेदना, सुशासनका चुनौती र निर्वाचनको समयबद्ध आवश्यकता, देश अहिले बहु–संवेदनशील मोडमा छ।
यस्तो अवस्थामा अनुभव, समन्वय शक्ति, अन्तर्राष्ट्रिय समझ, आर्थिक दक्षता, प्रशासनिक विविधता र संकट व्यवस्थापन कौशल भएको नेतृत्व नै मुख्यसचिवका लागि उपयुक्त हुन्छ।यी सबै पक्ष समेटेर हेर्दा डा. कृष्णहरि पुष्कर देशलाई आवश्यक परिपक्व, सक्षम र भरोसापात्र मुख्यसचिवका रूपमा उदाएका छन्।


























