गृह मन्त्रालयले यस अघि गृहमै रही सामान्यमा खटाएको र त्यहाँबाट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाएका १७ उपसचिवहरुलाई गृहमै फिर्ता गराएको छ ।गृहको बरण्डा र काजमा रहेका दुई दर्जन उपसचिवहरुलाई सामान्यले स्थानीय तहमा खटाएकोमा दुई महिना नबित्दै उनीहरुलाई गृहमा फिर्ता ल्याइएको छ ।
यस अघि भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री हुँदा स्थानीय तहमा निमित्त शून्य पार्ने भन्दै उपसचिवहरुलाई नगरपालिका र अधिकृतहरुलाई गाउँपालिका खटाइएका काजमा खटिएका,अतिरिक्त समूहमा रहेका गृहका दुई दर्जन बढी उपसचिवहरुलाई स्थानीय तहमा खटाइएको थियो । यसरी खटाइएकामध्ये ७० प्रतिशत कर्मचारी त स्थानीय तहमा गएनन्,उनीहरुले सिंहदरबारै नछाडी संघीय सरकारलाई चुनौति दिइरहेका थिए ।
बिज्ञापन
यही बीचमा जेनजीको आन्दोलनको बलमा सरकार परिवर्तन भयो । सामान्य प्रशासनको कर्मचारी प्रशासन हेर्नेहरु फेरिए । जागिरे जीवनका लामो समय सिंहदरबार र कमाउ अड्डा नछाडेका प्रशासकहरुले आफ्नो सरुवा उल्टाउने खेलो मेलोमा लागे र उनीहरु गृहबाटै सरुवा रोक्न पत्र लेखाएर सरुवा उल्टाउन सफल भएका छन् । उल्टाएर सिंहदरबारमै फर्कन सफल भएका छन ।
बिज्ञापन
गृहको पत्रकै कारण झण्डै दुई महिना पछि उनीहरुको सरुवा उल्टिएर गृहमै पुगेका छन् भने स्थानीय तहमा निमित्त प्रशासकीयको राज अन्त्य गर्ने सामान्यको सुशासनको गफ हावामा सीमित हुन पुगेको छ । यसरी सरुवा उल्टाउनेहरुमा माधव नारायण नगरपालिका रौतहटमा खटाइएका शेखर पौड्याल,धनगढीमाइ नगरपालिकामा सरुवा भएका फणिन्द्र दाहाल,गौर नगरपालिकाबाट मातृका आचार्य,सबैला नगरपालिकाबाट कमल प्रसाद पाण्डे,बुंगल नगरपालिका खटाइएका तारानाथ पनेरु र हरिपुर नगरपालिकाबाट जितेन्द्र कुमार यादव,पोखरिया नगरपालिकाबाट प्रर्दशनी कुमारी,सुखीपुर नगरपालिकाबाट मुकेश कुमार केशरी, इशनाथ नगरपालिका खटाइएका तुलसी दाहाल, राजपुर नगरपालिकाबाट पुष्कर राना,गणेशनाथ चारनाथ नगरपालिकाबाट खटाइएका रुद प्रसाद नेउपाने, देवाही गोनाही नगरपालिकाबाट नारायण पाण्डे, कविलासीबाट नरेश कुमार यादव ,शहीदनगर नगरपालिकामा खटाइएका चेतराज बराल,कञ्चनरुप नगरपालिकाबाट अनसज भण्डारी,मधुवन नगरपालिकाबाट चिरञ्जिवी राना र गोलबजार सिराहाबाट विनोद कुमार पोखरेल सरुवा उल्टाउन सफल भएका छन्,उनीहरु गृहमै फर्किएका छन् ।
गृहका सहसचिव काली प्रसाद पराजुलीका अनुसार,गृहमा १४७ जना उपसचिवको दरबन्दी रहेकोमा १७ १८ वटा उपसचिवको दरबन्दी रिक्त रहेको पाइएपछि उनीहरुलाई गृहमै फिर्ता बोलाइएको जनाएका छन् । निर्वाचनको सम्मुखमा छौं । कतिपय जिल्लादेखि इलाका प्रशासनसम्म खटाउनु पर्ने भएका कारण उनीहरुलाई फिर्ता बोलाउने गृहमन्त्री र सचिवकै निर्णय हो,त्यही अनुसार फिर्ता बोलाइएको हो,पराजुलीले कर्मचारी प्रेससँग भने ।
गृह स्रोतका अनुसार यस अघि भदौं १३ मा स्थानीय तहमा खटाइएको र हालै गृह फिर्ता भएका उपसचिवहरुको मंगलबारसम्ममा पोस्टिङ गरिने जनाइएको छ ।


























