सडक विभागले हालै मात्र विभागमा कार्यरत केही कर्मचारीहरुलाई पुरस्कृत गरेको छ ।
बिज्ञापन
पुरस्कृत गरिँदा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई नभई हाकिमहरुलाई सुमेरु पर्वत मानेर घुम्ने कर्मचारीलाई मात्र पुरस्कृत गरिएको भन्दै चर्काे आलोचना भइरहेको छ । गत २१ र २२ गते आयोजित एक कार्यक्रममा विभिन्न ११ विधामा प्रशंसापत्र र पुरस्कार बाडिँदा कार्यसम्पादनका आधारमा भन्दा पनि उच्च प्रशासकहरुसँग आँखामा परेका कर्मचारीलाई मात्र पुरस्कृत गरिएको भन्दै सडककै कर्मचारीहरु विरोध गरिरहेका छन् ।
बिज्ञापन
यो प्रसंग सेलाउन नपाउँदै निजामती सेवा पुरस्कार सिफारिस समिति गरिँदा समेत उस्तै गरी जालझेलपूर्वक ढङ्गबाट सिफारिस भएको भेटिएको छ ।
मुख्यसचिवको संयोजकत्वमा गठित सिफारिस समितिमा कानुन मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयका सचिवसँगै पूर्व मुख्यसचिव सदस्य रहने छन् । सोही सिफारिस समितिमा भौतिक पूर्वाधार मन्त्रालयले केही नाम पठाएको स्रोतले जानकारी दिएको छ ।
बिज्ञापन
भौतिक पूर्वाधार मन्त्रालयले आगामी २२ भदौंमा मनाइन लागेको निजामती सेवा दिवसको अवसमा उत्कृष्ट कर्मचारीको रुपमा सिफारिस गरेको एक महिला कर्मचारी निजामती ऐन विपरित चार बर्षदेखि एउटै कार्यालयको प्रमुखको जिम्मेवारीमा रहेको भेटिएको छ । उपसचिवमा बढुवा हुने वित्तिकै कोरिडोरको जिम्मेवारी सम्हाल्न पुगेकी र निमित्त र कार्यालय प्रमुखका रुपमा तीन तीन पटक एउटै कार्यालयमा हाक्ने अवसर पाएकी ती कर्मचारीको नाम निजामती सेवा पुरस्कारका लागि सिफारिस भएको भेटिएको हो ।
निजामती सेवा ऐनले कुनै पनि कर्मचारीलाई बढीमा २ बर्षमात्र एउटै कार्यालयमा राख्न भन्छ तर,एउटै कार्यालयको तीन तीन पटक नेतृत्व गर्ने अवसर पाइहन सफल उनलाई यस अघि समेत अमेरिका,अष्ट्रेलिया लगायतको मुलुक भ्रमणको अवसर मन्त्रालयले उनैलाई प्रदान गरेको थियो ।
यसरी एउटै कर्मचारीले वैदेशिक भ्रमण,पुरस्कार,तक्मादेखि ठूलो आयोजनाको जिम्मेवारी पाउदा शिवलाल दाहाल,रमेश पौडेल,सुजन अधिकारी,प्रदीप भण्डारी,विजय महतो,मन्द पन्त,सजना अधिकारी,त्रिलोक घिमिरे,बद्री शर्मा,राकेश महर्जन र नातीबाबु खड्का लगायतका कर्मचारीहरु चिल्लै छन् । उनीहरुले आजसम्म कुनै आयोजनाको नेतृत्व गर्ने अवसर पाएका छैनन् । उसो त यस अघि यिनै सचिव केशव शर्मा विडारीले अघिल्लो बर्ष शोभा गिरीलाई उत्कृष्ट निजामती पुरस्कार दिलाएका थिए । शोभा भौतिक मन्त्रालयको त्यस्तो अपवाद कर्मचारी हुन,जो १६ बर्षदेखि एउटै आयोजनाको हर्ताकर्ता छिन् । उनले १६ बर्षदेखि एडिबी आयोजना छोडेर दायाँ बायाँ हुनु परेको छैन ।
सरकारले हरेक २२ भदौंमा निजामती सेवा दिवस मनाउँदै आएको छ । सो अवसरमा १ सर्वाेत्कृष्ट,१० लाई उत्कृष्ट र ३० जनालाई निजामती पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ । झण्डै ८६ हजार कर्मचारीबीच प्रदान गरिने यस्तो पुरस्कार इमान्दार र कर्मठ कर्मचारीले कम र मन्त्री,सचिवहरुलाई सुमेरु पर्वत मानेर दायाँ बायाँ लगाउने गणेशहरुले मात्रै हात पार्दै आएको निजामती कर्मचारीहरु नै गुनासो पोख्छन् ।
सरकारले हरेक बर्ष २२ भदौंमा निजामती सेवा दिवस मनाउँदै आएको छ । विभिन्न मन्त्रालयबाट सिफारिस भएका नामलाई मुख्य सचिव अध्यक्ष रहेको सिफारिस समितिले मन्त्रिपरिषदमा पठाउँछ र सोही नामका आधारमा निर्णय भएपछि छनौटमा परेका कर्मचारीलाई सरकारले पुरस्कृत गर्दै आएको छ ।
पछिल्लो केही बर्षदेखि १० जना उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्राप्त गर्दै आएका भए पनि ८६ हजार हाराहारी निजामती कर्मचारीभित्र एउटै सर्वाेत्कृष्ट कर्मचारी फेला पार्न सकेको छैन,सरकारले । यो राष्ट्रिय लज्जाको बिषय बन्न पुगेको छ ।