बिज्ञापन
नेपाली जनताले सरकारबाट पाउनु पर्ने सेवा सुविधामा गुण स्तर कम भयो, अपारदर्शी भयो, खर्चिलो र झन्जटिलो भयो, सेवा दिने प्रकृया अनाबश्यक लामो भयो भनेर गुनासो गरेका छन्। वास्तवमा यो गुनासो मात्र नभएर सही र सत्य हो कि जनताहरू सरकारबाट प्रदान गरिएका सेवाबाट सन्तुष्ठ छैनन्।
यसरी सेवा प्रवाहमा देखिएका विसंगती र विकृतिको कारण अरू कोही नभएर हाम्रा नीति निर्माता र सेवा प्रदायक कर्मचारी नै हुन्। यिनीहरूको ब्यबहारबाट वाक्क र दिक्क भएर जनताले यिनीहरूको बिकल्प खोजेका हुन्। जनताहरूले पाएको यस्तो हैरानीबाट मुक्ति पाउन यिनीहरूको प्रवृत्ति फेर्न चाहेका हुन् तर लामो प्रतीक्षा गर्दा पनि यिनीहरूको काम गर्ने शैलीमा केही परिवर्तन नआए पछि यी पात्र फेरेरै भए पनि आफूले राज्यबाट पाउने सेवा सुविधालाई सरल, सहज, पारदर्शी, मितब्ययी र झन्झटमुक्त बनाउन चाहन्छन्।
यी त भए सेवा प्रवाहका क्रममा उठेका प्रश्नहरू! यस्तै प्रश्न देशमा देखिएको भ्रष्टाचारका विषयमा पनि उठेका छन्। देश फेरि अर्को पटक ग्रे लिष्टमा परेको पाईएको छ। छिट्टै नै यसमा सुधार गरिएन भने मुलुक नै कालो सूचीमा पर्ने सम्भावना बलियो हुदै गएको छ। विश्वले केही विश्वास गर्दा त मुलुकको हालत यस्तो छ भने विश्वले नेपालको निम्ति ढोका बन्द गर्नु पर्ने अवस्थामा पुग्यो भने हाम्रो हालत के होला? साच्चै भन्ने हो भने नेपाल त्यतै तिर गै रहेको देखिन्छ। यस्तो वार्निंग आई रहदा पनि सत्तामा बस्नेहरू निरो नै भै रहेका छन्। मुलुक यो स्थितिमा पुग्नुमा समेत सुशासनको अभाव नै हो।
यस प्रकार जनताले खोजेको सुशासन हो। लामो समय सम्म पनि सुशासनको अनुभूति गर्न नपाउदा यसको निहुं बनाएर रोटी सेक्न खोज्नेहरू सडकमा देखिएका छन्। यदि सत्तामा बसेकाहरूले जनताको भावनालाई अझै उपेक्षा गरे भने जनतामा देखिएको असन्तुष्ठीले सडकलाई प्रयोग गर्न खोजेमा अन्यथा मान्न सकिदैन।
बिज्ञापन
त्यसो त यिनीहरूको विकल्पमा हाल सडकमा देखिएको असन्तुष्ठीले समेत जन अपेक्षा बोकेको छ भन्न सकिदैन। किनभने यो पनि रगत पिएको बाघ जस्तै अगाडि बढ्न खोजेको बुझिन्छ। आफूलाई कहिल्यै प्रजातान्त्रिक आकारमा ढाल्न नचाहने र आफूलाई अधिनायकवादी कित्तामा राख्न चाहने ईतिहांस संग एकाकार हुन चाहने हालको सडकवादी शक्तिले पनि जनताको चाहनालाई संवोधन गर्ने कुरै भएन।
त्यस्तै कहिले सडकमा कहिले संसदमा कहिले सत्तामा कहिले प्रतिपक्षमा रहदै आएको र आफूलाई वाम पन्थको पक्षमा उभ्याएको शक्तिले पनि मुखले मात्र प्रजातन्त्र जप्ने तर ब्यबहारमा प्रजातन्त्रका मर्म र भावनालाई कुल्चिने कार्यकर्तामा आधारित(Cadre based) शक्तिले समेत जनभावनालाई संबोधन गर्न नसकेको कुरा घाम जस्तै छर्लंग छ।
यसैले वर्तमान जनभावनालाई समेट्न सक्ने एक मात्र शक्ति भनेको लोकतान्त्रिक वा प्रजातान्त्रिक शक्ति नै हो, यसको बिकल्प छैन तर यसमा समस्या के छ भने यो शक्ति हांक्ने नेत्तृत्त्व कमजोर भएको पाईएको छ। हाल यो शक्तिलाई कमजोर बनाउने काम यसको नेत्तृत्त्वबाटै भएको छ। अरू राजनीतिक दलहरूमा जस्तै यस दल भित्र रहेका यूवाहरू पनि सत्ता कै चास्नीमा डुब्ने बानी परेको छ। यसमा रहेका यूवाहरूले सत्ताको लागि नेत्तृत्त्वको चाकडी गरिरहेको भान परेको छ। प्रजातान्त्रिक दलहरूमा देखिएको यस्तो विकृतिले जनता विवस छन्। जनताले राज्यबाट ठूलो अपेक्षा गरेका छन् र यो अपेक्षाको सहज डेलिभरी खोजेका छन् र यस्तो डेलिभरी तानाशाह र अधिनायकवादी सत्ताधारीहरूबाट पाईदैन भन्ने पनि बुझेका छन्। यसै कारण राजावादीको नाममा देखिएको सडक आन्दोलन प्रभावकारी रूपमा अगाडि बढ्न सकेको पाईदैन र यो अगाडि बढ्दैन पनि।
खासमा भन्ने हो भने जनताले राजनीतिक गन्तब्यको बिकल्प खोजेका हैनन् र यही राजनीतिक ब्यबस्थाको माध्यमबाट प्रभावकारी डेलीभरी खोजेका हुन्। जनताले फेर्न चाहेको कुरा सेवा प्रदायकको भूमिका हो जुन भूमिकाबाट जनता आजित भएका छन्। गणतन्त्रमा शासक हैन सेवकको अपेक्षा हुन्छ तर यहां राजनीति गर्नेहरू राजा भन्दा माथि हुन चाहे र सेवा प्रदायकहरू शासक हुन खोजे । जनताहरू आफू रैती भएको देख्न चाहने शासकीय शैलीको परिवर्तन चाहेका छन् जनताले।
नेपाली समाजमा एउटा उखान चरितार्थ हुने गरेको छ त्यो हो कस्तुरीले आफै संग भएको सुगन्धात्मक विनाको महत्व थाहा नपाए जस्तै नेपालको प्रजातान्त्रिक शक्तिले आफ्नो क्षमता थाहा नपाएर अरूको बैसाखी बनेर हिडीरहेको देखिन्छ। मतदाताले प्रजातन्त्रको पक्षमा मतदान गरेर ठूलो दलको रूपमा यो शक्तिलाई जिताए पनि त्यसको नेत्तृत्त्वले आफूलाई देश र जनताको हितमा लैजान नसकेको परिणाम आजको बिसंगति हो भन्न हिच्किचाउनु पर्दैन तर पनि यसले आफूलाई सुधारेर अगाडि बढ्नुको सट्टा पटक पटक गैर प्रजातान्त्रिक दललाई कांधमा हालेर हिडी रहेको छ। यसर्थ सरकारले डेलिभरी दिन नसकेको विषयको निकास सडकबाटै पाईने हो कि भनेर जनता त्यस तर्फ आकर्षित भएका छन्। यस परिस्थितिमा प्रजातान्त्रिक शक्तिले आफ्नो समन्वयमा अरू पार्टीलाई डोर्याएर जन सरोकारका विषय सम्बोधन गर्नु पर्ने हुन्छ। यसमा वर्तमान नेत्तृत्त्व अक्षम भएको देखिएकोले तुरून्त नेत्तृत्त्व फेरेर अगाडि बढ्नुको बिकल्प देखिदैन।



































