कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मङ्गलवार रुपन्देहीमा बयानका लागि ल्याइने भएको छ ।२४ दिनदेखि सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि हिरासतमा रहेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको छ ।
बिज्ञापन
सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले त्यहाँ अनुसन्धान नसक्दै रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न रुपन्देही प्रहरीले उनलाई ल्याउने तयारी गरेको हो। यसका लागि रुपन्देही अदालतबाट प्रहरीले अनुमति लिइसकेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरका अनुसार लामिछानेलाई सकभर आज साँझ नभए भोलि (मंगलबार) सम्ममा ल्याइनेछ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथी बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ।
सोही सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ।लामिछानेलाई रुपन्देही पठाउन रुपन्देही प्रहरीले यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ। रुपन्देही प्रहरी स्रोतका अनुसार कास्की प्रहरीसँगको समन्वयमा सोमबार साँझको जहाजबाट भैरहवा ल्याइने गरी प्रक्रिया अगाडि बढेको छ।



































