जिँउदालाई त ठगेकै थिए । लासका नाममा समेत ठग्न पछि नपर्ने रहेछन्,केही गिरोहहरु । यस्तैको बोलबोला छ हाम्रो नेपाली समाजमा । हो यस्तै ‘तरमारा’हरुको कारण कहिलेकाँही विचलित हुन्छु । यद्यपि मनलाई हार्न दिएको छैन,कर्मबाट भागेका छैनौं ।
बिज्ञापन
जसले हालसम्म २२ सयभन्दा बढी वेवारिसे लासको सद्गद् गरिसकेकाछन् । वेवारिस लास जलाउने पैसा नुहँदा सहकारीको चर्काे व्याजको ऋृण,आफैंले चढिरहेको वाइक कयौपटक धरौटीमा राखेका छन् । घर नै बैंकमा धितो राखेर ऋण लिएर वेवारिसे लासको सद्गद् गर्ने काम गर्दै आइरहेका छन् तर केही सहयोग गरेजस्तो गरेर ३० बर्षदेखि वेवारिसे लासको सद्गद् आफैंले गरिरहेका दुस्प्रचार गरिरहेकाछन,अहिले जगदीश वैद्यले । सिंङ्गो राज्यलाई गुमराहमा पार्ने वैद्यले एउटा व्यक्तिलाई गुमराहमा पार्नु कुन ठूलो भयो र ? केही अघि पाटन अस्पतालमा रहेको ३० वटा लासको सद्गद् गर्नुपर्ने भयो । २५ वटा लास जलाउने पैसा जसोतसो जोरजाम भयो । ५ वटा लास जलाउने पैसा पुगेन । राष्ट्रिय दलित आयोगका सदस्य देवराज विश्वकर्मालाई गुहारे । उहाँले जगदीश वैद्यसँग जोडाइदिनु भयो । लास सद्गद् गर्ने समयमा वैद्य पाँच जना क्यामराम्यान बोकेर पशुपति आर्यघाटमा आइपुग्नुभयो । ती लासका अगाडि उभिएर २०/२५ वटा तस्विर लिनुभयो । ती लासको सदगद् हामीले नै ग¥र्यौ । घाटबाट निस्किएपछि विगत ३० बर्षदेखि वेवारिसे लासको सद्गद् गरिरहनुभएको जगदीश वैद्यले आज थप पाँच वटा लासको सदगद् गर्नुभयो भन्ने प्रचार गर्नुभयो । मन कुँडियो,छिया छिया भयो ।
बिज्ञापन
उहाँले वेवारिसे लासको तस्विरलाई कमाइखाने भाँडो बनाउनु भएको होला तर लासको नाममा यति दुर्गन्धित राजनीति नगरिदिएको भए हुन्थ्यो । यस अघि विजयजङ्ग बस्नेतको जीवनमा यस्तै एउटा हुण्डरी आयो । जस्लाई आफैंले छोरी बनाएर पाल्नुभयो । ममता दिएर हुर्काउनुभयो । दुव्र्यसनीमा डुबेकी सपनालाई उनका बुवा आमाले रिह्याबमा राखेर सुधार्ने विनयजङ्गको जिम्मा लगाएर पठाउनु भएको थियो । रिह्याब सेन्टरमा लैजादा सञ्चालकहरुले जबाफ फर्काए ‘विनय दाई अब तपाई आफैं रिह्याब सेन्टर भइसक्नुभयो ।’आफ्नै साथमा राखेर सपनालाई सुधारे । आफू सँगसँगै वेवारिसे लासको सद्गद् गर्ने अगाडि बढाए । वीवीसीले प्रभावशाली १०० महिलाको सूचीमा म अर्थात श्रीमती पूजा,यही कर्ममा निस्वार्थ जोडिएकी पवित्रा लामाको नभइ उनै सपनाको नाम फाराममा भरिदिनुभयो । जब वीवीसीको प्रभावशाली महिलाको सूचीमा सपनाको नाम आयो अनि शुरु भयो विनयसँगको दुश्मनी । छोरीको रुपमा सम्मान दिएर राखेको सपनाले विनयलाई प्रहरी हिरासतमा पु¥याइन । सपनालाई छोरीझैं मानेर मेरो शेखपछि बेवारिसेको दागबत्ति तिमीले नै दिनुपर्दछ,मेरो दागवत्ति दिने पनि तिमी नै हौं भनेर भन्नुभएको थियो । तर उनको छलछामले विनयजङ्ग २४ दिन टेकुमा हिरासतमा पुग्नुभयो । उहाँसँग मेरो पूरानो चिनजान थियो,म एक मिडियाकर्मी र उहाँ समाजसेवी ।
बिज्ञापन
केही मान्छेहरु चाहन्थें,विनयजङ्ग फेरि विग्रियोस,पत्रु होस,पुन दुव्र्यसनीमा लागोस । नखाएको बिष लाग्दा फेरि उहाँ दुव्र्यसनीमै फर्कन सक्ने अवस्था थियो । उहाँलाई त्यो डिलबाट बचाउनु थियो । विनयजङ सबैलाई आँखा चिम्लेर विश्वास गर्ने व्यक्ति । आफूलाई भन्दा बढी विश्वास सपना मगरलाई गर्नुभयो । सोही परिणाम दुश्चक्रीहरुको जालमा उहाँ पर्नुभयो तर नखाएको बिष केही गरे पनि लाग्दैन । पिता समानको बुवा विनयलाई फसाएपछि आज सपना रोक्काहरु कहाँ छन्,वेवारिसे लासको तस्विर देखाएर कहाँकहाँ बाट कति रकम झारिन,त्यो रकमले अहिलेसम्म कति वेवारिसे लासको सद्गद् गरिन,कसैले खोजे हुने हो तर कसैलाई फुर्सद छैन तर यो घटनापछि पनि विचलित नभइ हामी वेवारिसे लासको सद्गद् गरिरहेका छौं ।
सिम्लामा जन्मिएकी एउटा केटी म । यो समाजले दलितको ट्याग लगाइदिएको छ । बिष पिएर शरिर त्याग्नुभयो,बुबाले । त्यतिखेर म मात्र १२ बर्षको थिए । बुवा दहीमा बिष हालेर खानुभयो र सधैको लागि यो संसार त्याग्नुभयो । बुबा बित्नुभएको ४५ दिनमा आमाले काकाकाकीको घरमा ल्याएर छोड्दिनुभयो । नेपालगञ्जको खजुरा बी गाउँमा अंकल आन्टी बस्नुहुन्थ्यो । त्यहाँ जाँदा थाहा भयो सबै सम्पत्ति बेचेर जानु भएको रहेछ । अंकल आन्टीको घरमा साहारा लिन बस्न बाध्य भयौं । त्यहाँ समाजले आइडल मानेकी एक जना आन्टी हुनुहुन्थ्यो ओम शान्तीमा लाग्नुभएको । उहाँसँग भेट भए पछि काठमाडौंमा ल्याउनु भयो जहाँ उहाँको बहिनीको घर छ । ०७२ सालमा कलकी काठमाडौंमा आएर विद्यामन्दिर सेकेण्डरी स्कूल कक्षा सातमा भर्ना भए । आठ कक्षामा पुग्दा आमाले अर्काे विवाह गरेको थाहा पाए । दुई दिदीहरु दिल्लीमा,भाइहरु गाउँमा । म यो विरानो शहरमा । ०७५ सालमा एसईई परीक्षा पार लगाए पछि कुलेश्वर जनमैत्री क्याम्सपसमा पत्रकारिता विषय लिएर पढ्न थाले । मलाई यहाँसम्म ल्याउने कलावती गिरी र उहाँको बहिनी र परिवार प्रति सदा आभारी छु । जे सिके जाने,त्यही जाने । आन्टीको घर छाडेर धादिङ्गको साथी मीना विश्वकर्मा,जस्को घर नैकापमा थियो त्यहाँ बसेर पढ्न थाले । नैकापदेखि कुलेश्वरसम्म हिडेर गएको दिन कहिल्यै बिर्सन्न । अतिरिक्त क्रियाकलापमा अगाडि थिए । कक्षा १२ को फेयरवेल कार्यक्रममा उद्घोषणको जिम्मेवारी मेरो काँधमा थियो । अतिथीका रुपमा आमन्त्रण गरिएको थियो लेखान्त भुसाल ‘घिरौले’ । मेरो उद्घोषण देखेर उहाँ प्रभावित हुनुभए छ । मिलिजुली यूट्युबमा काम लगाइदिनुभयो । पारिश्रमिकता थियो १० हजार । म जस्तो गरिब र टुहुरी केटीका लागि १० हजार धेरै ठूलो भयो । त्यसपछि मेरो मन पढाइतिर कम र मिडियातिर धेरै जान थाल्यो । मिडियाको लत यस्तो थियो कि केही गरेर देखाउने प्रण लिएकी थिए । उक्त यूट्युब राम्रो चलेन । त्यसपछि म थाहा अनलाइनमा आवद्ध भए । तलब २ हजार बढी अर्थात १२ हजार तोकिएको थियो तर साहुहरुका लागि ९० दिन पुग्दा पनि महिना भएन । यद्यपि १२ को परीक्षा नदिइ सिन्धुपाल्चोकको चौतारामा जातीय विभेदको घटनामा कुटाकुट भएको बिषयमा रिर्पोटिङ गर्न पुगे । रिर्पोटिङका लागि परीक्षा छाडें,अहिले पछुतो लाग्छ ।
त्यससमयमा म होस्टलमा बस्थें । तलब १२ हजार थियो,आठ हजार होस्टलमा तिर्नुपर्दथ्यो । एउटा मिडिया छाड्दै फेरि अर्काे मिडियामा जोडिए त्यस समय रंगीन टिभीमा आवद्ध थिए । पारिश्रमिकताको समस्या,उस्तै थियो । बसन्तपुरको मन्दिर छेउमा ६ बर्षकी अवोध बच्चाले आमाको उपचार खर्च जुटाउन पानी बेचिरहेको बिषयमा रिर्पोटिङ गरियो । उक्त रिर्पोटिङ्ग पछि उहाँलाई राम्रै सहयोग जुट्यो ।
महङ्गो काठमाडौंमा टिक्न गाह्रो भए पछि म पुन तराई झरें । नेपालगञ्जस्थित कोहलपुरमा रहेको रेडियो प्रतिवोधमा कार्यक्रम सञ्चालन गर्दथें, ६ हजार तलब आउँथ्यो । त्यही समयमा विनयजंगले वेवारिसे लाश व्यवस्थापन तथा पुर्नजीवन केन्द्रको शाखा नेपालगञ्जमा खोल्नुप¥र्यो भन्नुभयो । उहाँसँग काठमाडौंमा मिडियामा काम गर्दा चिनजान भएको थियो । पहिलो पटक भेरी अस्पतालमा कुहिएको लास हेर्न गए । ती लास टाटा गाडीमा हालेर कोहलपुर नजिकै मानखोलामा लगेर दागबत्ति दियौं । कहिल्यै लास नछोएको मैले लास डढाए । खल्तीमा पैसा नभए पनि वेवारिसे लास सद्गद् गरेको दिन अभूतपूर्व आनन्द मिल्यो ।
विनयजङ्ग,हुनेखानेको छोरा काठमाडौं टीकाथलीमा जन्मिएका उनका बुवा महालेखाका जागिरे । १५ बर्षकैं उमेरमा आमा गुमाएका । २० बर्षको हुँदा इमाडोलको केटीसँग विवाह गरेका,उनकी छोरी अहिले अष्ट्रेलियामा छिन् । सङ्गत गुणाको फल भनेझैं कुलतमा डुबेपछि श्रीमतीका लाखौ कोसिसका बाबजुत पनि सुर्धान सक्नुभएन र माइती गएर बस्नुभयो । बुवा आमाका लागि सबैभन्दा खुसी र आनन्द सन्तान सही बाटोमा हिडे लाग्ने हो । छोरा विग्रिएको,घर भाँडिएको देख्दा बुवाको मन भाँडियो सायद । एक बिहानै इमाडोलबाट साथीको घर लाजिम्पाट जानुभएको उहाँ कहिले नफर्कने गरी अस्तानुभयो । गाडीको ठक्करबाट ज्यान गएको उहाँको शव त्रिवि शिक्षण अस्पतालमा वेवारिसे लासको चाङ्गमा बुवाको लास देखे । त्यहाँ सयौं लास वेवारिसे अवस्थामा थिए । त्यही पछि क्लिक भएको विनयजङको दिमागमा वेवारिसे लासको हितमा काम गर्ने । जब उनले वेवारिसे लासको सद्गद् गर्दथे र घर फर्कन्थें,टोलका मान्छेहरु पागलको संज्ञा दिन्थें ।
वेवारिसे लास छोएर आएको मान्छे भनेर घर भित्र छिर्न दिदैनथें । छि छि र दूरदूर गर्दथें । उहाँकै प्रेरणाले म पनि वेवारिसे लास सद्गद् गर्ने क्रममा जोडिए । भनिन्छ,जन्म ,मृत्यृ र विवाह पुर्व निर्धारित हुन्छ । समाजले् दलितको ट्याग लगाएको एउटा महिला,बाल्यकाल अरुको घरमा जूठो भाडा माझेर हुर्किए,बढें,पढे । बुवाले १२ बर्षकै हुँदा छोड्नुभयो । आमाले दोश्रो रोज्नुभयो । यो शहरमा कोही थिएन आफ्नो । म आफैं पनि वेवारिसेझैं थिए ।उहाँसँगै थुप्रै लास जलाए । मैले के काम गरिरहेको मलाई थाहा थिएन । तर आत्मालाई खुसी भइहेको थियो । जिन्दगीमा कहिल्यै पैसा भएन । सधै दुखै दुख र अभावमा हुर्किएकी केटी मान्छे म । उहाँसँगको सामिप्यता,संघर्ष गरेर बाँचिरहेकी मान्छे । म सँग के नै बाँकी थियो र ? उहाँले घर,जग्गा नै फाइनन्समा राखेर वेवारिसे लास जलाएर हिड्नुभएको थियो । यही बीचमा सपना रोक्काको फण्डा आयो । उहाँमाथि मात्र होइन मलाई पनि हिलो छ्यापियो । निस्वार्थ ढङ्गले सेवा गर्दा गर्दै हामी दुबैमाथि दाग लागेको स्थिती थियो । यस्तैमा ०७८ साल दशैंको अष्टमीको दिन गुहेश्वरी मन्दिरमा पुगेर हामी एक अर्काेको भयौं । मसँग विवाह गर्नु अघि उहाँले सात सय बढी वेवारिसे लासको सद्गद् गर्नुभएको थियो । त्यस यता अहिले केन्द्रको ५२ जिल्लामा शाखा छन् । केन्द्रले २२ सयभन्दा बढी वेवारिसे लासको सद्गद् गरिसकेको छ । पेटमा बच्चा हुर्कदै थियो । डाक्टरले बच्चा जन्मने मिति दिएको अघिल्लो दिनसम्म पशुपति आर्यघाटमा वेवारिसे लासको सद्गद् गरेकी छु ।
काखे बच्चालाई च्यापेर सयौं लासको सदगद् गकेको छु । तर हाम्रो जीवनमा कहिले सपना रोक्काजस्ता पात्र आउँछन् र पाठ सिकाएर गएका छन् । अनि कहिले जेभी फाउण्डेसनका जगदीश वैद्यहरु केही सहयोग बोकेर आउँछन् र प्रचार गर्दछन्,३० सालदेखि वेवारिसे लासको काम गरिरहेको । यस्ता दृश्यहरु देख्दा र भोग्दा मन छियाछिया हुन्छ । विचलित हुन्छौं । आजसम्म संस्थाको नाममा एउटा बैंक खाता छैन । त्यही बैंक खाता नहुँदा वेवारिसे लासको लागि काम गरेको १२ बर्षपछि पहिलो पटक सरकारी तबरबाट काठमाडौं महानगरपालिकाले ३ लाख सहयोग दिएको थियो । बैंक खाता नहुँदा ढुस हुन पुगेको छ । तर यही वेवारिसे लासको फोटो देखाएर केही लुट्न र ठग्न पल्किएकाहरु गुमराहमा राखेर रकम उठाएर आफ्नो चुल्हो बाल्दै आएका छन्,यस्तो देख्दा विरक्त लाग्छ । यो शरिरमा एक मुठी सास र तातो रगत रहुञ्जेल वेवारिसेहरुकै हितमा काम गर्ने प्रण लिएका छौं,विनयजंग र मैले । वेवारिसेका नाममा ठगी धन्दा चलाउने ‘पानीको फोका’हरुलाई सबैले समयमै चिन्नुहोला । अन्यथा जेभी फाउण्डेस र सपना रोक्काका कारण हामी पछुताएझैं यहाँहरु पनि पछुताउनु नपरोस । यही आग्रह, यति अनुनय ।
पूजा बस्नेत,बेवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्र