एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

 

बिज्ञापन

डा. दामोदर रेग्मी

बिज्ञापन

परिवर्तनशील समयसँगै व्यवस्थापनको स्वरूप, सोच र कार्यशैलीमा पनि व्यापक परिवर्तन आएको छ। हिजो व्यवस्थापनको केन्द्रमा योजना, नियन्त्रण, अनुशासन, स्रोत परिचालन र कार्यसम्पादन थिए भने आज त्यससँगै मानवकेन्द्रितता, ग्राहक सन्तुष्टि, नवप्रवर्तन, डिजिटल रूपान्तरण, लचकता, सहकार्य, दिगोपन र निरन्तर सुधार जोडिएका छन्। प्रविधिको तीव्र विकास, विश्वव्यापीकरण, बदलिँदो सेवाग्राही अपेक्षा र बढ्दो अनिश्चितताले व्यवस्थापनलाई स्थिर प्रक्रियाबाट गतिशील, अनुकूलनशील र परिणाममुखी अभ्यासतर्फ रूपान्तरण गरिरहेको छ।आजको व्यवस्थापनको वातावरण विविध कारणले स्थिर छैन। प्रविधिमा तीव्र परिवर्तन, सेवाग्राहीका बदलिँदा अपेक्षा, बजारको अनिश्चितता, नयाँ चुनौती र सीमित स्रोतका कारण संस्थाले धेरै वर्षअघि बनाएको योजनाअनुसार मात्र काम गरेर अपेक्षित परिणाम प्राप्त गर्न कठिन हुँदै गएको छ। यस्तो परिस्थितिमा एजाइल व्यवस्थापन (Agile Management) आधुनिक व्यवस्थापनको महत्वपूर्ण अवधारणाका रूपमा विकसित भएको छ।अर्को शव्दमा एजाइल व्यवस्थापन भनेको ठूलो कामलाई साना साना कार्यमा विभाजन गरी छोटो अवधिका चरणमा कार्यान्वयन गर्ने, परिणाम परीक्षण गर्ने, सेवाग्राही वा सरोकारवालाबाट प्रतिक्रिया लिने र प्राप्त प्रतिक्रियाका आधारमा निरन्तर सुधार गर्दै अघि बढ्ने लचिलो व्यवस्थापन पद्धति हो।यस व्यवस्थापनको मूल अवधारणा योजना आवश्यक छ, तर परिवर्तनशील परिस्थितिमा योजनालाई सुधार गर्न सक्ने क्षमता अझ आवश्यक छ भन्ने नै हो। एजाइल  शब्दको अर्थ नै छरितो, गतिशील, लचिलो र परिस्थिति अनुसार छिटो अनुकूल हुन सक्ने भन्ने हुन्छ। एजाइल व्यवस्थापन को शाव्दिक अर्थ  लचिलो व्यवस्थापन , अनुकूलनशील व्यवस्थापन, गतिशील व्यवस्थापन , छरितो व्यवस्थापन,  लचिलो तथा अनुकूलनशील व्यवस्थापन हुन सक्दछ । परम्परागत व्यवस्थापनमा प्रायः पहिले विस्तृत योजना बनाइन्छ, त्यसपछि लामो समयसम्म सोही योजनाअनुसार काम गरिन्छ र अन्त्यमा परिणाम मूल्याङ्कन गरिन्छ। एजाइल व्यवस्थापन मा भने कामलाई साना भागमा विभाजन गरिन्छ। प्रत्येक सानो चरणमा काम सम्पन्न गरिन्छ, परिणाम परीक्षण गरिन्छ, प्रतिक्रिया लिइन्छ र अर्को चरणको योजना आवश्यकताअनुसार परिवर्तन गरिन्छ। एजाइल व्यवस्थापन निरन्तर सिकाइ, सहकार्य, अनुकूलन र सुधारमा आधारित व्यवस्थापन प्रणाली पनि हो। एजाइल व्यवस्थापनलाई एउटा सरल सूत्रबाट प्रस्तुत सकिन्छ—

Plan – Act – Test – Feedback – Learn – Improve – Repeat

बिज्ञापन

योजना बनाउने – काम गर्ने – परिणाम परीक्षण गर्ने – प्रतिक्रिया लिने – सिक्ने – सुधार गर्ने – पुनः अघि बढ्ने

एजाइल व्यवस्थापनका मूल्यमान्यता

एजाइल व्यवस्थापनका आधारभूत मूल्यलाई चार मुख्य पक्षबाट हेर्न सकिन्छ।

  • कठोर प्रक्रिया र उपकरणभन्दा जनशक्तिमा जोड (People over rigid processes)

            एजाइल व्यवस्थापन ले अत्यधिक कठोर प्रक्रिया र उपकरणभन्दा जनशक्ति, टोलीबीचको           संवाद र सहकार्यलाई बढी महत्व दिन्छ। यसको अर्थ प्रक्रिया आवश्यक छैन भन्ने होइन।     प्रक्रिया जनशक्ति लाई सहयोग गर्ने हुनुपर्छ ।

  • लामो कागजी प्रक्रिया भन्दा कामको परिणाम (Working results over excessive documentation)

            एजाइल व्यवस्थापन मा लामो कागजी प्रक्रिया मात्र पूरा गर्नुभन्दा वास्तविक रूपमा काम गर्ने             परिणामलाई प्राथमिकता दिइन्छ।उदाहरणका लागि, सूचना प्रणाली निर्माण गर्दा सयौँ पृष्ठको             योजना तयार गर्नु मात्र सफलताको प्रमाण होइन; सेवाग्राहीले प्रयोग गर्न सक्ने प्रभावकारी             प्रणाली तयार हुनु महत्वपूर्ण हुन्छ।

  • सेवाग्राहीसंग सहकार्य (Customer/Client collaboration)

            एजाइल व्यवस्थापन मा सेवाग्राही वा ग्राहकलाई परियोजनाको अन्त्यमा मात्र परिणाम             देखाइँदैन। उनीहरूलाई सम्पूर्ण प्रक्रियामा सहभागी गराइन्छ।यसबाट वास्तविक आवश्यकता       बुझ्न, प्रारम्भिक कमजोरी पहिचान गर्न, गलत दिशामा ठूलो लगानी हुन नदिन र सेवाग्राहीको         सन्तुष्टि बढाउन मद्दत पुग्छ।

  • परिवर्तनलाई स्वीकार र सम्बोधन (Responding to change)

     एजाइल व्यवस्थापनको अर्को महत्वपूर्ण विशेषता परिवर्तनलाई स्वीकार गर्नु हो। नयाँ आवश्यकता आयो, प्रविधि परिवर्तन भयो, सेवाग्राहीको प्राथमिकता बदलियो वा बाह्य परिस्थिति   परिवर्तन भयो भने पुरानो योजनालाई जस्ताको तस्तै पछ्याउनुभन्दा आवश्यकताअनुसार   योजना परिवर्तन गरिन्छ।

 एजाइल व्यवस्थापन चक्र

     ठूलो लक्ष्य – सानो कार्य – छोटो चरण – परिणाम – प्रतिक्रिया – सुधार – अर्को चरणको शुरुवात

उदाहरणका लागि, कुनै सरकारी कार्यालयले नागरिक सेवा सुधार गर्ने परियोजना सञ्चालन गरिरहेको छ भने पाँच वर्षपछि मात्र सम्पूर्ण प्रणाली तयार गर्ने दृष्टिकोणको सट्टा पहिलो चरणमा एउटा सेवा डिजिटल बनाउने,
त्यसको प्रयोग परीक्षण गर्ने, नागरिकको प्रतिक्रिया लिने, समस्या समाधान र आवश्यक सुधार गर्ने, त्यसपछि अर्को सेवा डिजिटल बनाउने तरिका अपनाउन सकिन्छ। सानो सफलताबाट ठूलो परिवर्तनतर्फ जाने एजाइल व्यवस्थापन को विशेषता हो।

 एजाइल व्यवस्थापन का प्रमुख संरचना

एजाइल व्यवस्थापन अन्तर्गत विभिन्न संरचना र व्यवहारिक पक्ष प्रयोग हुने गर्दछन् । तीमध्ये Scrum र Kanban लोकप्रिय छन्।

Scrum

Scrum भनेको निश्चित अवधिका छोटा कार्यचक्र अर्थात् Sprint (छोटो कार्यचक्र) मा काम गर्ने Agile framework हो। सामान्यतया एउटा Sprint १ देखि ४ हप्तासम्म हुन सक्छ। Scrum मा परियोजनाको ठूलो कामलाई साना कार्यमा विभाजन गरिन्छ र प्रत्येक Sprint मा प्राथमिकताका केही काम सम्पन्न गर्ने लक्ष्य राखिन्छ।

Scrum का प्रमुख भूमिकाहरू

  • Product Owner: के बनाउने, कुन कामलाई बढी प्राथमिकता दिने र सेवाग्राहीको आवश्यकता के हो भन्ने पक्षमा ध्यान दिइन्छ।
  • Scrum Master: टोलीलाई Scrum प्रक्रिया प्रभावकारी रूपमा प्रयोग गर्न सहयोग गर्छ र काममा आएका अवरोध हटाउन सहजीकरण गर्छ।
  • Developers/Team Members: वास्तविक कार्य सम्पन्न गर्ने टोली निर्माण गरि तदनुरुप काममा लगाइन्छ ।

यसमा प्रत्येक Sprint पछि के काम भयो, सेवाग्राहीले  के परिणाम प्राप्त गरे, के समस्या आयो, अर्को Sprint मा के के मा के के सुधार गर्ने भन्ने विषयमा समीक्षा गरिन्छ।

 Kanban

Kanban पनि Agile framework कै अंग हो, तर Scrum पध्दति भन्दा यसको कार्यप्रवाह फरक हुन्छ। Kanban मा निश्चित Sprint भन्दा निरन्तर कार्यप्रवाह मा जोड दिइन्छ।  सामान्य Kanban प्रवाह यस प्रकार रहन्छ To Do –  In Progress – Testing/Review – Done

यस विधिमा प्रत्येक कामलाई कार्डका रूपमा राखिन्छ र काम अगाडि बढ्दै जाँदा कार्ड एक तह बाट अर्को तह मा सर्छ। Kanban को महत्वपूर्ण विशेषता Work in Progress (WIP) Limitहो। अर्थात् एकैपटक धेरै काम सुरु नगर्ने। उदाहरणका लागि, “In Progress” मा बढीमा पाँचवटा काम मात्र राख्ने नियम बनाइयो भने टोलीले पहिले ती काम सम्पन्न गर्ने र त्यसपछि मात्र नयाँ काम सुरु गर्नेछ।यसले काम थुपार्ने होइन, काम  समयमै सम्पन्न गर्ने संस्कृतिको  विकास गर्दछ ।

 एजाइल व्यवस्थापन मा परिवर्तन व्यवस्थापन

परम्परागत व्यवस्थापनमा परिवर्तनलाई समस्या मान्ने प्रवृत्ति हुन सक्छ। एजाइल व्यवस्थापन मा भने परिवर्तनलाई सिकाइ र सुधारको अवसर का रूपमा हेरिन्छ। Scrum मा Sprint सुरु भएपछि टोलीको ध्यान निर्धारित काममा केन्द्रित गरिन्छ र  परिवर्तनबाट टोलीलाई जोगाइन्छ। Kanban मा भने कामको प्राथमिकता आवश्यकता अनुसार परिवर्तन गर्न सकिन्छ, तर WIP Limit कायम राखेर टोलीलाई अत्यधिक कामको बोझबाट जोगाइन्छ। एजाइल व्यवस्थापन ले  परिवर्तन आफैँ समस्या होइन; परिवर्तनलाई व्यवस्थित गर्न नसक्नु समस्या हो भन्ने कुरामा जोड दिएको हुन्छ ।

 एजाइल व्यवस्थापन मा कार्यसम्पादन मूल्याङ्कन

एजाइल व्यवस्थापन मा केवल कति काम सुरु भयो  भनेर होइन, कति उपयोगी परिणाम प्राप्त भयो भनेर पनि मूल्याङ्कन गरिन्छ। यस अन्तरगत

Scrum प्रणाली मा

  • Velocity:एक Sprint मा टोलीले कति काम सम्पन्न गर्‍यो भन्ने कुराको मापन गरिन्छ।
  • Burndown Chart: समय बित्दै जाँदा बाँकी काम कति घट्दै गएको छ भन्ने देखाउने graphical tool प्रयोग गरिन्छ ।

Kanban प्रणाली मा

  • Cycle Time:काम सुरु भएपछि सम्पन्न हुन कति समय लाग्यो भन्ने कुराको मापन गरिन्छ।
  • Lead Time: कामको माग/अनुरोध आएदेखि काम सम्पन्न हुँदासम्म कति समय लाग्यो भन्ने कुराको मापन गरिन्छ।

यी मापन प्रणालीहरुले  टोलीको कार्यप्रवाह कहाँ सुस्त छ र कहाँ सुधार आवश्यक छ भन्ने पहिचान गर्न मद्दत गर्छ।

सार्वजनिक प्रशासनमा एजाइल व्यवस्थापन

सार्वजनिक प्रशासनमा एजाइल व्यवस्थापनको आवश्यकता आज झन् बढ्दै गएको छ। नागरिकका अपेक्षा तीव्र रूपमा परिवर्तन भइरहेका छन्, सूचना प्रविधिले सेवा प्रवाहको स्वरूप बदलिरहेको छ, सामाजिक तथा आर्थिक परिवेश निरन्तर गतिशील छ र नागरिकले सरकारबाट छिटो, सरल, पारदर्शी, जवाफदेही तथा गुणस्तरीय सेवा अपेक्षा गर्न थालेका छन्। यस्तो अवस्थामा विगतमा निर्माण गरिएका नीति, प्रक्रिया र कार्यशैलीलाई जस्ताको तस्तै निरन्तरता दिनु मात्र पर्याप्त हुँदैन। सार्वजनिक प्रशासनले परिवर्तनलाई समयमै पहिचान गर्ने, नागरिकको आवश्यकता सुन्ने, सानो स्तरबाट सुधारको परीक्षण गर्ने, प्राप्त परिणाम र प्रतिक्रियाका आधारमा नीति तथा प्रक्रियालाई परिमार्जन गर्ने र सफल अभ्यासलाई क्रमशः विस्तार गर्ने कार्यशैली अपनाउन आवश्यक हुन्छ। यही सन्दर्भमा एजाइल व्यवस्थापनले सार्वजनिक प्रशासनलाई थप लचिलो, उत्तरदायी, परिणाममुखी र नागरिककेन्द्रित बनाउने महत्वपूर्ण व्यवस्थापकीय आधार प्रदान गर्न सक्छ।

सार्वजनिक प्रशासनमा एजाइल व्यवस्थापन को अर्थ हरेक कामलाई हतारमा गर्ने वा कानुनी प्रक्रिया छोट्याउने भन्ने होइन। यसको अर्थ नियम, प्रक्रिया र उत्तरदायित्वलाई कायम राख्दै परिवर्तनशील परिस्थितिअनुसार काम गर्ने तरिकामा आवश्यक लचकता ल्याउनु हो। उदाहरणका लागि कुनै सरकारी कार्यालयमा नागरिकले सेवा लिन लामो समय लाग्ने समस्या छ भने त्यसलाई एकैपटक सम्पूर्ण प्रणाली परिवर्तन गर्ने ठूलो परियोजनाका रूपमा मात्र नहेरी पहिले एउटा सेवाको कार्यप्रवाह अध्ययन गर्ने, अनावश्यक चरण पहिचान गर्ने, सम्भव भएसम्म डिजिटल माध्यम प्रयोग गर्ने, नयाँ कार्यविधिको सानो स्तरमा परीक्षण गर्ने, सेवाग्राहीको प्रतिक्रिया लिने र परिणाम सकारात्मक देखिएमा त्यसलाई अन्य सेवामा विस्तार गर्ने पद्धति अपनाउन सकिन्छ।यसका लागि निम्न चरणहरुमा काम गर्नु पर्ने हुन्छ।

समस्या पहिचान

सुधार

परीक्षण

प्रतिक्रिया

मूल्याङ्कन

सुधार

विस्तार

 यसले सुधारलाई केवल योजनाको दस्तावेजमा सीमित नराखी व्यवहारमा देखिने परिणामसँग जोड्छ।

नीति निर्माण र कार्यान्वयनमा पनि एजाइल व्यवस्थापनको सोच उत्तिकै उपयोगी हुन सक्छ। परम्परागत रूपमा कुनै नीति निर्माण भएपछि त्यसलाई लामो समयसम्म अपरिवर्तनीय दस्तावेजका रूपमा हेर्ने प्रवृत्ति हुन सक्छ। तर व्यवहारमा नीति कार्यान्वयन गर्दा नयाँ समस्या, अनपेक्षित प्रभाव वा नागरिकका फरक आवश्यकता देखिन सक्छन्। यस्तो अवस्थामा नीतिमा सुधार गर्नु कमजोरी होइन; प्रमाण, अनुभव र प्रतिक्रियाका आधारमा नीतिलाई अझ प्रभावकारी बनाउनु सुशासनको संकेत हो। त्यसैले सम्भव भएका क्षेत्रमा Pilot Policy (परीक्षणात्मक नीति) लागू गर्ने, त्यसको परिणाम मूल्याङ्कन गर्ने, सरोकारवालाबाट प्रतिक्रिया लिने र आवश्यक सुधारपछि व्यापक रूपमा विस्तार गर्ने अभ्यासले सार्वजनिक नीतिलाई बढी व्यवहारिक र परिणाममुखी बनाउन सक्छ।

डिजिटल शासनको क्षेत्रमा त एजाइल व्यवस्थापनको सम्भावना अझ व्यापक छ। सबै सरकारी सेवा एकैपटक पूर्ण रूपमा डिजिटल बनाउने प्रयास गर्दा ठूलो स्रोत, समय र जोखिम आवश्यक पर्न सक्छ। त्यसको सट्टा नागरिकका लागि बढी महत्वपूर्ण र धेरै प्रयोग हुने सेवाबाट सुरु गरी चरणबद्ध रूपमा डिजिटल प्रणाली विकास गर्न सकिन्छ। पहिलो चरणमा एउटा सेवा डिजिटल बनाउने, प्रयोगकर्ताको अनुभव बुझ्ने, देखिएका प्राविधिक वा प्रशासनिक समस्या सुधार गर्ने र त्यसपछि अर्को सेवामा विस्तार गर्ने कार्यशैलीले सानो सफलताबाट ठूलो डिजिटल रूपान्तरण सम्भव बनाउँछ। यसले सरकारलाई प्रविधि खरिद गर्ने संस्थाबाट प्रविधिको माध्यमबाट नागरिक मूल्य सिर्जना गर्ने संस्थामा रूपान्तरण गर्न सहयोग पुर्‍याउँछ।

सार्वजनिक प्रशासनमा एजाइल व्यवस्थापनको अर्को महत्वपूर्ण पक्ष कर्मचारी सशक्तीकरण र अन्तरनिकाय सहकार्य हो। परम्परागत प्रशासनमा निर्णयका लागि माथिल्लो तहमा अत्यधिक निर्भरता हुँदा सामान्य समस्या समाधानमा समेत समय लाग्न सक्छ। एजाइल व्यवस्थापन सोचले निर्णय गर्न आवश्यक अधिकार र जिम्मेवारी उपयुक्त तहमा प्रत्यायोजन गर्ने, कर्मचारीलाई समस्या समाधानमा सहभागी गराउने, विभिन्न शाखा तथा निकायबीच सहकार्य बढाउने र परिणामप्रति सामूहिक उत्तरदायित्व विकास गर्ने कुरामा जोड दिन्छ। यसले यो मेरो जिम्मेवारी होइन भन्ने प्रशासनिक संस्कृतिबाट समस्या कसरी समाधान गर्ने भन्ने परिणाममुखी संस्कृतितर्फ लैजान सक्छ। विशेषगरी सेवा प्रवाहका अग्रपंक्तिमा रहेका कर्मचारीसँग नागरिकका वास्तविक समस्या र व्यवहारिक कठिनाइबारे महत्वपूर्ण जानकारी हुने भएकाले उनीहरूको अनुभवलाई नीति तथा प्रक्रिया सुधारमा उपयोग गर्नु एजाइल व्यवस्थापन प्रशासनको महत्वपूर्ण आधार बन्न सक्छ।

त्यसैगरी सार्वजनिक प्रशासनमा सेवाग्राहीको प्रतिक्रिया व्यवस्थापन एजाइल व्यवस्थापन को महत्वपूर्ण पक्ष हुन सक्छ। नागरिकको गुनासोलाई केवल उजुरीका रूपमा हेर्नुभन्दा त्यसलाई सेवा सुधारको स्रोतका रूपमा लिन सकिन्छ। डिजिटल पृष्ठपोषण प्रणाली, नागरिक सन्तुष्टि सर्वेक्षण, गुनासो विश्लेषण, सेवा प्राप्त गर्न लागेको समय, प्रक्रियामा लाग्ने चरण तथा बारम्बार देखिने समस्याको तथ्याङ्क विश्लेषण गरेर प्रशासनले आफ्नो सेवा सुधार गर्न सक्छ। यसबाट प्रशासनले हामीले सेवा दिएका छौँ भन्ने आपूर्ति केन्द्रित सोचबाट नागरिकले सेवा कसरी अनुभव गरिरहेका छन् भन्ने नागरिक केन्द्रित अर्थात मागपक्षीय सोचतर्फ परिवर्तन गर्न सक्छ।

नेपालको संघीय शासन प्रणालीमा पनि एजाइल व्यवस्थापनको प्रयोगको पर्याप्त सम्भावना देखिन्छ। संघ, प्रदेश र स्थानीय तहका बीच समन्वय, सेवा प्रवाह, योजना कार्यान्वयन, डिजिटल शासन, स्थानीय राजस्व, सामाजिक सुरक्षा, पूर्वाधार विकास तथा नागरिक गुनासो व्यवस्थापनजस्ता क्षेत्रमा चरणबद्ध सुधार, परीक्षण र निरन्तर पृष्ठपोषणको संस्कृति विकास गर्न सकिन्छ। विशेषगरी स्थानीय तह नागरिकसँग सबैभन्दा नजिकको सरकार भएकाले त्यहाँ छोटो चक्रमा समस्या पहिचान गर्ने, तत्काल सुधार गर्ने र नागरिकबाट प्रत्यक्ष प्रतिक्रिया लिने एजाइल व्यवस्थापन अभ्यास प्रभावकारी हुन सक्छ। एउटा स्थानीय तहले एउटा सेवा सुधारमा सफल अभ्यास विकास गरेपछि त्यसलाई अन्य सेवामा तथा अन्य स्थानीय तहमा विस्तार गर्न सकिने भएकाले एजाइल व्यवस्थाप ले नवप्रवर्तनलाई संस्थागत सिकाइमा रूपान्तरण गर्न सक्छ।

यद्यपि सार्वजनिक प्रशासनमा एजाइल व्यवस्थापन लागू गर्दा केही सीमाहरूलाई पनि ध्यान दिनुपर्छ। सार्वजनिक प्रशासन कानून, प्रक्रिया, वित्तीय अनुशासन, पारदर्शिता, उत्तरदायित्व र राजनीतिक तथा सामाजिक उत्तरदायित्वबाट निर्देशित हुन्छ। त्यसैले निजी क्षेत्रको एजाइल व्यवस्थापन  प्रारुपलाई जस्ताको तस्तै सरकारी निकायमा लागू गर्न खोज्नु उपयुक्त हुँदैन। एजाइल व्यवस्थापन भनेको कानुन मिचेर छिटो काम गर्नु होइन; कानुनी र संस्थागत सीमाभित्र रहेर अझ बुद्धिमानी, लचकदार, नागरिककेन्द्रित र परिणाममुखी ढंगले काम गर्नु हो। त्यसका लागि नेतृत्वको प्रतिबद्धता, कर्मचारीको क्षमता विकास, अधिकार प्रत्यायोजन, डिजिटल पूर्वाधार, तथ्यमा आधारित निर्णय, अन्तरनिकाय सहकार्य र परिवर्तनलाई स्वीकार गर्ने संस्थागत संस्कृतिको विकास आवश्यक हुन्छ।

एजाइल व्यवस्थापन र परम्परागत व्यवस्थापनबीचको अन्तर

परम्परागत व्यवस्थापनले हामीले बनाएको योजनाअनुसार काम भयो कि भएन भन्ने कुरामा जोड दिन्छ भने एजाइल व्यवस्थापनले हामीले गरेको कामबाट सेवाग्राहीलाई अपेक्षित मूल्य प्राप्त भयो कि भएन, र अझ राम्रो बनाउन अब के गर्नुपर्छ भन्ने कुरामा जोड दिन्छ । त्यसैले एजाइल व्यवस्थापन अपनाउनु भनेको पुरानो प्रणाली पूर्ण रूपमा त्याग्नु होइन। संस्थाको प्रकृति, कानुनी व्यवस्था, जोखिम, परियोजनाको प्रकार र सेवाग्राहीको आवश्यकताअनुसार उपयुक्त व्यवस्थापन पद्धति छनोट गर्नुपर्छ।

 एजाइल व्यवस्थापन का फाइदाहरू

  • परिवर्तनसँग छिटो अनुकूल हुन सकिन्छ।
  • सेवाग्राहीको आवश्यकता निरन्तर बुझ्न सकिन्छ।
  • समस्या प्रारम्भिक चरणमै पहिचान हुन्छ।
  • ठूलो असफलताको जोखिम कम हुन्छ।
  • टोलीमा सहकार्य बढ्छ।
  • निर्णय प्रक्रिया छिटो हुन्छ।
  • निरन्तर सुधारको संस्कृति विकास हुन्छ।
  • सेवाको गुणस्तर र सेवाग्राही सन्तुष्टि बढाउन सकिन्छ।
  • सीमित स्रोतलाई प्राथमिकताका क्षेत्रमा केन्द्रित गर्न सकिन्छ।

एजाइल व्यवस्थापनका सीमाहरू

  • शीघ्र कार्यसम्पादन र कानूनी तालमेलवीचको समस्या ।
  • अत्यधिक अभिलेखीकरण अनिवार्य छ।
  • सरोकारवालाको निरन्तर सहभागिता सम्भव नहुन सक्दछ।
  • टोलीमा एजाइल संस्कृतिको अभाव।

आजको अनिश्चित र तीव्र परिवर्तनशील संसारमा संस्थाको सफलता केवल राम्रो योजना बनाउनमा होइन, परिस्थिति बदलिँदा छिटो सिक्न, अनुकूल हुन र परिणाम सुधार्न सक्ने क्षमतामा निर्भर हुन्छ। एजाइल व्यवस्थापन आधुनिक संस्थागत व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, नीति कार्यान्वयन र संस्थागत रुपान्तरणको एउटा महत्वपूर्ण व्यवस्थापकीय संयन्त्र का रूपमा लिनु आवश्यक छ। यसले व्यवस्थापनलाई एकपटक योजना बनायो, अब त्यसैअनुसार चल्यो भन्ने सोचबाट बाहिर निस्केर योजना बनाऊ, काम गर, सिक, सुधार र फेरि अघि बढ  भन्ने गतिशील संस्कृतितर्फ लैजान्छ। एकै पटक  ठूलो परिवर्तनको प्रतीक्षा नगरी सानो सुधारबाट सुरु गरौँ, परिणामबाट सिकौँ र निरन्तर अगाडि बढौँ भन्ने एजाइल व्यवस्थापन  प्रणालीको सार हो ।

परम्परागत व्यवस्थापन मुख्यतः योजना, संगठन, निर्देशन, समन्वय र नियन्त्रण जस्ता कार्यमा केन्द्रित थियो भने आधुनिक समयमा व्यवस्थापनको स्वरूप र आयाममा व्यापक परिवर्तन आएको छ। प्रविधिको तीव्र विकास, विश्वव्यापीकरण, डिजिटल रूपान्तरण, बदलिँदो सेवाग्राही अपेक्षा, ज्ञानमा आधारित अर्थतन्त्र, वातावरणीय चुनौती र मानवीय चेतनाको विकासले व्यवस्थापनलाई केवल स्रोत परिचालन गर्ने प्रक्रियाबाट परिवर्तन व्यवस्थापन, नवप्रवर्तन, ज्ञान व्यवस्थापन र मूल्य सिर्जनाको माध्यम बनाएको छ। आजको व्यवस्थापनमा डिजिटल व्यवस्थापन, रणनीतिक व्यवस्थापन, मानव पुँजी व्यवस्थापन, तथ्य तथा प्रमाणमा आधारित निर्णय, कृत्रिम बुद्धिमत्ता, जोखिम व्यवस्थापन, सञ्जाल तथा सहकार्यात्मक व्यवस्थापन, समावेशिता, नैतिकता र दिगोपन जस्ता नयाँ आयामहरू जोडिएका छन्। कर्मचारीलाई केवल आदेश पालना गर्ने जनशक्तिका रूपमा होइन, ज्ञान, सिर्जनशीलता र नवप्रवर्तनका स्रोतका रूपमा हेर्न थालिएको छ। त्यसैगरी, संगठनको सफलता केवल नाफा वा उत्पादनको मात्रामा नभई सेवाग्राही सन्तुष्टि, सामाजिक उत्तरदायित्व, वातावरणीय दिगोपन, संस्थागत सिकाइ र सार्वजनिक मूल्य सिर्जनाबाट समेत मापन हुन थालेको छ। यस अर्थमा आधुनिक व्यवस्थापन भनेको स्थिर संरचना र नियन्त्रणभन्दा परिवर्तनसँग अनुकूलन हुने क्षमता, निरन्तर सिकाइ, सहकार्य, प्रविधिको सदुपयोग र परिणाममुखी नेतृत्वको कुशल अभ्यास हो। बदलिँदो परिवेशमा सफल व्यवस्थापक त्यही हो, जसले आजको समस्या समाधान मात्र गर्दैन, भोलिको सम्भावित परिवर्तन पहिचान गरी संगठनलाई त्यसका लागि तयार पार्न सक्छ।

डा. दामोदर रेग्मी प्रशासनविद तथा गीतकार हुन्

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष