छाया निर्देशक बनेर वीर अस्पताल चलाएको आरोप, डा. दीपक मिश्रविरुद्ध अख्तियारमा उजुरी

देशकै सबैभन्दा पुरानो र प्रतिष्ठित सरकारी स्वास्थ्य संस्था वीर अस्पतालका वरिष्ठ चिकित्सक डा. दीपक कुमार मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गम्भीर प्रकृतिको उजुरी दर्ता भएको छ। उजुरीमा डा. मिश्रले कानुनविपरीत निजी स्वास्थ्य संस्थामा लगानी गरेको, अस्पतालभित्र कुनै आधिकारिक जिम्मेवारी नहुँदा पनि खरिद, लेखा, प्रशासन तथा स्टोर शाखामा हस्तक्षेप गर्दै अनधिकृत रूपमा प्रभाव जमाएको तथा व्यापारीहरूसँग कमिसन असुलेको आरोप लगाइएको छ।

बिज्ञापन

अस्पताल सुधार जेनेजी अभियानका तर्फबाट २०८३ असार ३१ गते अख्तियारमा दर्ता गरिएको उजुरीमा डा. मिश्रले आफूलाई अस्पतालको “छाया निर्देशक” का रूपमा प्रस्तुत गर्दै निमित्त निर्देशकमाथि प्रभाव पार्ने, विभिन्न प्रशासनिक निर्णयमा हस्तक्षेप गर्ने र खरिद प्रक्रियामा आफ्नो पहुँच प्रयोग गर्ने गरेको दाबी गरिएको छ। यही विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सचिव, राष्ट्रिय सतर्कता केन्द्र तथा सम्पत्ति शुद्धीकरण विभागमा समेत छानबिनको माग गरिएको उल्लेख छ।

बिज्ञापन

उजुरीमा डा. मिश्रले आफू र आफ्नी श्रीमती नताशा मिश्रको नाममा स्वास्थ्यसम्बन्धी कम्पनी स्थापना तथा सञ्चालन गरेको आरोप पनि लगाइएको छ। उजुरीअनुसार रेड प्लस हेल्थ केयर प्रालि र इनोभा हार्ट एण्ड हेल्थ केयर सेन्टर प्रालि नामका कम्पनीमा उनी तथा उनकी श्रीमतीको संलग्नता रहेको दाबी गरिएको छ। यी कम्पनीहरू स्वास्थ्य क्लिनिक सञ्चालन, औषधि तथा सर्जिकल सामग्रीको कारोबार र अस्पतालका बोलपत्रमा सहभागी हुने उद्देश्यले दर्ता गरिएको उजुरीमा उल्लेख छ।

उजुरीकर्ताले नेपाल स्वास्थ्य सेवा ऐन, नेपाल स्वास्थ्य सेवा नियमावली, निजामती सेवा ऐन, निजामती सेवा नियमावली, भ्रष्टाचार निवारण ऐन तथा स्वास्थ्य मन्त्रालयको आचारसंहिताले सरकारी स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई निजी स्वास्थ्य संस्था सञ्चालन वा त्यस्तो संस्थामा स्वार्थ बाझिने गरी संलग्न हुन रोक लगाएको दाबी गर्दै डा. मिश्रले ती कानुनी व्यवस्थाको उल्लंघन गरेको आरोप लगाएका छन्।

बिज्ञापन

उजुरीमा अस्पतालभित्र हुने खरिद प्रक्रिया, भुक्तानी र स्टोर व्यवस्थापनमा डा. मिश्रले अनधिकृत हस्तक्षेप गर्ने गरेको आरोप पनि समेटिएको छ। आफूलाई कमिसन बुझाउने व्यापारीलाई मात्र खरिद आदेश (पीओ) दिन दबाब दिने, भुक्तानी प्रक्रियामा प्रभाव पार्ने तथा भुक्तानी रकमबाट १२ देखि १३ प्रतिशतसम्म कमिसन लिने गरेको आरोप उजुरीमा उल्लेख छ। अस्पतालका कर्मचारी तथा केही पूर्व कर्मचारीको भनाइ उद्धृत गर्दै यस्ता दाबी गरिएको भए पनि ती दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

उजुरीमा आर्थिक वर्षको अन्त्यतिर खर्च हुनुपर्ने करिब २३ करोड रुपैयाँको बजेट आफू निकट व्यवसायीलाई दिन नसकेपछि समर्पण गरिएको, अस्पतालमा आवश्यक औषधि तथा उपकरण अभाव हुँदा पनि अनावश्यक सामग्री खरिद गराइएको, मुटु रोगका बिरामीका लागि आवश्यक मेडिकल उपकरण खरिदमा अनियमितता गरिएको तथा विभिन्न सेवा प्रदायक कम्पनीको भुक्तानीमा बिचौलियाको भूमिका खेलेर ठूलो रकम असुलेको आरोपसमेत लगाइएको छ।

त्यस्तै कर्मचारी नियुक्ति, करार अवधि थप तथा प्रशासनिक निर्णयमा समेत प्रभाव पार्ने, विरोध गर्ने कर्मचारीलाई प्रहरी तथा अनुसन्धान निकायको नाम लिएर धम्क्याउने र मानसिक दबाब दिने गरेको आरोप पनि उजुरीमा समावेश गरिएको छ।

उजुरीकर्ताले डा. मिश्रको सम्पूर्ण चल–अचल सम्पत्ति, बैंक कारोबार, कम्पनीमा गरिएको लगानी तथा अस्पतालमा उनको भूमिकाको विस्तृत छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न अख्तियारसँग माग गरेका छन्। साथै कम्पनी रजिस्ट्रार कार्यालयबाट उनी तथा उनकी श्रीमतीसँग सम्बन्धित अन्य कम्पनीहरूको विवरणसमेत माग गरी अनुसन्धानको दायरामा ल्याउन आग्रह गरिएको छ।

यता, डा. दीपक कुमार मिश्रविरुद्ध लगाइएका आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ। यस विषयमा उनको प्रतिक्रिया लिन खोजिए पनि समाचार तयार पार्दासम्म प्राप्त हुन सकेको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी दर्ता भएको विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन। अनुसन्धानपछि मात्र उजुरीमा उल्लेख गरिएका आरोपहरूको सत्यता स्थापित हुने वा नहुने स्पष्ट हुनेछ।उक्त आरोपबारे प्रतिक्रिया लिन हामीले डा. दीपक कुमार मिश्रसँग पटक–पटक सम्पर्क गर्ने प्रयास गरेका थियौँ। तर, समाचार तयार पार्दासम्म उहाँ सम्पर्कमा आउन चाहनुभएन। त्यसैले उजुरीमा उल्लेख गरिएका आरोपबारे उहाँको धारणा प्राप्त हुन सकेन।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

छाया निर्देशक बनेर वीर अस्पताल चलाएको आरोप, डा. दीपक मिश्रविरुद्ध अख्तियारमा उजुरी

दुई बिरामीको मृत्यु र उपचार विवादमा मुछिएका डा. जितेन्द्र सिभिल अस्पतालको कार्यकारी बन्न दौडमा

सरकारी कर्मचारीको तलब आजदेखि बढ्यो : अब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि

यी हुन यही आर्थिक बर्षमा अनिवार्य अवकाशमा जाने २२ सचिवहरु

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बिशेष