‘झोलाभन्दा गुन्टाका फुर्फुर धेरै’,यस्तै दृश्य देख्न थालिएको छ,सिंहदरबारतिर । तिनै गुन्टा हाबी हुँदा उच्च प्रशासहरु मर्नु न मोटाउनुको स्थितिमा छन् । पछिल्ला समय सिंहदरबारभित्रका प्रशासकहरु मन्त्रीभन्दा तिनका सचिावलयका सदस्यहरुबाट आजित हुन थालेको गुनासो पोखेका छन्,केही प्रशासकहरुले । कर्मचारी प्रेसले विभिन्न मन्त्रालयका सचिव÷सहसचिवहरुसँग नयाँ सरकार र तिनका कार्यशैलीका बिषयमा जिज्ञासा राख्दा पछिल्लो समय राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच खुला संवादको अभाव रहेको,मन्त्रीहरु मौन रहने तर निर्णयमा सचिवालय हावी हुन थालेको पीडा पोखेका छन्,सम्पर्कमा आएका उच्च प्रशासकहरुले ।
बिज्ञापन
न त कानुनी जानकारी छ,न यो निर्णय गर्दा भोलि के असर पर्दछ भन्ने दूरदृष्टिता,केही सल्लाह दिन खोज्यो भने हामीलाई सल्लाह दिने होइन, निर्देशन अनुसार काम गर्नु भनेर हप्कीदप्की गर्ने गरेको गुनासो केही प्रशासकहरुले पोखेका छन् । यस्तै दवाव र तनावमा दिनाचर्या वित्न थालेको छ,सिंहदरबारका उच्च प्रशासक र प्रशासकहरुको ।
युवा उमेरका बालेन्द्र साह प्रधानमन्त्री र सोही उमेरका दौंतरी सचिवालयमा छन् । युवाले छिटो नतिजा खोज्नु स्वाभाविक मानिए पनि आजकल उक्त कार्यालयमा अस्वाभाविक गतिविधि हुन थालेका कर्मचारीहरुले चर्चा गर्न थालेका छन् । बुवा, आमा समानका कर्मचारी त्राही–त्राही छन् । अभिभावक सरहका कर्मचारीलाई सुवास शर्माले यसरी धम्क्याउनुहुन्छ कि, मानौं ती ठूलै अपराधी हुन् ।’एक उहसचिव भन्छन् ।
यस्तो उदाहरण हरेक मन्त्रालयमा भेटिन्छ । जस्तो पछिल्लो समय पश्चिमा युद्धका कारण नेपालले पेट्रोलियम पर्दाथमा चर्काे नोक्सानी खाइरहेको छ । नेपालमा तेलको आयात र विक्री वितरण गर्दै आएको छ,नेपाल आयल निगमले । सोही मन्त्रालयलाई केही साता अगाडि प्रधानमन्त्रीको सचिवालयबाट आयल निगममा नोक्सानी अनुसार मूल्य समायोजन गरेर अगाडि बढ्न निर्देशन गयो । भनियो,उद्योग मन्त्रालयले नोक्सानी अनुसार मूल्य बढाउँदा जनतामा ठूलो आक्रोश बढ्ने,सडक संघर्ष समेत हुनसक्ने कारण नोक्सानी अनुसार मूल्य बढाउन नसकिने तर्क गरियो तर प्रधानमन्त्री सचिवालयका कर्मचारीहरुले सचिवलाई हप्काउँदै हामीलाई सुझाव होइन निर्देशन अनुसार काम गर्नु भन्दै पठाइएको थियो । हरेक सचिवहरु यस्तै निर्देशनबाट पीडित छन् तर पोख्न सकेका छैनन् ।
बिज्ञापन
अर्काे एक विभागका प्रमुख समेत रहेका सहसचिवले पीडा पोख्दै सुनाए,‘तपाईको विभागबाट गर्न सक्ने आमूल सुधारका योजनाहरु समेटेर भोलि नै मन्त्रालयमा पेश गर्नुहोला । हस्याङ्गफस्याङ्ग गर्दै ती महानिर्देशकले ३० औं योजनाहरु समेटेर भोलिपल्टै विहानै मन्त्रालय पुगे,झण्डै एक घण्टा कुरेपछि मन्त्रीका स्वकीयले तीन वटा बुँदा टिपाउनुहोला भने,मन्त्रीलाई भेट्न पुगेका महानिर्देशकले डायरीबाट तीन वटा बुँदा पिएलाई टिपाएर मन्त्रालयबाट हिडें । उनले सुनाए ‘मैले भनेको कुरा कति त्यो पिएले बुझ्यो,त्यहाँबाट कति कुरा उसले मन्त्रीलाई कन्भिन्स गरेर मन्त्रीज्यूलाई बुझाउन सक्यो,अहिलेको सरकार र प्रशासनको वास्तविक चित्र यही हो ।’
प्रधानमन्त्री वालेनका सल्लाहकार टिममा रहेकामध्ये कतिपय लोकसेवाका पाँचौ पटक प्रयास गर्दा असफल भएका,स्थानीय तहमा चौथौं –पाँचौ तहमा करार सेवामा कार्यरत रहँदै महानगरपालिकामा मेयरका कोर टिमबाट अहिले प्रधानमन्त्रीको सचिवालयमा फड्को मार्नेहरुको बोलबोला रहेको देखिन्छ । हिजो निजामती प्रवेश गर्न असफल भएका तिनैमध्येका केही सल्लाहकारका ‘फ्रष्टेसन’ अहिले स्थायी नियुक्ति खाएका,यही सेवामा लागेर कपाल फुलाएका कर्मचारीहरुमाथि प्रष्फुटन भइरहेको पीडा अर्काे सहसचिव तहकै कर्मचारीले पोखे ।
कर्मचारीले केही जानेका छैनन्, प्रधानमन्त्री र उनको टिमका रैती हुनजस्तो व्यवहार रहने गरेको अर्का उपसचिवले पीडा पोखे । उनका अनुसार बोल्ने सामान्य शिष्टाचारसमेत पालन भैरहेको छैन । कानुन, विधि र प्रक्रियाभन्दा जे बोल्यो त्यही हुनुपर्छ भन्ने जिद्दीपना देखाइँदै छ । कर्मचारीलाई थर्काउने, गाली गर्ने कुरा आजकल सामान्य रहेको भुक्तभोगीले बताए ।
कर्मचारीमाथि गरिएको यस्तो अन्यायवारे प्रधानमन्त्री बालेन्द्र साहसामु मुख्यसचिव सुमनराज अर्याल र निजी सचिव प्रदीप परियारले समेत कुरा राखेको बुझिएको छ । तैपनि बानीमा कुनै परिवर्तन आएको छैन । बरु झन आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । प्रधानमन्त्री कार्यालयमा पुगेका कर्मचारीहरुलाई कुन कोठामा जान लागेको हो, कसलाई भेट्न जान लागेको हो भनेर सोधखोज गर्न थालिएको छ । भनेको कोठा र कर्मचारीकोमा गए कि गएनन् भनेर सुराकी गर्न प्रहरी नै खटाइने गरेको ती कर्मचारीहरुको गुनासो छ । यस्तो गतिविधिले कर्मचारीको मनोबल गिर्ने, काम गर्ने वातावरण बिग्रनेतर्फ ध्यान दिनुपर्ने विषयमा कर्मचारीले प्रधानमन्त्री बालेन्द्र साहसँग पटक–पटक आग्रह गरेको स्रोतले बतायो ।


































