प्रसिद्ध ज्योतिष भोलानाथ घिमिरेको पुस्तक ` कुण्डली दर्पण ´ हालै प्रकाशनमा आएको छ । ब्रदर बुक्स प्रकाशन प्रा.लि. काठमाडौंद्वारा प्रकाशित यस पुस्तक निकै रोचक र पठनीय रहेकोे छ । पुस्तकमा १६० शिर्षक रहेका छन् । नेपाली समाजका चर्चित पात्रहरू पृथ्वीनारायण शाहदेखि दुर्गा प्रसाईंसम्मको कुण्डलीको चर्चा यस पुस्तकमा गरिएको छ । अन्तर्राष्ट्रिय जगतमा चर्चित पात्रहरू एलन मक्स , अब्राहम लिङ्कन , महात्मा गान्धी , मार्टिन लुथर किङको समेत कुण्डलीको छोटकरीमा विश्लेषण गरिएको छ । स्थापित लेखक तथा पत्रकार कपिल काफ्लेले सम्पादन गरेको यस पुस्तकको भाषा सरल छ । सम्पादकले रोचक भाषा बनाउन पर्याप्त काम गरेको देखिन्छ ।
बिज्ञापन
लेखकीयमा ज्यो. भोलानाथ घिमिरे लेख्छन् -` ज्योतिष बनेपछि भएको मुख्य फाइदा के भने थरीथरीका मान्छेको जीवनको गहिराइसम्म पुग्नपाएँ । समाजको वास्तविक रुप छर्लङ्ग भयो । समाजमा जुन व्यक्ति जस्तो देखिन्छ , उसको वास्तविकता त्यो मात्र होइन रहेछ भन्ने सत्य मैले ज्योतिषी भएपछि बुझेको हुँ ।´ ( ज्योतिष दर्पण पृ. ८) किताबका शिर्षकहरू बडो रोचक छन् । जस्तो सूर्यले बनायो शनिले गलायो ! , सुन फल्ने कुण्डली , वास्नादार खीरमा विष , मानव कल्याणका लागि जन्म , भाग्य छ कर्म छैन ! , चार वर्षमा सदनबाट सडकमा , अटिजम हटने छ ! , लग्नेश अष्टममा जिन्दगी कष्टमा , ल्याङ्फ्याङ जिन्दगी , बिदेशमा रमरम जस्ता रोचक शिर्षकहरुले पाठकको ध्यान तान्छ्न । छोटो तर गहिरो व्याख्या पढदा कुनै आख्यान पढे जस्तो लाग्छ पाठकलाई । यस पुस्तकको बिक्रि बढेको न्युरोड पुस्तकका संचालक राजेश गजुरेल बताउँछ्न । भन्छन् – यस पुस्तक मार्फत गरिएका केही भविष्यवाणी मिलेपछि पुस्तक खोज्नेहरू आइरहेका छ्न ।
पुस्तकले ज्योतिष शास्त्रको शास्त्रीय ज्ञानभन्दा पनि फलादेशसँग सम्बन्धित ज्ञानलाई प्रवाह गर्न खोजेको छ । एक हिसाबले भन्दा यो कुण्डली आधारित कृति हो । कतिपय प्रसङ्गमा मानिसका यौन जीवनका अनेकन आयामलाई पनि लेखकले रोचक ढंगले चर्चा गरेका छन् । ज्योतिषशास्त्र वैदिक ज्ञानसँग जोडिन्छ । भनिन्छ लेखेको मेटन सकिदैन । यति हो ग्रहको प्रभावलाई केही मत्थर गर्न सकिन्छ । पराशर , जैमिनी , भृगु आदि ऋषिहरूका योगदानले समृद्ध बन्दै गरेको यस शास्त्रको वर्तमान समयमा पनि निकै महत्त्व छ । यो क्षेत्रमा गम्भीर साधकहरूको भने कमि छ । ज्यो. भोलानाथ घिमिरेको यो पुस्तक पढदा उनी एक गम्भीर ज्योतिष हुन् भनेर बुझ्न सकिन्छ ।


































