लेखा समूहअन्तर्गत राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव), तृतीय श्रेणी (शाखा अधिकृत),राजपत्र अनंकित श्रेणीको पदका लागि आवश्यक शैक्षिक योग्यता संशोधन गरिएको छ । सो व्यवस्था नेपाल राजपत्रमा प्रकाशित गरिएको छ ।
बिज्ञापन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै निजामती सेवा ऐन, २०४९ को दफा ७५ ले दिएको अधिकार प्रयोग गरी सो परिवर्तन गरेको जनाएको छ । सो दफामा नेपाल सरकारलाई निजामती सेवाका विभिन्न समूह र श्रेणीका लागि नियम बनाउन सक्ने व्यवस्था गरिएको छ ।
मन्त्रालयले नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमावली, २०५० को अनुसूची–४ खण्ड ग को को १, २,३ संशोधन गर्दै शैक्षिक योग्यताको नयाँ व्यवस्था गरेको हो ।
नयाँ प्रावधानअनुसार, उपसचिव पदका उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, व्यापार प्रशासनमा लेखा वित्त बिषयमा स्नातकोत्तर डिग्री प्राप्त गरी चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्र्तीण गरी ऐनको दफा ७ को उपदफा १७ बमोजिमको योग्यता हुनुपर्ने प्रावधान राखिएको छ ।
बिज्ञापन
त्यसैगरी, शाखा अधिकृत पदका लागि उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, व्यापार प्रशासनमा लेखा वा वित्त विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने वा कुनै पनि बिषयमा स्नातक तहसहित चार्टर्ड एकाउन्टेन्सी परीक्षा पास गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।
यस्तै नासु तहका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट लेखा वा वित्त व्यवस्थामा प्लस टु तह उत्र्तिण गरेको हुनुपर्ने प्रावधान समेटिएको छ ।
यस अघि तथ्यांकशास्त्र, गणीत,अर्थशास्त्र पढेकाहरुले समेत लेखा सेवा समूहमा प्रवेश पाउँदै आएकोमा नयाँ व्यवस्था अनुसार लेखापाल,लेखा अधिकृतदेखि लेखाका उपसचिव हुनका लागि समेत सोही व्याकराउण्डको हुनुपर्ने व्यवस्था राखिएको छ । यस अघि चार्टड एकाउन्टेन्डहरु नीजि क्षेत्रमा मात्र काम गर्दै आएकामा तिनलाई समेत निजामती क्षेत्रमा आकर्षित गर्नका लागि अधिकृत र उपसचिव पदमा व्यवस्था खुला गरिएको जनाइएको छ ।




























