नेपालमा पछिल्लो सात दशकमा ठुलठूला राजनीतिक परिवर्तनहरु भए । शासन व्यवस्था बदलियो । तर, मुलुकको स्थायी सरकार मानिने कर्मचारीतन्त्र भने अहिले पनि पुरानै रवैयामा चलिरहेको छ ।
बिज्ञापन
निजामती प्रशासनलाई समयानुकूल बनाउँदै लैजानुपर्नेमा पुरानै सोच,शैली र संगठनात्मक संरचनामा चलाइँदा राजनीतिक परिवर्तनका एजेण्डा कार्यान्वयन हुन सकेको छैन । जसका कारण व्यवस्थामाथि बारम्बार प्रश्न उठ्ने गरेको पाइन्छ । यसको मुख्य जिम्मेवार भने राजनीतिक नेतृत्व नै हो । जेनजीको सरकार बनेसँगै अर्थात भदौं २३ र २४ को विद्रोहपछि मुलुकको गन्तव्य तय गर्ने र कर्मचारीतन्त्रलाई सोही अनुकूल रुपान्तरण गर्ने अपेक्षा गरिएको थियो तर नेपालको कर्मचारी प्रशासन आज पनि पुरानै मनोविज्ञानमा घिस्रिइरहेको छ ।
कर्मचारीलाई आफू अनुकूल प्रयोग गर्न खोज्ने राजनीतिक नेतृत्व र राजनीतिक नेतृत्वलाई खुशी तुल्याएर बढुवा हुन सकिन्छ भन्ने मान्यता राख्ने कर्मचारीतन्त्र दुवै यसका बराबर दोषी हुन् । जेनजीको सरकार आएसँगै केही प्रशासकहरु हामी नै असली जेनजी प्रशासक हौं भन्दै हिडिरहेका छन् । सिंहदरबारका कोठा कोठामा तिनका गोप्य बैंठक चलिरहेकै छ ।
पछिल्लो समय जेनजी सरकार समेत कर्मचारी सरुवामै रमाउन थालेको छ । यस्ता प्रशासनिक विकृती सिंहदरबारमात्र होइन प्रदेशका मन्त्रालयतिर झन धेरै झागिएको देख्न पाइन्छ । त्यस्को एउटा सानो उदाहरण हेर्न बाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई हेर्दा हुन्छ । जेनजीको सरकार आए यताका पाँच महिनामा चार जना सचिवलाई भकुण्डो बनाइएको छ ।
सो मन्त्रालयको नेतृत्व अहिले जयराम थापाले सम्हालेका छन् । ०८१ पुस २५ गते सङ्घीय सरकारबाट सरुवा भई आएका वीरेन्द्रदेव भारतीले उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । तत्कालीन सचिव बलराम निरौला समावेशी आयोगमा सरुवा भएपछि भारतीले जिम्मेवारी पाएका थिए । करिब ८ महिना मन्त्रालयको प्रशासनिक कमान्ड सम्हालेका भारतीलाई २०८२ भदौमा आन्तरिक सरुवामा पारिएको थियो । भारती त्यहाँबाट सरुवा भएर अहिले भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका छन् ।
उनी पछि त्यहाँ सचिव बलराम ढकाललाई जिम्मेवारी प्रदान गरिएको थियो । सचिव ढकाल मन्त्रालयमा १५ दिन पनि टिक्न सकेनन् । त्यस पछि संघीय मन्त्रालयले त्यहाँ रामबाबु पुरीलाई जिम्मेवारी दिइएकोमा उनी पनि छोटो समयमै सरुवा भएका छन् । गत पुस १६ गते उनलाई मुख्यमन्त्री कार्यालय र सहकारी मन्त्रालय हेर्नेगरी सरुवा गरिएको छ भने हाल हेमराज भुसाललाई नयाँ सचिवका रूपमा भित्र्याइएको छ । गत मङ्सिर ३ मा सचिव पुरी सो मन्त्रालयमा हाजिर भएका हुन ।


























