एकातिर मन्त्री,सचिवको मनलाग्दी विदेश भ्रमणमा लगाम लगाउने,सरकारी फजुल खर्च कटौती गर्ने निर्देशन र परिपत्र,अर्कोतिर क्याविनेटबाट धमाधम मन्त्री,सचिव र सरकारी कर्मचारीहरुको लगातार विदेश भ्रमण स्वीकृत ।
बिज्ञापन
अघिल्लो साताको मन्त्रिपरिषद्को बैठकले झैं पछिल्लो क्याविनेटले १९ वटा निर्णय गरेकोमध्ये आधा दर्जन वैदेशिक भ्रमण स्वीकृतिसँग सम्बन्धित रहेका छन्,जसमा एक मन्त्री,एक आयुक्त र चार जना सचिवहरुको विदेश भ्रमण स्वीकृत गरेको छ ।
क्याविनेटले यस्ता भ्रमण रोक्न भन्दै दर्जनौं पटक निर्णय गरेको छ । अर्थ लगायतका मन्त्रालयहरुले परिपत्र गरेको भए पनि ती सबै कागजी घोषणामा मात्र सीमित छन् । जेनजी सरकार बनेलगतै सार्वजनिक खर्च कटौती गर्न भन्दै मन्त्री र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गर्न भनिए पछि लगातार मन्त्री र सचिवहरु विदेश उड्ने स्वीकृति लिइरहेको छन् र उडिरहेको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियार इटाली भ्रमण स्वीकृत गरेको छ । परियार माघ २६ देखि २८ गतेसम्म आयोजना हुने ४९औँ सेसन अफ गभर्निङ काउन्सिल अफ द इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेण्ट कार्यक्रममा सहभागी हुन उनी रोम जान लागेका हुन् । अघिल्लो मन्त्रिपरिषद्को बैठकले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण स्वीकृत गरेकोमा विवाद सिर्जना भएको थियो । सर्वत्र आलोचनापछि मन्त्री गुप्ताले भ्रमण रद्ध गर्न लागेको बुझिएको छ ।
बिज्ञापन
यस्तै क्याविनेटले अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराल – मेक्सिको भ्रमण,उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल – चीन, निर्वाचन आयुक्त जानकीकुमारी तुलाधर – म्यानमार (तेस्रो चरणको निर्वाचन पर्यवेक्षण),श्रम मन्त्रालयका सचिव डा दीपक काफ्ले – मोरक्को (बालश्रम उन्मुक्ति कार्यक्रम),संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौला – स्पेन (म्याड्रिड पर्यटन मेला) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा – स्विट्जरल्यान्ड (जेनेभा, विश्व स्वास्थ्य संगठन कार्यक्रम)मा भाग लिन स्वीकृति प्रदान गरेको छ ।


























