सर्वोच्च अदालतमा आज बृहत पूर्ण इजलाश बस्दै छ । सर्वाेच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितका १९ न्यायाधीशकै एउटै इजलास बस्ने भएको हो । जसलाई बृहतपूर्ण इजलास भनिन्छ ।
बिज्ञापन
आज बस्न लागेको इजलाशमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, शारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल, नृपध्वज निरौला, नित्यानन्द पाण्डेय, मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा छन् ।
सर्वोच्चका मुद्दा तथा रिट महाशाखामा कार्यरत अधिकृत बालाजीप्रसाद पाण्डेयसहित पाँचजनाले शुक्रबार पेस गरेको प्रतिवेदनको निकासाका लागि आज पेशी तोकिएको हो । पाण्डेयका अनुसार भदौ २४ गतेको घटनापछि सिर्जना भएका अवरोध फुकाउनका लागि पेसी तोकेको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मुद्दाको तारिख लिनेहरूलाई एक महिनाको समय दिइएको तर जलेका कागजात र मिसिल ल्याउन दुई महिनाको अवधि दिइएकाले एकरुपतासहित निकास दिलाउन बृहत पूर्ण इजलास राखिएको बताए । जेनजी प्रदर्शनका क्रममा सर्वाेच्चमा आगोलागी हुँदा चालु अवस्थामा २४ हजार २ सय ३४ वटा मिसिल थियो। जसमध्ये २० हजार ३४ वटा मिसिल पूर्ण क्षति भएको थियो। आगलागीबाट ४ हजार २ सय मिसिल भने जोगिएका थिए। जसमध्ये २ हजार ५ सय ९ वटा रिटका मिसिल छन् भने १ हजार ६ सय ९१ मुद्दा छन्। त्यस्तै सर्वोच्च अदालतको अभिलेखमा रहेका १ लाख ९७ हजार मिसिल पनि नष्ट भएका छन्।
बिज्ञापन
त्यसरी मिसिल नष्ट भएपछि सर्वोच्च अदालतले पुस मसान्तसम्म म्याद नगुज्रने निर्णयको तयारी गर्दै छ । सर्वोच्चले त्यसरी नष्ट मिसिल पक्षहरूबाटै प्राप्त गरी प्रमाणीकरणपछि अदालतको अभिलेखमा राख्ने गरी विनियमावली बनाएर लागु गरेको छ । र, नष्ट भएका मुद्दा पेसीमा चढाउँदै इजलासबाटै मिसिल प्राप्त गर्ने आदेश भइरहेका छन् ।
सर्वोच्च प्रशासनले यसअघि मंसिर मसान्तसम्म मुद्दाको तारिख बुझ्दा हदम्याद नगुज्रने सूचना जारी गरेको थियो । सूचनाबाटै सबै प्रक्रिया अघि बढाउँदा न्यायिक वैधतामा प्रश्न उठाउन सक्ने देखिएपछि सर्वोच्चका पाँच अधिकृतले निवेदन दर्ता गराएका हुन् । त्यही निवेदन आइतबार सर्वोच्चका १९ न्यायाधीशको बृहत् पूर्ण इजलासमा पेसी चढेको हो ।

























