अध्यागमन विभागले नेपाल भ्रमणमा आउने विदेशी नागरिकको सुरक्षा र गतिविधि व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने भएको छ । विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ विकास गरी आगामी २०८२ पुस १७ (सन् २०२६ जनवरी १) देखि अनिवार्य रूपमा कार्यान्वयनमा ल्याएर विदेशी नागरिकहरुको गतिविधि अनलाइनबाटै निगरानी गर्न लागेको हो ।
बिज्ञापन
विभागका अनुसार पहिलो चरणमा १ जनवरीदेखि यो प्रणाली काठमाडौँ उपत्यका भित्रका तारे होटेलहरूमा लागु हुनेछन् । १७ फागुन (१ मार्च) देखि भने नेपालका सबै तारे होटेल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स कम्पनी, मनी एक्स्चेन्जरहरूमा यो प्रणाली विस्तार गरिने छन् । त्यसपछि क्रमशः सबै प्रकारका होटेल, गेस्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा पनि यो प्रणाली लागु गर्दै लैजाने सरकारी योजना छ । यो प्रणाली लागू भएपछि नेपाल आउने हरेक विदेशीको सुरक्षा, सूचना सहजीकरण र सम्भावित अपराध नियन्त्रणमा नयाँ युगको सुरुवात हुने विश्वास विभागले लिएको छ ।
यो प्रणाली कार्यान्वयनमा आएपछि नेपाल भ्रमणमा आउने विदेशी नागरिकहरू कुन कुन स्थानमा बसे र कहाँ कहाँ पुगे भन्ने विषयको व्यवस्थित अभिलेख अध्यागमन विभागसँग रहने जनाइएको छ । यो अभिलेखले विदेशी नागरिकको आगमन र गतिविधिलाई व्यवस्थित गर्नुका साथै आपत्कालीन अवस्थामा खोज, उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने बताइएको छ ।
नयाँ व्यवस्था अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका सबै तारे होटलले विदेशी पर्यटकको विवरण यस प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्नेछ । विभागले जारी गरेको कार्ययोजना अनुसार दोस्रो चरणमा २०८२ फागुन १७ देखि देशभरका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स र मनी एक्सचेञ्जरमा विस्तार गरिनेछ । सबै प्रकारका होटल, गेष्ट हाउस र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सार्वजनिक तथा निजी क्षेत्रका हरेक निकायलाई यो प्रणालीको दायरामा ल्याउने सरकारको तयारी छ ।
बिज्ञापन
यो डिजिटल प्रणालीले नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउनुका साथै विदेशी नागरिकको सूचना व्यवस्थापनमा देखिएका विद्यमान चुनौतीलाई समाधान गर्ने अपेक्षा गरिएको छ । प्रणालीमा दर्ता हुने प्रक्रिया र प्रयोगकर्ता निर्देशिका अध्यागमन विभागको वेबसाइटमा उपलब्ध गराइएको छ भने प्राविधिक सहयोगका लागि विभागले छुट्टै डेस्कसमेत स्थापना गरेको छ ।

























